काठमाडौं । शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छक्कापञ्जा ४’ ले भौतिक रुपमा प्रचारप्रसार गरेको छैन । पब्लिसिटी भर्चुअल माध्यमबाट गरिएको छ । निर्माता र कलाकारले फिल्म प्रचारका लागि सामाजिक सञ्जाल र टेलिभिजनको मद्दत लिएका छन् । प्रचारको शैली बदलिएको छ ।
फिल्म रिलिजअघि केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले कलाकारलाई कटाक्ष गर्दै प्रवर्द्धन गीत ल्याएका थिए । जसले सकारात्मक प्रतिक्रिया बटुलेको छ । माग्ने बुढाले फिल्म प्रचारका लागि चलेका सिरियल हुन् वा चलेका सामाजिक सञ्जालका पेज कुनै प्लेटफर्मलाई उपयोग गर्न बाँकी राखेका छैनन् । दर्शकसँग घुलमिल हुने उनको आफ्नै काइदा हो ।
यस्तोमा, बलिउड अभिनेता सलमान खानको पोस्टमा समेत माग्ने बुढाले ‘छक्कापञ्जा ४’को प्रचार गरे । आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसी का जान’को नयाँ गीत ‘बिल्ली बिल्ली आँख गोरिए’ गीत रिलिजबारेको जानकारी दिन सलमान खानले गरेको पोस्टमा माग्ने बुढाको ‘छक्कापञ्जा ४’बारेको कमेन्ट हिन्दीमा छ । घिमिरेको यो शैलीलाई लिएर फ्यान र दर्शकले टिप्पणी गरिरहेका छन् ।