प्रभात सुवेदीको रचना, सङ्गीत स्वरमा रहेको एकदमै मार्मिक र मन छुने गित “कसलाई अाफ्नो मानूँ” भन्ने औडियो युटुब मार्फत सार्बजनिक भएको छ | अहिले को सांगीतिक बजार तताउने यो गितले हरेक नेपाली हरुको मन छुने छ भन्ने आशा सहित यो गीतमा मोडलिङ्ग गर्न चाहने कलाकारहरुले प्रभात सुवेदी लाइ सम्पर्क पनि गर्न सक्नु हुनेछ। ९८५८०२०४९५ हामीलाई आशा छ छिट्टै यो गितको म्युजिक भिडियो पनि तैयार हुनेछ र युटुबमा पक्कै पनि तहल्का मचाउने छ | अग्रिम सुभकामना हजुरलाई यति मिठो गित सगीत को रचना गरि दिनु भएकोमा |
मरुँ क्यारे यो घाँटी सेरेर ।
दैव पनि बस्दैछ हेरेर ।
कसलाई अाफ्नो मानूँ ,
धन सम्पत्ति रुपै र रङ्गैलेऽ अाफ्नै मान्छे संसारमै विराना हुँदारैछन् सानु ।
साढे सात लाइसकेपछि त ।
दु:ख पर्यो भन्दै जाउँ कोसित ।।
कसलाई अाफ्नो मानूँ ,
धन सम्पत्ति रुपै र रङ्गैलेऽ अाफ्नै मान्छे संसारमै विराना हुँदारैछन् सानु ।
गर्छन् काटमार अापसमा तैपनि ।
मर्दा साथमा लाँदैनन् क्यै पनि ।।
कसलाई अाफ्नो मानूँ ,
धन सम्पत्ति रुपै र रङ्गैलेऽ अाफ्नै मान्छे संसारमै विराना हुँदारैछन् सानु ।
यो गीतमा मोडलिङ्ग गर्न चाहने कलाकारहरुले सम्पर्क गर्नुहोला ।
९८५८०२०४९५
contact who are willing to play as model of video of this song.
9858020495
धर्मानन्द भट्ट
जन्म : लेकम गाउँपालिका-०२,दार्चुला,नेपाल
शिक्षा : एम एड नेपाली
पेशा : शिक्षक
हाल : काठमाडौं
लेखक : धर्मानन्द भट्ट स्वर (क) नवीना खड्का : कहाँ छ्यौ तिमी ? (ख) प्रभात सुवेदी :१- विडम्बना २-हामी सबै एक हौं र ३- नेपाल जन्मूँ
नेपाल जन्मूँ ( कविता )
धर्मानन्द भट्ट
आमा धन्य तिमी म ठान्छु अहिले पाएर नेपाल यो
आत्मा भन्छ बसी सुखी घरमहा साँच्चै छ आनन्द यो ।
अर्को जन्म शहीद धर्म मनले सोध्दै छ रोज्छौ कता ?
अग्लो माथ जहाँ छ बुद्ध धरती नेपाल जन्मूँ मता ।।
१
औधी शान्ति गुफा छ व्यास ऋषिको नेपाल हाम्रै घर
आत्मा शान्ति र पाइदैन ममता टाढा लुकेमा पर ।
भेट्दैनौ कहिले नि कान्ति मनमा नेपाल छोडी उता
भेट्ने शान्ति भए भनूँ सब जना नेपाल जन्मूँ मता ।।
२
नेपाली हिमशैलको पवनले हम्की तराई मुख
जाडाेमा तल गै हिमाल जहिले ताप्दै छ आफ्नो सुख ।
नेपाली सब काख स्वर्ग छ भनी नेपाल हाँस्दै बता
यो माटो जलले पुनः अब भनून् नेपाल जन्मूँ मता ।
३
सीताराम घुमी अचेल मिथिला नेपाल हेर्छन् अरे
राराको दहमा मुनामदन औ पूर्खा नि घुम्छन् भरे ।
पंक्षी औ रुखले धरा गगनले साराहरूले यता
भन्दै छन् समले अझै लखनले नेपाल जन्मूँ मता ।।
४
डाँफे कालजयी हिमाल वनको नेपालमै भैरहोस्
भन्छन् मख्ख परी उनै अरनिको मेरो कला रैरहोस् ।
नैनीताल र काँकडा अब रुँदै टिष्टा कुमाऊ उता
भन्छन् मन्द मुहारले दिनदिनै नेपाल जन्मूँ मता ।।
५
आमाको तनमा गडे नयन ती छोरा बसी हेर्दिनँ
तिम्रो लाज सही कुनै क्षण मता बस्दैनँ एकै छिन ।
देखी फूल गुराँस भीर वनमा आँखा नलाऊ यता
भन्दै छन् बुझ भीमसेन अहिले नेपाल जन्मूँ मता ।।
६
हाम्रा धीर ललीत ती अति छिटो जन्मेर पूर्खा अब
बाबा खप्तडको धरा म मनले पुग्नेछु भन्छन् सब ।
अर्को देश खुशी दिने मनमहा पाइन्छ यस्तो कता !
