रमेश ढकाल भद्रपुर झापा (हाल दोहा, कतार)
करोनाभाइरस नफैलियोस् भनेर अहिले अधिकांश देशहरूमा लकडाउन जारिछ। यो बेला आकासमा उड्ने हवाइजहाज देखि जमिनमा गूड्ने रेल, बसगाडी आदि सबै ठप्प छन्। मानिसहरुको आवागमन पनि एकतरिकाले सम्पूर्ण रुपमा नै रोकिएको अवस्था छ। चौबीसै घण्टा ब्यस्त देखिने शहरहरुमा अहिले सन्नाटा छाएको छ।
शहरहरुमा मानिसहरूको गतिविधि न्युन भए संगै नजिकैका वनजङ्गलवाट बन्यजन्तुहरु निस्किएर शहर पस्न थालेका छन् भन्दै केहिदिन पहिला बीबीसी न्युज नेपालीले चिलीको सन्टिआगे, श्रीलङ्काको ट्रिङ्कोमली, न्युजील्यान्डको क्राइस्टचर्च, फ्रान्सको प्यारिस, ब्रिटेनको ल्यान्डड्नो, अमेरिकाको शिकागो लगायतका शहरहरुमा निस्फिक्री संग बन्यजन्तुहरु घुम्दै गरेका भिडियो क्लिप सामाजिक संजालको आफ्नो साइटमा राख्रेको थियो।
खैर, अहिले संसारभरीकै मनिसहरुले यो लकडाउनलाई गम्भीरतापूर्वक लिएको देखिन्छ जुन अत्यन्तै साकारात्मक छ। किनभने सम्बन्धित खोप अथवा औषधी पत्ता नलागुन्जेल सम्मका लागि यो लकडाउननै एउटा त्यस्तो शस्त्र हो जसले भाइरसलाई फैलिन बाट रोक्न सक्छ। त्यसैले अहिले हामी सबैले थोरै दुख नै सहेर भए पनि लकडाउनको पालना गर्नुको अर्को विकल्प छैन।
अहिले यो डरलाग्दो महामारीको केही सकारात्मक सङ्केत हुन सक्छ भने त्यो हो हामीले सास फेर्ने हावाको गुणस्तरमा भने केही सुधार आएको छ। अहिले संसारका अधिकांश औद्योगिक गतिविधि संगसंगै यातायातका साधनहरू पनि बन्द रहेका कारणले वायु प्रदूषण हुन बाट जोगिएको छ। यूरोपियन स्पेस एजेन्सीले भर्खररै गरेको एउटा अध्ययनका अनुसार गत बर्षको यही समयको तुलनामा अहिले एशिया र युरोपका शहर तथा औद्योगिक क्षेत्रहरूमा वायु प्रदुषणको मात्रा चालीस प्रतिशतले काम भएको भनिएकोछ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार वायु प्रदूषणका कारण प्रत्येक वर्ष विश्वभरी सत्तरी लाखको हाराहारीमा मानिसहरुको ज्यान जाने गरेको छ। डब्ल्यूएचओको तथ्याङ्कका अनुसार प्रत्यक १० जना मध्ये ९ जना मानिसहरु प्रदुषित हावामा सास लिन बाध्य छन्। शहरी क्षेत्रहरुमा बस्ने अस्सी प्रतिशत भन्दा बढि मानिसहरु प्रदुषित हावामा सास लिन्छन्। यस्तो अवस्था अझ कम आय भएका देशहरूमा झनै खराब छ, त्यहाँका अन्ठ्ठानब्बे प्रतिशत शहरहरुमा वायुको गुणस्तर डब्ल्यूएचओले सेट गरेको भन्दा न्युन छ अर्थात प्रदूषित छ। विश्व बैंकका अनुसार वायु प्रदुषण रोक्नका लागि मात्र वर्ल्डवाइड बार्षिक पाँच ट्रिलियन (पचास खरब) अमेरिकी डलर निकासा हुनेगरेको छ।
