जोगिथुम (पाल्पा) रिब्दिकोट गाउँपालिका ख्याहा जोगिथुमका सात वर्षिय बालक शिव कुमालको हातमा फलामको साङलो छ । खेल्ने, खाने, रमाउने र बा आमालाई पछ्याउने उमेरमा घरभित्र दलानको खाँबोमा बाँधिएका उनी साङलो जहाँसम्म पुग्छ, त्यही वरीपरीसम्म खेल्छन् । ढुँगा माटो खेलाउँछन् । खान्छन् पनि । देख्दा सामान्यजस्तै लाग्ने यी वालक बोल्न सक्दैनन् । अरुले बोलेको बुझ्दैनन् । चारवर्षको उमेरसम्म उनी स्वस्थ थिए । त्यसपछि एकाएक एकोहोरो हुने, टोलाउने, अरुको कुरा वेवास्ता गर्ने भए ।
परिवारले उपचारका लागि तानसेन र बुटवलका बिभिन्न अस्पताल पु¥याए । तर कति पनि ठिक भएन । देउ देउता भाक्ने, मन्दिरमा बलि दिनेदेखी धामीझाँक्री बकाउने काम पनि भए । तर शिवमा सुधार आएन । आर्थिक अवस्था कमजोर भएकाले थप उपचारका लागि राम्रो अस्पतालमा चाहेर पनि अभिभावकले लान सकेनन् । त्यसपछि कुकुर बाध्ने फलामे साङलो किनेर शिवलाई बाँध्न बाध्य भए ।
जे मन लाग्यो त्यही गर्ने भएपछि घरमै बाधेर राख्न थालियो । अभिभावकको मन कटक्क भएको छ तर शिवलाई नियन्त्रण गर्न त्योभन्दा अरु विकल्प उनीहरुसँग भएन । पशुको जस्तै हालतमा शिवको तीन वर्ष बित्यो । उनको संसार भन्नु साङलो जहाँसम्म पुग्छ त्यतिमात्रै हो ।
यो गाउँमा शिव मात्र होईन साना–ठुला गरी करिब ४५ जना अपाङ्ग छन् । सिंगो गाउँमा नै अपाङ्गहरुको संख्या बढी हुनाले गाउँ नै शोकमा छ । कसैका सन्तान, कसैका अभिभावक त कसैका दाजुभाई दिदीबहिनी घरमै अपाङ्ग भएपछि परिवारको अवस्था पनि दयनीय बन्दै गएको छ । कमाउन पर्ने, गाउँको विकास गर्ने उमेर समुहकाहरु नै थला पर्नुपर्ने भएपछि गाउँ झन् पिछडिएको छ । आजको कार्यक्रम पाल्पाबाटः