बाल्यकालमा दशैं आउनु भनेको खुशीको इन्द्रेणी आउनु जस्तै लाग्थ्यो । त्यो बेला विदेश जानु भनेको लाहुर अर्थात् भारत जानु थियो ।
भारतबाट टिनको बाकस बोकेर, नयाँ कपडा लगाएर तथा रेडियो घन्काउँदै आफन्त तथा छिमेकी आएको देख्दा लाग्थ्यो – आहा ! म पनि त्यस्तै हुन पाए त !
लाहुरबाट यो आयो, काठमाडौंबाट यो आयो, बटौली (बुटवल) बाट यो आयो .. भन्ने खबर गाउँका मुख्य खबर हुन्थे । मलाई लाहुर अर्थात् भारतबाट आएका आफन्तको घरमा गएर उनीहरूलाई सुन्ने तीब्र इच्छा लाग्थ्यो। हिन्दी र नेपाली मिसाएर भारतको वर्णन सुन्दा धेरैपटक भागेर लाहुर जाउँ कि भन्ने मनमा आइरहन्थ्यो ।
दशैंको बेला मौसम पनि अत्यन्तै सुन्दर हुन्थ्यो । आकाशमा तालचराहरू हुलहुलमा उडिरहेका हुन्थे । बुवाले भन्नुहुन्थ्यो – ती तालचरा रुसको साइबेरियाबाट जाडो छल्न यता आएका हुन् ।
दशैं संघारमा आउने बेलामा गाउँमा बाटो खन्ने चलन थियो । मलाई बाटो खन्न निकै रहर लाग्थ्यो । कोदालो बोकेर म मान्यजनसँग बाटो खन्न जान्थें । बाटोमा खाल्डा पुर्ने, ढुंगा मिलाउने तथा छेउकुना मिलाउने काम हुन्थ्यो । बाटो खन्ने दिन र समयको जानकारी अघिल्लो दिन कटालेले हाक हालेर थाहा हुन्थ्यो – साहेब हो, भोलि बिहान १० बजे बाटो खन्न सबै जना कलापोख्रा जम्मा हुनुहोस् साहेब हो !
दशैं आउनुअघि घर तथा आँगन सफा गर्ने एवं लिपपोत गर्ने प्रचलन थियो । म धेरै पटक आमासँग कमेरो लिन २ घण्टा टाढाको कमेरोखानी गएको छु । किशोर भाइ त धेरैपटक गएको थियो । बुल्मा भन्ने ठाउँबाट रातो माटो बोकेर स्थानीय मान्छेहरू गाउँ आउँथे । उनीहरूले रातोमाटो दिएर मही, अन्न आदि लैजाने चलन थियो । कहिलेकाहीँ मगमग बासना आउने बेलौती रखुब मिठो सख्खरखण्ड लिएर आउने गर्दथे ।
बुवासँग म र किशोर घरमा कमेरो (सेतो रंगको माटो) छ्याप्न तथा आमासँग बहिनीहरूले रातो माटो लिप्न उत्सुक हुन्थ्यौं । घरका भित्ताको माथिल्लो भागमा कमेरो र तल्लो भागमा रातो माटो लिपपोत गर्दा घर चिटिक्क परेको देखिन्थ्यो । त्यस्तै क्याम्पा र कौसीमा रंग लगाइन्थ्यो ।
दशैंको पूर्व सन्ध्यामा पिङ निकै खेलिन्थ्यो । जहाँ पिङ देखे पनि एकल वा दुकल रूपमा पिङमा मच्चिएर मुखले पात टिप्ने गर्थ्यौं । एक पटक स्वामीको रुखमा भाइ, म र अन्य साथी पिङ खेल्न गएका थियौं । म मच्चिएर मुखले समिका पात टिपिरहेको थिएँ । अचानक तल भूइँमा गोरु आएर चर्न लाग्यो । म पिङमा माथि अडिएर बस्ने सम्भव थिएन । पिङ तल जाँदा गोरुको टाउको वा ढाडमा बजारिने स्थिति आयो । त्यसपछि मैले मच्चिरहेको अवस्थामा बिस्तारै पिङको डोरीमा माथि–माथि समाउँदै पिङको टेकेको भाग छोडें । यसरी गोरुको ढाडमा पिङको टेक्ने ठाउँ बज्रियो, म भने डोरीको माथिल्लो भाग समाएर झुण्डिएको हुनाले बच्न सफल भएँ । त्यसपछि पिङ खेल्दा गाईगोरु नआउने ठाउँमा मात्र खेल्न थालें ।
