नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा एकैपटक बढुवा भएका बाबु–छोराले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् ।
प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएका ६३ जनाले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् । तीमध्ये दुईजना राजेन्द्र अधिकारी र उनका छोरा ध्रुव अधिकारी छन् । राजेन्द्र जनपदतर्फ र छोरा प्राविधिकतर्फबाट डीएसपीमा बढुवा भएका हुन् ।
उनीहरुसहित बढुवा भएका डीएसपीलाई बुधबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न लगाइदिएका छन् ।
राजेन्द्रले २०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई) नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए भने ध्रुव चाहिँ २०७५ सालमा प्राविधिकतर्फ इञ्जिनियर इन्सपेक्टरमा भर्ना भएका हुन् ।
ध्रुवका बुबा राजन २०५७ सालमा सई र २०६७ सालमा इन्सपेक्टरमा बढुवा भएका थिए । बुबाभन्दा २४ वर्षपछि प्रहरीमा भर्ना भए पनि प्राविधिकतर्फ सिट खाली भएकाले ध्रुवलाई बुबासँगै डीएसपीमा बढुवा हुने संयोग मिलेको हो ।
समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई आ-आफ्नो योग्यता अनुसारको विशिष्टिकृत विधाहरूमा उत्कृष्ट काम गर्न निर्देशन दिएका छन् । उनले संगठनको मूल उद्देश्यमा केन्द्रीत भई संगठनको श्रीवृद्धिमा व्यवसायिक निष्ठाका साथ अनुशासित एवं मर्यादित ढङ्गले काम गर्न निर्देशन दिए
काठमाण्डौ – ‘विदेश गएपछि देश फर्कन पनि कहाँ सजिलो रहेछ र, बिदेसिएकाहरू घर फर्कनु भनेको त युद्ध जित्नु सरह रहेछ’, इलामका होमनाथ चापागाईँ मलेसियाबाट घर फर्कन आफूले गर्नु परेको सङ्घर्ष सम्झँदै भन्नुहुन्छ ।
मलेसियामा सेक्युरिटीको काममा जानुभएका होमले कम्पनीले दिएको शारीरिक र मानसिक पीडा सहँदै काम गर्दा बिरामी भएर ज्यान थला परेपछि आफूलाई आफ्नै देश फर्काइदिन आग्रह गर्नुभयो ।
तर उसकै नामको भिसा लिएर गइसकेपछि स्वदेश फर्कन त परको कुरा मर्न पनि अनुमति चाहिने रहेछ भन्नुहुन्छ होम ।
होमलाई लाग्थ्यो ‘सायद अब यो देशबाट जिउँदै घर फर्कन लेखेकै छैन ।’ किनकि पाँच वर्ष रगत पसिना बगाएको कम्पनीले कुनै दिन पनि मानवीय व्यवहार नै गरेन । बिरामी हुँदा वास्ता गरेन । डर र धम्की दिँदै काममा लगायो । जब गुहार माग्दै दूतावासको कार्यालयसम्म पुग्दा दूतावासले समेत गाली गर्दै कम्पनी मै फर्काएपछि भने घर फर्कने होमको आशा निराशामा बद्लियो ।