बेलायत पुगेर कोठा भाडामा पाएपछि सामान थन्काएर सुत्ने बेलामा ढोकामा चुक्कल लाउन पर्यो भनेको त चुक्कल नै थिएन ।

Spread the love

चुक्कुल नै थिएन !! (साहित्य)

– गोविन्द बेल्वासे
बेलायत पुगेर कोठा भाडामा पाएपछि सामान थन्काएर सुत्ने बेलामा ढोकामा चुक्कल लाउन पर्यो भनेको त चुक्कल नै थिएन । अल्लि अघि ट्वाइलेट भित्र छिर्दा पनि भित्रबाट चुक्कल खोजेँ । भेटाइन । चुक्कल नै थिएन । यूनिभर्सिटीको यूनियनमा विद्यार्थीलाई कोठा भाडामा दिनेहरुको लिस्ट र फोन नम्बर सूचना पाटीमा टाँसिएको रहेछ । त्यसैबाट फोन गरेर उनको घरमा पुगेर कोठा भाडामा लिएको थिएँ । दुई दिन पछिको कुरा हो, चुक्कल नलगाइ दीर्घसंका (ट्वाइलेट) गर्दै थिएँ । ढोकामा ट्वाक…ट्वाक… को आवाज आयो । अलि हतारिएर कर्म टुङ्गाएर निस्कँदा घरभेटी अलि कुप्रि परेर कुरिरहेका रहेछन् ।

उनले हतारिँदै भने ‘सरी.., आई वाज डाइङ’ उनले छेरौटीले अत्याएर खटाउनै नसक्ने स्थितिले गर्दा ढोका ढक्ढकाएकोमा माफि माग्दै गरेको भाव बुझिहालेँ । कनि कुथी अङ्ग्रेजीमा सम्बाद गर्न सक्ने भए पनि स्थानीय बोलीचालीको लवज सिक्ने मेरो राम्रो आवसर पनि भएको थियो, उनको त्यो लवज । बेलायत पुगेको भरखर केही दिन मात्र त भएको थिए ।

भाषाको कुरा भन्दा पनि त्यो ट्वाइलेटमा भित्रबाट अड्काउने छिस्किनी मैले भेटाउन नसकेको हिनताबोध भित्र कुम्सिरहेको थिएँ, म । उनले ढोका नढकलेर ट्वाक..ट्वाक पारेको आवाजबाट मलाइ छिटो ढोका खोल्न अत्याएका थिए । उनको ट्वाक…ट्वाक…को मतलव बेलायतका खैरेका घरमा चुक्कल नै हुँदोरहेनछन् भन्ने बुझेर ढुक्क भएँ ।

अँझ आधा दशकपछि ऋण–धन गरेर बेलायतमा खैरेको घरलाई आफ्नो भन्ने बनाएर घर किनेपछि भित्र पस्दा न ट्वाइलेटमा चुक्कल थियो, न कोठाहरुमा नै छिस्किनी थिए । घर किन्ने भनेर हेर्न आउँदा चुक्कलको ख्याल नै गरिएन छ । घर सरेको पहिलो दिन त सामान थन्काउँदा थन्काउँदै चुक्कल किन्न जाने समय पनि मिलेन । भोलिपल्ट भने पहिलो महत्वपूर्ण काम भनेको चुक्कल र पेचकस किनेर ल्याएर पाइखानामा चुक्कल ठोक्नु नै भयो ।

जन्मन त म तराइमा जन्मिएँ । सुत्केरी अवस्थाबाट अलि तङ्ग्रिएपछि आमा घोँडामा र मलाई डोकामा बोकेर पहाडको घरमा लागिएको थियो रे । त्यस पछि म पहाडमा हुर्किएकोले मैले सम्झने जीवनमा सवैभन्दा पहिला देखेको चुक्कल भनेको हाम्रै गाउँका कर्मिले बनाएको ढोका भित्रको काठको आग्लो र ढोका बाहिरको साङ्लो हो । मुल ढोकामा साङ्लो लगाएर कुचीले बन्द गर्न मिल्ने गरी बनाइएको थियो । गोलो पारेको र बीचमा कुची पसाउन मिल्ने साङ्लोको एउटा टुप्पो छिराउन मिल्ने गरी संघारमा ठोकिएको भाग र ढोकाको दुईटै कप्टेरामा साङ्लाको अर्को टुप्पो जडान गरिएको थियो । दुईटै कप्टेराको साङ्लाका टुप्पा जोडेर सङ्घारमा ठोकीराखेको भागमा छिराएर बन्द गर्नेगरी बनाइएको थियो । भित्र पट्टिको आग्लो भने ढोकाको एउटा कप्टेरो तिरको काठको कप्टेरो सारेर अर्को कप्टेरो भित्रको बीचमा प्वाल पारेको काठकै भागमा छिराएर ढोका बाहिरबाट धकेलेर खोल्न नमिल्ने गरी लागइएको हुन्थ्यो ।