दशैं आएपछि बोका तथा खसी काट्ने ठाउँमा जान खुब मन पर्थ्यो । खसी काट्ने घरमा रक्ति लगायतको भुटुवा बनाएर सालको पातको दुनोमा दिने गर्थे । त्यो खाँदा जिब्रो मात्र होइन, मनले समेत मिठो मान्थ्यो । घरमा मासु पकाएको बासना टाढादेखि आउँथ्यो । त्यति मात्र कहाँ हो र ? अनदीका चामल र कोपी ( फूलगोभी) पकाएको बासना बाटोबाट नै थाहा हुन्थ्यो ।
हाम्रो बारीमा सुन्तलाका सयौं रुख थिए । बेलौती ( अम्बा), कागती, अमिलो, रुखमै पाकेका केरा तथा अन्य मौसमी फलफूल निकै थिए । बारीको घाँसमा सुतेर रेडियोमा गीत सुन्दा कतिपटक सर्प आएर छेउमा लठ्ठ पर्दथे । सायद संगीतको कारण सर्प जम्मा हुन्थे । सर्प देख्दा सातोपुत्लो उड्थ्यो ।
सप्तमीसम्म त दशैंको रौनक मध्यम खालको हुन्थ्यो । अष्टमीदेखि भने हाम्रो खास दशैं आउँथ्यो । अष्टमीको दिन कालापोख्राको मन्दिरमा भाकल अनुरुप परेवा चढाउने, परेवा उडाउने, बोका काट्ने तथा पाडा काट्ने हुन्थ्यो । त्यो हेरेर घरमा जाँदा खाना पकाएको बासनाले मनै रंजित हुन्थ्यो ।
नवमीमा बिहानको खाना खाएपछि म, किशोर तथा अन्य साथीहरू धुर्कोट रजस्थलको टुप्पोमा अवस्थित कोट जान्थ्यौं । चांपारुख पुगेपछि थकाइ मार्न घाँसमा बस्थ्यौं अनि स्वयम्भुबाट काठमाडौं हेरेजस्तै हाम्रो गाउँ, स्कूल, मन्दिर आदि हेर्थ्यौं । थकाइ मार्ने क्रममा अन्य साथीसँग भेट हुन्थ्यो अनि ठूलो समूह बनाएर उकालो लाग्थ्यौं ।
कोटमा पुगेपछि टाढा टाढासम्मका गाउँ देखिन्थे । यो बस्तु, यो नयाँगाउँ, यो पिपल्धरा, यो भनभने, यो हाडहाडे, यो जैसीथोक, यता वाग्ला, यो खनदह भनेर हामीले दृष्टि पुर्याउँथ्यौं । कोटको वरिपरिका दुकान सबैभन्दा प्रिय स्थल हुन्थे । जुल्पी (जलेबी), गजा (मिठाइ), सिंगडा (समोसा), सेल, पकौडा आदि पकाइरहेका हुन्थे । बेलौती, सुन्तला, सख्खरखण्ड, बदाम, कटुस … बेच्न राखेका हुन्थे । जेरी र सख्खरखण्ड खुब मिठो लाग्थ्यो । बुवाआमाले दिएको पैसा तथा अलिअलि बुवाको खल्तीबाट झिकेको पैसाले हाम्रो जिब्रोलाई स्वादिलो बनाउँथ्यो ।
नवमीको दिन कोटबाट देवता निकाल्ने प्रचलन थियो । एकछाक खाएर बसेका क्षेत्रीयहरूले हातमा खड्क, खुँडा, तरबार, खुकुरी लिएर जेठा देवता, माइला देवता, कान्छा देवता हुँदै अन्य देवता निकाले चलन थियो । ती देवतालाई फूल, अबिर, माला, पैसा र धजाले ढोग्ने परम्परा थियो । त्यसपछि पंचबलिको रूपमा राँगा, बोका, परेवा, कुभिन्डो तथा काँक्रो चढाउने लगायतका कार्यक्रम हुन्थ्यो ।
