बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन्। अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित छ। टोलीमा नेपाली डा.खड्काबाहेक बाँकी सदस्य अन्य मुलुकका छन्।
दुई लाख वटा औषधिको अनुसन्धानबाट तीन वर्ष लगाएर ५६ सम्भावित औषधि पत्ता लागेको डा.खड्काले बताए। तीमध्ये एउटा बेन्जोक्विन अनलाइन (दभलशयत्रगष्लयष्लिभ) समूहको औषधिको विस्तृत अध्ययन भएको छ।
‘अन्य भाइरसको भन्दा इबोला भाइरसको औषधि खोज अध्ययन १० गुणा बढी चुनौतीपूर्ण थियो तर हाम्रो टिम अध्ययनमा सफल भएको छ। थप औषधि पनि विकासकै क्रममा छन्’, उनले टेलिफोनमा भने, ‘यो औषधि हालै संसारमा भयभीत बनाइरहेको अर्को जीका भाइरसविरुद्ध पनि प्रभावकारी देखिएको छ।’
यो प्रारम्भिक अनुसन्धानले चाँडै इबोला र जीकाको उपचार हुन सक्ने सम्भावना बढेको छ। तर, बजारमा आउनुभन्दा पहिले यो औषधिको प्रयोग गर्ने विधि, औषधिको मात्रा र साइड इफेक्टबारे थप अनुसन्धान सुरु भएको छ। उनका अनुसार यो प्रक्रिया सकिएर इबोलाको औषधि सर्वसुलभ हुन अझै केही वर्ष लाग्नेछ।
यो आविष्कारले फेरि इबोलाको महामारी फैलियो भने त्यसको रोकथाममा महत्वपूर्ण योगदान पु¥याउने विश्वास अनुसन्धानमा संलग्न वैज्ञानिक टोलीले लिएको छ।
संसारकै खतरनाक रोग मानिने इबोलाको हालसम्म कुनै औषधि छैन। अत्यन्तै चाँडो सर्ने यो रोगले केही दिनमै महामारीको रूप लिन सक्छ।
थुप्रै स्वास्थ्यकर्मीको समेत बिरामीको उपचार गर्ने क्रममा यो रोग सरेर मृत्यु भएको छ। त्यसैले यो रोग लागिहालेमा उपचार गर्नसमेत कोही स्वास्थ्यकर्मी अगाडि सर्दैनन्।
इबोला नफैलियोस् भन्नका लागि नै आजकल संसारभरका विमानस्थलमा विदेश यात्राबाट फर्किने यात्रुलाई इन्फ्रारेड क्यामेराको प्रयोग गरेर सम्भावित संक्रमित यात्रुको पहिचान गरिन्छ। संसारका सीमित ल्याबमा मात्र इबोला भाइरसबारे अध्ययन गर्न सकिन्छ।
यसका लागि सुरक्षा दृष्टिले अत्यन्तै संवेदनशील मानिने अमेरिकाको चौथो तहको प्रयोगशाला आवश्यक पर्ने डा. खड्काले बताए।
लामो सुरक्षा जाँच र तालिमपश्चात् मात्रै सो प्रयोगशालामा काम गर्ने अनुमति अमेरिकी सरकारले दिन्छ।
लामो समय लगाएर गरिएको यो अनुसन्धानले इबोला भाइरसको रोकथामका लागि महत्वपूर्ण भूमिका खेल्ने जानकारी उनले दिए। सयौं औषधिबाट ५६ सम्भावित औषधि पत्ता लागेको र त्यसमा बेन्जोक्युनोलाइन समूहको औषधिको विस्तृत अध्ययन भइरहेको उनको भनाइ छ।
अमेरिकी सरकारले लामो सुरक्षा जाँच र तालिमपश्चात् चौथो तहको प्रयोगशालामा काम गर्ने अनुमति दिने विश्वविद्यालयले जनाएको छ।
खड्का बागलुङका पूर्वसांसद स्वर्गीय हरिबहादुर खड्का र राज्यमन्त्री चम्पादेवी खड्काका जेठो छोरा हुन्। संसारका सीमित वैज्ञानिकको मात्र प्रयोगशालामा पहुँच हुने र चौथो तहमा अध्ययन गर्ने निकै कम अवसर पाउनेमा डा.खड्का भाग्यमानी नेपाली विद्यार्थी हुन्।
सेल एन्ड मोलोकुलर बायोलोजीमा गोल्ड मेडलिस्ट डा.खड्काले आधारभूत शिक्षा बागलुङ बजारबाट हासिल गरेका थिए। त्यसपछि काठमाडैां विश्वविद्यालयबाट आईएससी गरी थप अध्ययनका लागि अमेरिका गएका थिए।
विल्सल्यान्ड फेलोसिप अवार्ड प्राप्त गरेका उनीसहितको टोलीले यसअघि मानवलाई डेंगु र हेपाटाइटिस सी भाइरसले कसरी प्रभाव पार्छ भन्ने विषयमा शोध गरेको थियो। यो टोलीको लामो समयको अनुसन्धानपछि औषधिको विस्तृत अध्ययन भइरहेको प्रतिष्ठित जर्नल एन्टिभाइरल रिसर्चमा उल्लेख छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
प्रकाशित मिति : २०७४ माघ ३,बुधबार