मधुस भनेको गाउँकै उत्पादन भएको काठको बाकस हो । आमाको मधुसमा माथिबाट ढप्काएको कप्टेरामा झुण्डाएको साङ्लो पनि ढोकाको जस्तै फलामे प्वालमा छिराएर कुची झुण्डाइएको हुन्थ्यो । त्यो मधुस अझै पनि हाम्रो तराइको घरमा सुरक्षित छ । त्यो कुची अहिले बजारमा पाइने विभिन्न प्रकारका ताला (लक) भन्दा अलि भिन्दै थियो । स्थानीय इन्जिनियर (कामी)ले आरनमा फलाम तताएर रातो पारेपछि घनले ठोकेर बनाएको फलामको कालो रङ्गले मजबुतीको ध्वास देखाए जसरी झुण्डिएको हुन्थ्यो । त्यसको साँचो पनि झण्डै आधा पाउ जति त हुन्थ्यो । साचो र कुचीको पुरै वजन त आधा किलो भन्दा धेरै नै थियो होला । अहिले त्यो कुची हाम्रो घरमा छैन, कतै संग्राहलयमा त्यस्ता कुचीहरु सुरक्षित राखिएका होलान भन्ने अनुमान गरेको छु।

हाम्री आमाको बहुमुल्य बस्तु सुरक्षित राख्ने मधुस जस्तै राजा महाराजाहरुको फलामका तिजौरी हुने गर्थे । हालै भारतको उत्तर प्रदेशको रामपुर जिल्लाको एउटा तिजौरी (फलामे बाकस) खोल्न अदालतले आदेश त दियो तर गैस कटरले समेत खोल्न नसकेर फर्किए । पछि अदालतले वेल्डरलाई खोल्ने जिम्मा दिए पछि गत हप्ता ७ मार्चमा बल्ल खुल्यो । तिजौरीको ताला खोल्न नसकेपछि जसरी भए पनि खोल्न लाग्दा भित्ताको कुनै पनि भाग खोल्न सकिएन । नवाबका सन्तानहरुका बीचमा अंशबण्डाको झगडाले साचो हाराएको उक्त तिजौरी विषयको मुद्दाको फैसला भयो । त्यो तिजौरी भित्र रहेको अकुत सम्पत्ति १६ जनालाई बाड्न अदालतले खोल्ने आदेश दिएको थियो । तर, वेल्डरले बल्लबल्ल खोलेको उक्त तिजौरीमा कुनै पनि महँगो बस्तु भेटिएन । सन् १९२०मा चब कम्पनीले उक्त तिजौरी बनाएको थियो ।
आमाको मधुसको त्यो कुची पनि त्यस्तै बलियो देखिन्थ्यो । त्यो कुची कति मजबुत थियो त थाहा भएन, तर भावनामा भने मजबुत थियो त्यसैले त आमाको मधुसका सामान कहिल्यै चोरी भएनन् । घरपरिवार र घरधन्धाको काम सघाउने सवै ब्यक्तिका लागि कालो रङको त्यो मधुस अकुत धनराशिले भरिएको भन्ने बुझाइ थियो । बुवाकी खजाञ्ची (क्यासियर) पनि आमा हुनुहुन्थ्यो र मधुस उहाँको सुरक्षित सेफ (तिजौरी) थियो ।

पहाडको घरमा मात्र होइन म स्कूल पढ्ने भए पछि तराइ बस्न थाल्दा पनि घरमा बलियो ताला खासै लगाउने चलन थिएन । साङ्लो अड्काएको ढोका खोलेर चोरी हुने डर हुन्थेन । त्यो गाउँले समाज नैतिक र चोरी गरे पाप लाग्ने धार्मिक भावनाले छपक्के भिजेको थियो त्यसैले सवै सुरक्षित हुन्थ्यो ।

पछि बुटवलमा घर बनाउन जग हालेपछि श्रीमती सिकिस्त विरामी भएपछि त्यो वर्ष घर माथि उठ्न सकेन । अर्को वर्ष घर बनाउन भन्दै जाँदा रातिमा आएर जगमा जोडिएका पिलरको लागि बाँधिएका फलामका छड काटेर चोरी गरेर लगेछन् । अर्को वर्ष काटिएका छडका टुप्पामा वेल्डिङ गरेर नयाँ छड जोडेर पिलर जडान गरेर घर बनाउन पर्यो ।

घर बनेपछि अलि वर्ष पछिको कुरा हो । बुटवलमा गर्मी धेरै हुने हुनाले घरको बरण्डामा खुला हावा छिरोस भनेर ग्रिल लगाएका थियोँ । राति हामी सुतेको समयमा त्यही बरण्डामा सुकाएका कपडा जति बाहिरबाट चोरले ग्रिलको प्वालबाट लामो लठ्ठी (सायद) ले तानेर चोरेर लगेछन् ।
पहाड र तराइका गाउँमा बसोबास हुँदाको सुरक्षित बातावरण बुटवलको बजारमा आउँदा हरायो । काठमाण्डौमा अझै अघिबाटै हराइसकेको थियो । तर, बेलायत पुग्दा खैरेको घरका कोठामा चुक्कल नहुँदा त्यही गाउँको सुरक्षाको झल्को दिलायो । त्यो भावना मनमा गडेर बसेको छ ।