बिन्ती गर्छु जुनीजुनी पनि पुनः नेपाल जन्मूँ मता ।।
७
छन्द : शार्दूलविक्रीडित
ढाकारा,लेकम गाउँपालिका-०२,दार्चुला
रचना मिति : वि.सं. २०७४/०८/१५ गते ।
हामी सबै एक हौं ( कविता )
धर्मानन्द भट्ट
कोदो फापर दालभात मसिनो जेजे निले तापनि
सेतो उच्च हिमाल आज शिरमा रम्दै बसेमा पनि ।
औधी स्वच्छ यसै खुला भुवनका बुझ्ने सबै जीव हौं
कोही आज कतै घमण्ड नगरी बाँचौं सबै एक हौं ।।
१
गुम्बा मस्जिद चर्च मन्दिर बुझौं छाप्रोहरू भिन्न हुन्
ब्रह्मा बिष्णु र बुद्ध औ यशु यहाँ बस्ने तिनै देव हुन् ।
आफ्नै धर्म मिठो छ संकृति झनै यो फूलका खात हौं
हाम्रो नाम छ भिन्न नै तर बुझौं मान्छे सबै एक हौं ।।
२
हुन् मङ्गोल किरात आर्य खस झन् कामी दमाई पनि
यो जम्मै घरका दिदी र बहिनी हौं दाजु हामी अनि ।
भाषा भेषभुषा नि भिन्न छ यहाँ छौं एकता सान हौं
पश्चिम् पूर्व जता बसे पनि सबै हामी सबै एक हौं ।।
३
भारापर्म गरी मिली अब बसूँ त्यागेर हिंसा सब
जम्मै एक बुझे खुला हृदयले बढ्नेछ माया तब ।
घुम्ने मात्र धरा मिठो पवनझैं सोचौं झुटो चेक हौं
त्यागौं है रिसराग दूर सबले सोचौं सबै एक हौं ।।
४
पैसा हैन धनी गरीब अहिले छुट्ट्याउने साधन
स्वार्थी नेत्र यहाँ विभेद जनमा निम्त्याउने हो मन ।
मर्दा भोलि सबै जली तनहरू जाने उही धाम हौं
रातो मात्र बगे नसा रगत नै सोच्नू सबै एक हौं ।।
५
नेपाली सब भन्न खातिर उठे हामी सबै एक हौं
जम्मै जात र भात एक मनले भिन्नै नभै एक हौं ।
भन्छन् यी बबुरा विभेद नगरौं त्यै कोखका पुत्र हौं
बिन्ती बा र मुमा म राख मनमा हामी सबै एक हौं ।।
६
छन्द : शार्दूलविक्रीडित
ढाकारा,लेकम गाउँपालिका-०२,दार्चुला
रचना मिति : वि.सं. २०७४/०८/२२ गते ।
बिडम्बना ( कविता )
धर्मानन्द भट्ट
ऐलेको युग चाहिदैन प्रतिभा नाङ्गो भए भैगयो
देखादेख भयो सनातन कला ऐले कहाँ गैगयो ।
हिन्दू राज्य थियो बुबा बखतमा त्यो छैन ऐले किन ?