जेठो राँगो र कान्छो राँगो काट्ने चलन सनसनीपूर्ण हुन्थ्यो । एउटा गाउँको साहुले ठूला तथा बलिया राँगा किन्ने तथा अर्को गाउँको क्षेत्रीले ९ दिनसम्म घ्यू खाएर नवमीको दिन राँगा काट्ने परम्परा थियो । एकैपटक च्वाट्ट राँगो छिन्ने व्यक्तिको अबिर जात्रा हुन्थ्यो भने एकैपटक छिन्न नसकेमा धकेलाधकेल तथा कुटपिट पनि हुन सक्थ्यो । एकै चोटमा छिन्न नसक्नेलाई ९ दिनसम्म घ्यू खाएछस्, तेरा बाउको पिण्ड भन्दै खुब बेइज्जत गर्ने गर्दथे ।
भोलिपल्ट दशमीमा टीका लगाउने तयारी स्वरूप आमाले सेल, रोटी, पुरी, काँक्राको अचार आदिको तयारी गर्नुहुन्थ्यो भने बुवाले दक्षिणाको लागि ५, १०, २०, ५०, १०० रुपैयाँका नोट मिलाएर राख्नुहुन्थ्यो ।
दशमीको बिहान घरमा राखेको जमरा तथा टीका लिएर हामी कालिकास्थानको मन्दिरमा जान्थ्यौं । मन्दिरमा पूजा भएपछि मन्दिरको टीका, जमरा र हाम्रो टीका जमरा मिलाएर घरमा ल्याउँथ्यौं । टीकाको साइत आएपछि बुवाआमाले हामी ४ जना छोराछोरीलाई टीका तथा जमरा लगाइदिनुहुन्थ्यो । बहिनीलाई दक्षिणा दिनुहुन्थ्यो । त्यो बेला हामीलाई लाग्थ्यो – हामी छोरी भएर जन्मिएको भए हामीले पनि दक्षिणा पाउने थियौं । बुवाआमाको आशिर्वाद जीवनमार्ग लाग्थ्यो – ‘धेरै पढ्नु, सधै फर्स्ट हुनु, डाक्टर बन्नु, नाम कमाउनु, असल मान्छे बन्नु, निरोगी हुनु, दीर्घायु हुनु, बाटोमा कतै ठेस नलागोस्, खुट्टामा काढा नबिझोस् … ।’
घरमा टीका लगाएपछि हामी जेठो बुवा तथा माइलो बुवाको घरमा जान्थ्यौं । त्यसपछि आफन्त, छिमेकी तथा सकेसम्म धेरै मान्यजनको घरमा जान्थ्यौं । आयु द्रोण सुते … देखि धेरै आशिर्वाद सुनेर कर्तव्यबोध गर्थ्यौं । घरमा बुवाआमाको हातबाट टीका लगाउनेको भीड रातिसम्म हुन्थ्यो । १ दिन मात्र टीका लगाउने हाम्रो परम्परा भएकाले दशमीको दिन निकै धपेडी हुन्थ्यो । अर्घाखाँचीको बल्कोटदेखि इश्मासम्मबाट टीका लगाउन आफन्त आउनुहुन्थ्यो । इश्माका भिनाजुले हरेक दशैंमा ल्याउनुहुने कुरौनी र भूइँकटहर खुब मिठो लाग्थ्यो ।
एकादशीको दिन बिहानैदेखि गाउँमा बाजाको मिठो आवाज आउँथ्यो । एकादशीमा कालिकास्थानको मन्दिरमा राम (मेला) हुन्थ्यो । राम हेर्नको लागि टाढाटाढादेखि मान्छेहरू आउँथे । चौरको वरिपरि जुल्पी, गजा, सिंगडा पकाइरहेका हुन्थे । बेलौती, केरा आदि फलफूल बेचिरहेका हुन्थे । दमाहा, झ्याली, सहनाई, नरसिंहा, टेम्कुलो, ढोलक आदि बाजाको आवाजले मनका तारहरू समेत बजेको अनुभूति हुन्थ्यो ।
