डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ को आफ्नो फेसबुक वालमा संदेशमुलक लेख :
अहिले बाताबरण निकै मनमोहक छ, रुखले पालुवा लगाएका छन् । चराहरुको चिरबिरले बसन्त ऋतुलाई रंजन गर्दैछन् । स्वच्छ हावा बहिरहेको छ । क्षितिजमा हिमाल मुस्कुराएका छन् । डाँडकाँडाले हरियो पछ्यौरा ओढेका छन् । आकासमा जुनतारा चम्किएका छन् । कतै पनि धुलो, धुँवा तथा कोलाहल छैन । पशुपंक्षी तथा बनस्पतिले आफूलाई सुरक्षित ठानेका छन् ।
घरको खाना, आराम तथा धपेडीविहिन जीवनशैलीको कारण मान्छेहरु स्वस्थ छन् । ब्यस्त मान्छेहरु पनि परिवारसँग मिठा पल व्यतित गरिरहेका छन् । अस्पताल, क्लिनिक तथा स्वास्थ्य केन्द्रहरु रित्ता छन् । प्रदुषणको कारण हाम्रा आँखा, छाला तथा श्वासमार्गमा एलर्जी भएको छैन, रुघाखोकी लागेको छैन, सास फेर्न गाह्रो भएको छैन, फोक्सोमा प्रचुर अक्सिजन भरिएको छ । जंक फुड, रेस्टुरेन्ट तथा होटलका कृत्रिम खानाले कसैको पनि पेट बिगारेको छैन । पाचन प्रणाली आफ्नो लयमा फर्किएको छ । कामको तनाब, दिनचर्याको तनाब तथा ट्राफिक जामको तनाब शुन्यप्राय छ ।
लाग्छ, सधै जीवन यस्तै थियो । धुलो, धुँवा, हिलो, चर्को आवाज, कोलाहल कहिल्यै थिएन र अब हुने छैन । सहर पहिलोपटक गाउँ भएको छ । हामीसँग भएका सामग्री आफैलाई बढी भएको छ । कुनै कपडा किन्ने रहर छैन । बाहिर खाने इच्छा छैन । कसैलाई भेट्ने चाह छैन । मनमा एक तमासको डर छ । आँखाले नदेखिने कोरोना भाइरसले पृथ्वी ठप्प पारेको छ । आफ्ना हातसँग शंका छ, आफ्ना घरका सामानसँग शंका छ । आफन्तसंग शंका छ, मान्छेसँग भेट्नु नपरे हुन्थ्यो जस्तो लागिरहेको छ ।
अत्यास छ, यो भाइरसको तानाशाही सत्ता कति लम्बिने हो ? भान्सा रित्तिएपछि के खाने हो ? औषधि पाइने हो कि हैन ? पानी पिउन कहिलेसम्म पाइने हो ? कथम्कदाचित बिरामी भए के गर्ने हो ? बिभिन्न किसिमका भाडा कसरी तिर्ने हो ? कहाँबाट पैसा ल्याएर किस्ता तिर्ने हो ? यो कोरोना शासन ढल्ने बेलासम्म आफ्नो जागिर रहने हो कि गइसक्ने हो ? एउटा सिटामोल किन्न जाँदा प्रहरीको लाठी खान पर्ने कहिलेसम्म हो ? हिड्दाहिड्दै बीच बाटोमा रोकिएका पाइला कहिलेदेखि अगाडि बढाउने हो ?
तर, धैर्यताको बिकल्प छैन । नयाँ दिन आउन यो रात ढल्नुको बिकल्प छैन । तर, कति लामो रात हो यो ? चिन्ताको कुनै अर्थ छैन, जीवनमा जे जे आए, ती स्वीकार्य भए । तीता पल, मिठा पल, सुन्दर पल, कुरूप पल, अब आउने पल पनि स्वीकार्नुपर्छ । चुपचाप सहनुपर्छ, चुपचाप । प्रकृति बदलियो अब स्वीकृति बदलिनु जरुरि छ । शक्ति, बैभव र प्रगतिको परिभाषा बदलियो अब हामीलाई त्यसलाई हृदयंगम गर्नु जरुरी छ । सुरक्षाको परिभाषा बदलियो, शत्रुको परिभाषा बदलियो, मित्रको परिभाषा बदलियो, छनोटको परिभाषा बदलियो । अब हामीले आफुलाई पढ्नु जरुरी छ, को हुँ भनेर चिन्नु जरुरी छ ।