यस्तै चाल रहे कुटी डलरमा बेचिन्छ एकै छिन ।।
१
आफ्नो धर्म,कला र संस्कृति यहाँ बिर्सन्छ मान्छे तर
ह्याप्पी कृस्मसमा अझै प्रणयमा हुन्छन् खुशी यी घर ।
खानामा मसिनो जिरा,मनसुली पोसाक पात्लो अति
सेल्फी पोष्ट हुने अहो समय यो कस्तो भयो दुर्गति ।।
२
बाबासाथ बसी रमूँ मन भए काट्छ्न् कुरा जो जन
ती आत्मा सबले भुले अब मुमा औ देश,आफ्नोपन ।
नेपाली शिरमा सफेद पहिले हुन्थे पछ्यौरा सधैं
ऐले सिन्दुरको धुलो सब जना फाल्दै छ स्वामी छँदै ।।
३
कोही छन् सब अस्मिता रहरले बेच्ने यहाँ सज्जन
कोही शोषणमा छ मस्त किन हो साँच्चै दुखाई मन ।
आफ्नो देश बसी विदेश ममता भर्छन् गला फूलले
आमा चट्ट भुली यिनै पर कता खोज्छन् खुशी भूलले ।।
४
पुग्दा यौवनमा सुगन्ध तनमा वर्षिन्छ छाडा भई
मौरीको ममता त्यसै बखतमा फैलिन्छ गाढा भई ।
खाई मासु सधै घमण्ड मनले गर्जिन्छ सानो मृग
पूरा राज गरी उदण्ड छ अझै लोभी उसैका दृग ।।
५
रचना मिति : वि.सं. २०७४/०९/१० गते बिहान
शार्दूलविक्रीडित
कहाँ छ्यौ तिमी ? ( कविता )
धर्मानन्द भट्ट
छुट्टै धार थियो हतार न कुनै मेरो र तिम्रो हिजो
हाम्रो संगमले कुनै पल कसै कैले न गर्थ्यो झिजो ।
छोटो साथ दिई सफा तरहले मेरा भगायौ व्यथा
मेरो साथ छँदा खुशी मन थियो गाएर तिम्रै कथा ।।
१
छुट्दा रुन्छ धरा बुझेर मनले हाँस्दै छुटेकी थियौ
आँखा आँसु भरी बिछोडपछि झन् नाँच्दै जुटेकी थियौ ।
डोरी टुट्छ भने मुनामदनको भन्थ्यौ तिमी गान हौं
बोल्दा उच्च हिमालको शिरजसै साँच्चै दुबै सान हौं ।।
२
माया प्याट्ट फुट्याे अचम्म म भएँ देखावटी प्यारले
हाम्रा आज सबै मिठा र नमिठा अग्ला कहानी ढले ।
मेरो आज यता दिमाग घरमा घुम्दै छ तिम्रो रुप
त्यस्ता बात भुली अचेल कसरी बस्छ्यौ तिमी खै चुप ?
३
छाती दुख्छ चसक्क आज मनको सोच्दा बितेका पल
राम्रो बोट थियौ छँदा त कलिली यस्तो दियौ के फल ?
अर्को ठाउँ गएँ तिमी बस भनी छोडी मलाई गयौ
लाग्थ्यो प्राण तिमी खुशी अझ बढी जम्मै खरानी भयौ ।।
४
भेट्ने आश अझै छ है बुझ तिमी बस्छ्यौ कहाँ लौ भन ?
राधा, कृष्ण विछोडमा अलि कतै दुख्दैन तिम्रो मन ?
कस्ता छन् दिन आज ए पृयतमा तिम्रा बसेका घर ?
बस्दा आज त्यता कथा विगतको झन् याद आउन्न र ?
५
आई याद खुबै धरा गगनमा खोज्दै छु मैले अब
आत्मा,ईन्टरनेट औ युट्युबका पानाहरूमा सब ।
टाढा देश अमेरिका तक पुगी केही नमानी धक
भेटै हुन्न भने म पागल बनी बाँच्नेछु है छन्तक ।।
६
तिम्रो पर्वत देशका सब डुलें काला कुना कन्दरा
झन् आनन्द दिने त्यहाँ महलको पुग्दै छु तिम्रै धरा ।
मेरो याद भुली हरेक क्षणमा हाँस्नू जहाँ छ्यौ तिमी
लाएँ एक सबै र भेटिनँ कतै ऐले कहाँ छ्यौ तिमी ?
७
२०७४/१०/०६ गते
छन्द : शार्दूलविक्रीडित
ढाकारा,लेकम गाउँपालिका-०२,दार्चुला ।