अपराह्नपछि धुर्कोटको सम्पदाको रूपमा रहेको सराएं नाच हुन्थ्यो । हातमा तरबार, खुकुरी, लठ्ठी, रुमालमध्ये जे हुन्छ, त्यही समाएर बाजाको तालमा ‘बाँचे आइसल् … वाख्खई !’ भन्दै गोलाकार रूपमा सयौं जना नाच्ने परम्परा थियो । बुवा, म र भाइ पनि सराएं खेल्ने गर्थ्यौं । यो रौनकको बीच ‘राँगो आयो’ भन्दै हल्ला चल्थ्यो अनि त्यहाँ भागाभाग हुन्थ्यो ।
रक्सी खाएकाबीच झगडा पनि हुन्थ्यो । त्यतिबेला मलाई रक्सी खाएमा मान्छेसँग असाध्यै डर लाग्थ्यो । रक्सी खाने एकदम खराब हुन् भन्ने मनमा छाप परेको थियो ।
द्वादशीका दिन हामी बुल्म अवस्थित रामदल चौरमा हुने मेला हेर्न जान्थ्यौं । त्यहाँ पनि उस्तै मेला, उस्तै सराएं तथा उस्तै खाद्यान्न हुन्थे र मर्भुंग, अर्जे, इश्मा, घमिर, बस्तुदेखि राम हेर्न आउनेको भीड हुन्थ्यो । लोक गायक बमबहादुर कार्कीलाई हेर्ने तथा सुन्नेको भीड हुन्थ्यो । २–४ राउन्ड सराएं खेलेपछि हामी उकालो लाग्थ्यौं ।
तिरादशी अर्थात् त्रयोदशीमा हामीहरू डाँडाको राम हेर्न जान्थ्यौं । कोरापानी, कोट, नयाँगाउँ, पिपलधारा आदिबाट मेला तथा सराएं हेर्न धेरै मान्छे आउने गर्दथे । खानेकुराको भेराइटी पनि त्यहाँ धेरै हुन्थ्यो । साँझ पर्ने बेलासम्म सराएं खेलेर हामीहरू जुनेली रातको उज्यालोमा घर फर्किने गर्थ्यौं । डाँडाको राममा झगडा तथा कुटपिटका घटना धेरै हुन्थे । खास गरेर मसालका नेता बिनबहादुर कुँवर र कांग्रेसका स्थानीय नेता र कार्यकर्तामध्ये जसले सक्छ, अर्को पक्षलाई आक्रमण गर्दथे । बिनबहादुरले साइकलको चेन कम्मरमा बाँधेर हिँड्छन् रे ! बिनबहादुरले साइकलको चेनले हानेर भीरबाट हाम फालेर कोदो बारीमा लुके रे … जस्ता धेरै किम्बदन्ती सुन्न पाइन्थ्यो । त्यो बेला बिनबहादुर कुँवर डरलाग्दो बिम्बको रूपमा स्थापित भएका थिए ।
चतुर्दशीको दिन घरमै बसिन्थ्यो । पालुखामा राम त हुन्थ्यो तर हामी त्यहाँ गएनौं । पुन्यु अर्थात् पूर्णिमाको दिन सबैभन्दा धेरै रौनक हुन्थ्यो । एउटा पूर्णिमामा म र भाइ किशोर अर्जेको राम हेर्न गएका थियौं । अरु वर्षहरूमा धुर्कोटको रजस्थलस्थित कोटमा जान्थ्यौं । कोटमा राम हेर्न गुल्मी मात्र होइन, बागलुङ, प्युठान र अर्घाखाँचीदेखि मान्छेहरू आउँथे । धुर्कोटको सराएं त्यति लोकप्रिय थियो । कोटको मैदान मात्र होइन, वरिपरिका बारी तथाढिकमा समेत भीड हुन्थ्यो । त्यहाँ पहिले तुरी हुन्थ्यो । त्यहाँ खेलिने तुरीको विशेष आकर्षण हुन्थ्यो । गन्धर्व परिवारमा बाउछोराले भनेको तुरी (दोहोरी जस्तो) सुन्न ठूलो भीड लाग्थ्यो । तुरी खेल्ने बाउछोराले दौरा सुरुवाल, कोट, टोपी तथा दुबोको माला लगाएका हुन्थे । प्रत्येक भनाइपछि बाजा बजाउने चलन थियो ।
