अस्ट्रेलियाको मेलबर्नमा नेपाली समुदाय बीच चिरपरिचित संस्था दिदीबहिनी समाज भिक्टोरियाले आफ्नो तेश्रो साधारण सभा सम्पन्न गरेको छ । ग्लेनरोयस्थित युनाइटिङ्ग चर्चमा सम्पन्न उक्त सभाबाट दुई बर्ष (२०१९-२०२१) का लागि सर्बसम्मत रुपमा जमुना पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
साधारण सभामा समाजले दुइ बर्षमा गरेका प्रगति विवरण प्रस्तुत गर्दै संस्थाका निबर्तमान अध्यक्ष जमुना पराजुलीले संस्थाले अहिलेसम्म गर्दै आएका बिभिन्न कार्यक्रमहरुको फेहरिस्त प्रस्तुत र संस्थाका निबर्तमान कोषाध्यक्ष बेञ्जु ज्ञवालीले आर्थिक विवरण पेश गर्नु भएको थियो । सभाले दुवै विवरणहरु तथा बिधानमा केही संशोधन समेत गरी सर्बसम्मतीबाट पास गरेको थियो ।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा प्रभा श्रेष्ठ, सचिव शोभा लम्साल, सह-सचिब स्मृति घिमिरे, कोषाध्यक्ष बेञ्जु ज्ञवाली, सह-कोषाध्यक्ष कमला चालिसे कार्य समिति सदस्यहरुमा रुची गौतम, अन्जु अधिकारी, लिना गुभाजु, झरना भट्टराई, अन्जना नेपाल, संजना श्रेष्ठ, निर्मला न्यौपाने, गीता क्षेत्री, बर्षा केसी राजभण्डारी रहनु भएको छ । त्यसैगरी संस्थाको सल्लाहकारमा रोशन भण्डारी, डा कोलिन रोल्स, लक्ष्मी योन्जन, डा एन म्यारी डिगिन्स र टिना लिंन्डन रहनु भएको छ । संस्थाले क्रेगिबर्न र डयानेडंग क्षेत्रबाट एक एक जना सदस्यहरु अब बस्ने नयाँ कार्यसमितिको बैठकबाट थप गरिने जानकारी वर्तमान उपाध्यक्ष प्रभा श्रेष्ठले बताउनु भयो ।
भिक्टोरियामा नेपाली समुदायहरु बीच निकै राम्रो छाप पार्न सफल संस्थाले अहिलेसम्म Be the best women, Library Partnership, Music with Catherine, International Women’s Day, Breast Screening, Family Violence Prevention, Teej Festival, Family Picnic जस्ता बिभिन्न कार्यक्रमहरु सफल रुपमा संचालन गरिसकेको छ । सन् २०१२ मा स्थापना भएको उक्त संस्था छोटो समयमै मेलबर्नमा एउटा प्रतिष्ठित संथाको रुपमा आफूलाई उभ्याउन सफल भैसकेको छ र आगामी दिनहरुमा बिदेशी संस्थाहरुबाट समेत संयुक्त रुपमा कार्यक्रमहरु संचालन गर्ने प्रस्ताबहरु पनि प्राप्त गरिसकेको छ । समाजले बिभिन्न च्यारिटी कार्यक्रमहरुबाट संकलित रकमहरु नेपालमा हिँसा पिडित महिला तथा बालबालिकाहरुको सहयोगका लागि पठाउने गर्दै आएको छ ।