भक्तपुर सांगितिक समाजद्धारा गायक स्व. अरुण थापाको २५औं स्मृति दिवस सांगितिक कार्यक्रम

Spread the love

भक्तपुर: लोकप्रिय गायक स्व. अरुण थापाको २५औं स्मृति दिवसको अवसरमा भक्तपुर सांगितिक समाजद्धारा गायक स्व. अरुण थापाको २५औं स्मृति दिवस सांगितिक कार्यक्रम मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

नेपालका चर्चित तथा प्रतिभाशाली गायक, गायिकाहरुले स्व. थापाको स्वरको ‘करोडौं मुटुहरु’ बोलको गीतलाई समूह गायन मार्फत शुरु भएको कार्यक्रममा कुमारी लिम्बुले ‘तिमी राम राम’, श्रीजल मधिकर्मीले ‘म रोए पनि तिमि हाँसी दिनु’, विजय कायष्थले ‘चोट के हो, व्यथा के हो’, शम्भु राजभण्डारीले ‘आँखाको निद’, हरि सुन्दर लाखे श्रेष्ठले ‘लाग्न थाल्यो जीवनमा’, श्रीहरी दाहालले ‘दोष कस्लाई’, श्रेय अगस्तीले ‘अरुसँग नखोज’ र लक्ष्मण पलिखेलले ‘ऋतुहरुमा तिमि’ बोलको गीतहरू गाएका थिए । यसैगरी मथुरा प्रधानले ‘मेरो गीत सबै’, आश्रय रञ्जितले ‘साँझको जुन सँगैं’, रुची घिमिरेले ‘दुई दिनको, रविन थापाले ‘जति माया लाए पनि’, अर्पण विश्वकर्माले ‘यो मनको के भर हुन्छ’ र प्रनिल पलिखेलले ‘भुलेका कथा तिता मीठा’ र मुकुन्द भट्टराईले ‘बरु भुलेछु’ बोलको गीत गाएर स्वर्गिय गायक थापालाई श्रद्वान्जली दिएका थिए ।

कार्यक्रममा नेपाली पप सम्राट भनेर जनमानसमा लोकप्रिय वरिष्ठ पप गायक ओम विक्रम विष्टलाई सम्मान प्रदान गरिएको थियो । गायक विष्टले नेपाली पप संगीतमा पुर्याएको अतुलनिय योगदानलाई कदर गर्दै समाजले उनलाई ‘अरुण थापा स्मृति सम्मान २०८१’ बाट सम्मान प्रदान गरेको हो । कार्यक्रममा समाजका निवर्तामान अध्यक्ष प्रविण शाहीले समाजलाई स्थापनाकालदेखि अनवरत रूपमा योगदान दिएको वापत कदर पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा पप गायक ओमविक्रम बिष्टको सम्मानमा कुबेर राईले ‘मौनतामा अल्झिरहेको’, सकुल अच्छामीले ‘को हो त्यो जस्ले मलाई’, राजेश शाहीले ‘मेरो याद अझै आउँछ भने’, बिनोदराज ढुङ्गेलले ‘तारा मारङ बजार कि कान्छी’ र प्रविण शाहीले ‘आवाज देउ मलाई’ बोलको गित गाएका थिए ।

सोही अवसरमा समाजले बाल गायककार अर्पण विश्वकर्माले ‘नेशनल गट ट्यालेन्ट हण्ट’ मा उत्कृष्ट प्रस्तुति दिन सफल भएकोमा प्रोत्साहन स्वरुप नगद ५ हजारसहित ‘सम्झना खरेल प्रतिभा पुरस्कार’ ले पुरस्कृत गरेको थियो र उक्त पुरस्कार वरिष्ठ रचनाकार भुषण खरेलले प्रदान गरेका थिए ।

भक्तपुरको मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकाहरुको सहयोग रहेको सो कार्यक्रमका लागि मिडिया पार्टनरहरुमा आइकन खबर, भादगाउँ टेलिभिजन र भक्तपुर एफएम थिए भने फोटोग्राफीमा बालकृष्ण फोटोग्राफी र मेडिकलमा आयु स्पेशालिटि क्लिनिक रहेका थिए ।

वरिष्ठ रचनाकार सुवास चन्द्र ढुंगेलद्धारा संचालित उक्त कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठ, मध्यपुर थिमी नगरपालिका वडा ४ का अध्यक्ष बालकृष्ण श्रेष्ठसंगै सिबर्ड कलेजका अध्यक्ष धर्मसुन्दर बज्राचार्य लगायत गायक थापाका संगीत सारथीहरू, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको उपस्थिति थियो ।