तुरिको दोहोरी यस्तो हुन्थ्यो –
बाउ – तुरी खेल्नी कस्तो तुरी खेल्नी कस्तो मेरो छोरालाई देखें मैले कुती खोलाको भूत जस्तो ।
छोरा – तुरी खेल्नी कस्तो तुरी खेल्नी कस्तो मेरो बाउलाई देखें मैले भीरमा हिँड्ने स्याल जस्तो ।
बाउ – तुरी खेल्नी कस्तो तुरी खेल्नी कस्तो मेरो छोरालाई देखें मैले झिक्रामा बसेको छेपारो जस्तो ।
छोरा – तुरी खेल्नी कस्तो तुरी खेल्नी कस्तो मेरो बाउलाई देखें मैले रुखमा चढेको ढेदुवा जस्तो ।
बाउ – तुरीखेल्नी कस्तो तुरी खेल्नी कस्तो मेरो छोरालाई देखें पूर्णिमाको जुन जस्तो ।
छोरा – तुरी खेल्नी कस्तो तुरी खेल्नी कस्तो मेरो बाउलाई देखें मैले उदाएका सूर्य जस्तो ।
यसरी शुरूका २ राउन्डमा आरोप–प्रत्यारोप हुन्थ्यो भने अन्त्यमा एकअर्काको प्रशंसा गरेर तथा छोराले बुवालाई ढोगेर तुरी नाच सकिन्थ्यो ।
त्यसपछि पट्टा नाच शुरू हुन्थ्यो । देब्रे हातमा ढाल र दाहिने हातमा रुमाल समाएका २ जनामध्ये रुमाल समाएकोले आक्रमण गर्ने तथा ढाल समाएकोले बच्ने दाउ खेल्दथे । झुक्याएर रुमालले टाउकोमा हानेपछि जित्यो भनेर बढाइ गरिन्थ्यो । प्राचीनकालमा खुकुरी र ढालले खेलिने पट्टा नाच युद्धको अभ्यास हो ।
पट्टापछि छ्यौंली शुरू हुन्थ्यो । ढाल, तरबार, खुँडा, खुकुरी आदि हतियार लिएर ५–६ वटा घेरा बनाएर बिस्तारै बाजाको तालमा दाइँमा गोरु घुमेझैं नाच्ने गर्दथे । सबैभन्दा भित्रि घेरामा बुढा तथा भद्र भलादमी हुन्थे । बाजाको ताल छिटो हुँदै जाँदा उनीहरू पनि हो! हो! हो! हो! भन्दै दौडिने गर्थे । यो चक्र ३ पटक चल्थ्यो ।
त्यसपछि प्रमुख आकर्षणको रूपमा रहेको सराएं नाच लामो समयसम्म चल्थ्यो । हातमा हतियार, लठ्ठी, टर्च लाइट, रुमाल आदि बोकेर ‘खेल, भाइ हो … बाँचे आइसल … वाख्खई …’ भन्दै बाजाको तालमा सराएं खेल्दथे । मैले पनि हरेक वर्ष खेल्ने गरेको थिएँ । बिस्तारै आनन्दको नाच, पंचेबाजाको मिठास, दर्शकको भीडभाड तथा नयाँ कपडा लगाएका मान्छेहरू … गजबको हुन्थ्यो धुर्कोटको सराएं ।
त्यो बेला गरिब परिवारमा दशैंमा मात्र मासु भात खाने चलन थियो । दशैंमा नयाँ कपडा सिलाउने परम्परा थियो । नयाँ कपडा लगाउँदा धेरै दिनसम्म कपडाको बासना आउँथ्यो । खानपिन, कपडा, दक्षिणा आदिको कारण दशैं धेरैको लागि दशा साबित हुन्थ्यो ।
जब दशैं आउँछ, मेरो मानसपटलमा बाल्यकालका स्मृति चलचित्रझैं घुमिरहन्छन् ।
रवीन्द्र समीर – फेसबुक बाट साभार