रामकुमार श्रेष्ठ***
धेरै ऋषिमुनीले तपस्या समेत गरेको मानिने कालीगण्डकी नदी र यसको सभ्यता पछिल्लो समय संकटमा छ र कालीगण्डकी किनारको ‘कालीगण्डकी सभ्यता’का बारेमा जानकारी दिन धेरै पुस्तक लेखिएकाले यो धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिनु स्वाभाबिकै हो ।
पछिल्लो समय अतिक्रमणका कारण संकटमा परेको कालीगण्डकीको सभ्यता र लोप हुँदै गएका शालिग्रामका बारेमा भावी पुस्तालाई जानकारी दिने अभिप्रायले सुरुङ खनेर कालीगण्डकी सभ्यता र शालिग्राम संरक्षण गर्नका लागि दामोदर कुण्डदेखि त्रिबेणीधामसम्मको कालीगण्डकी नदी र सहायक नदी तथा तीर्थस्थलको बारेमा एकै थलोमा देख्न सकिने गरी शालिग्राम संग्राहालयलाई ब्यबस्थित गरिएको छ ।
कालीगण्डकी किनारमा पर्ने बागलुङ नगरपालिका–४ कुडुलेमा कालीगण्डकी नदीको सभ्यता देखाउन सुरुङभित्र १०० मिटर लामो भूमिगत संग्राहालय निर्माण गरिएको छ स्वामी ऋषि प्रपन्नाचायको पहलमा । उत्तरी मुस्ताङको दामोदर कुण्डदेखि दक्षिणमा नवलपरासीको त्रिबेणी मोक्ष धामसम्मको कालीगण्डकी नदीकिनारको सभ्यता र शालिग्रामको महत्व देखाउने गरी ब्यबस्था मिलाइएको छ । प्रपन्नाचार्यको परिकल्पना अनुसार संग्राहलय लगायत सबै उद्धेस्य प्राप्तीका लागि करिब ४ सय मिटर लामो सुरुङ निर्माण गरिएको छ ।
सुरुङभित्र पसेपछि एकै थलोमा कालीगण्डकी नदी, शालिग्राम र धार्मिक महत्वका बारेमा राम्रोसँग ज्ञान लिन सकिनेछ । त्यसै गरी शालिग्राम र शालिग्रामको चक्रका विषयमा गुरु श्रीधर आचार्यमा धेरै ज्ञान रहेको र उहाँको पृष्ठभूमि, उहाँले प्रकाशित गरेका लेख–रचनाको राम्रोसँग अध्ययन गर्न सकिनेछ ।
सन् १९८५ तदनुसार २०४२ सालमा यस क्षेत्रमा नवपाषाण हतियार भेट्टिएको र त्यहाँ पाइने कतिपय शालिग्राममा पनि ढुंगेचित्र पाइनुबाट त्यस बेला यहाँ मानव बसोबास भएको पुष्टि हुन्छ ।
श्रीधर आचार्यबाटै प्रभावित भएर मुक्तिनाथ र ऋषि गण्डकी तथा शालिग्रामको महत्व, प्रचार र संरक्षणमा प्रपन्नाचाय लागेका हुन ।
भूमिगत संग्रहालयमा भगवान विष्णुको मन्दिरसँगै ध्यानस्थल तथा सभाहल निर्माण कार्य भने जारी छ । उक्त हलमा बसेर अवलोकनकर्ताले शालिग्राम र कालीगण्डकी नदीको विषयवस्तुसँग सम्बन्धित फिल्म, डकुमेन्ट्री देखाउने ब्यबस्था गरिनेछ, तर यस्को पनि केही प्राबिधिक काम बाँकी भएकोले सन्चालनमा आइसकेको छैन ।
भूमिगतरूपमा बनेको यस्तो संग्राहालय संसारकै पहिलो हुनेछ । सानो आकारको शालिग्रामदेखि ५ हजार किलोसम्मका शालिग्राम यहाँ राखिनेछ ।
मुक्तिनाथ भएर बगी आउने कालीगण्डकीका अन्य वैष्णव तीर्थमा कागबेनी, गलेश्वरधाम, बेणी, रूरूक्षेत्र, राम्दीघाट, हुंगीघाट, खोरीघाट, केलादीघाट, रामपुर, देवघाट आदि छन् ।
जालन्धरकी पत्नीको श्राप पाएर ढुंगोमा शालिग्राम बनेका विष्णुको यस रूपबारे स्कन्दपुराण, शिवपुराण, पद्मपुराणमा चर्चा छ । आठौं शताब्दीमा शंकराचार्यले पनि शालिग्रामको पूजा गर्ने गरेको प्रसंग छ भने बराह पुराणमा चन्द्रमाले श्रापबाट मुक्त हुनका लागि शालिग्राम क्षेत्रमा शिवलिंग स्थापना गरेर बसेको उल्लेख छ ।
बाग्लुङ बजारदेखि पैदल जाने र आउने क्रममा म लगायत मसंग जाने अर्बान प्लानर मोली र वाताबरण अधिकृत पौलसँग करीब १०० जनाले फोटो खिच्न गरेको अनुरोधले त्यो क्षेत्रमा बिदेशीहरु बिरलै जाने गरेको अनुमान गर्न सकिन्थ्यो ।
कतिपय निर्माण कार्य चलिराखे तापनि बिगत दुई महिनादेखि शालिग्राम संग्राहालयलाई भने सन्चालनमा ल्याइएको छ र शनिवार सरदर ३०० र अन्य दिन १०० जनाका दरले संग्राहलय हेर्न जाने गरेका छन । ६ करोड अनुमानित खर्च लाग्ने यो परियोजनाले पूर्णता प्राप्त गरेपछि यस्ले बाग्लुङको पर्यटन उद्योगलाई ठूलो टेवा दिने कुरामा सन्देह छैन ।
***श्रेष्ठ लुम्बिनी-कपिलवस्तु दिवस अभियान विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार हुनुहुन्छ । र, यो सामग्री हामीले उहाँको फेसबुकबाट लिएका हौं ।