वायु प्रदुषणको समस्या नेपाल लागायतका दक्षिण एसियाली देशहरूमा निक्कै चुनौतीपूर्ण रहेको छ। वायु प्रदूषण मापन गर्ने कम्पनी आईक्यूएयरको वेबसाइटमा मैले यो लेख तयार पार्दै गर्दा हाम्रो काठमाण्डौ शहर संसार भरिका प्रमुख शहरहरु मध्ये वायुको गुणस्तर तथा प्रदूषणका हिसाबले सातौं स्थानमा देखिदै छ। त्यसै गरेर सबैभन्दा प्रदूषित क्यापिटल शहरहरु मध्ये काठमाण्डौ छैठौं स्थानमा छ भने सम्पूर्ण देशहरुमा नेपाल एघारौं स्थानमा।
तुलनात्मक हिसाबले अहिलेको हाम्रो अवस्था छिमेकी मुलुकहरुको भन्दा केही राम्रो भए पनि बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने कुरामा हामी अहिले बाट नै गम्भीर नबन्ने हो भने निकट भविष्यमा घर बाट बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने अवस्था आउन धेरै समय लाग्दैन। त्यसै पनि हाम्रो राजाधानी शहरमा त अहिले पनि मास्क नलगाइकन बाहिर हिंड्न सक्ने अवस्था छैन।
अहिले यो महामारी बाट जोगिनका लागि घरभित्रै बस्नु परेको छ। अत्यावश्यक कामले बाहिर निस्कनु परे पनि माक्स लगाएर मात्र निस्कने गर्छौं। यो त भाइरस संक्रमण बाट बच्नका लागि भयो। तर हामीले हरेक पल सास लिने हावा आज जुन गतिमा प्रदुषित बन्दै गएकोे छ, यसलाई रोक्न सकेनौं र यो यसरीनै प्रदुषित बन्दै जाने हो भने निकट भविष्यमा अहिले काठमाण्डौमा जस्तै हाम्रो देशका अन्य शहरहरुमा पनि माक्स नलगाइ बाहिर निस्कन असम्भव हुनेछ।
डब्ल्यूएचओले उल्लेख गरेको वार्षिक मृत्यु दरको तथ्याङ्कलाई हेर्ने हो भने विश्वव्यापीरुपमा वायु प्रदुषणका कारण अथवा सास फेर्ने हावा प्रदुषित भएका कारणले लाग्ने रोग तथा त्यसबाट हुने मृत्युको संख्या आजको यो महामारीका कारण हुँदै गरेको मृत्युको संख्या भन्दा कयौं गुणा धेरै छ। यसले के स्पष्ट पार्छ भने प्रदुषित वायुको प्रकोप कोरोना भाइरस भन्दा पनि खतरानाक छ।
अक्सिजन याने वायु जसलाई प्राणवायु वा अमृतवायु पनि भन्ने गरिदो रहेछ। यस्तो अक्सिजन रुखपात बोटबिरुवा बाट प्रात हुन्छ भनेर हामी सबैले जानेकै कुरा हो। तर ति सबै रूख बिरुवाहरुको दाँजोमा सबै भन्दा धेरै अक्सिजन पीपलको रुख बाट प्राप्त हुन्छ भन्ने कुरा चै हामी सबैलाई थाहा नहुन पनि सक्छ। पीपलको रुखको अतिरिक्त नीम, तुलसी, एलोवेरा, जबेरिया, सान्सेभेरिया, शलम्बरगरस, एरेका पाम, अर्किड लगायतका फुल तथा रुखबिरुवाहरु बाट अन्य रुखबिरुवाहरुको तुलनामा धेरै अक्सिजन प्राप्त गर्न सकिन्छ भनेर विकीनर्सरी वेबसाइटमा उल्लेख गरिएको छ।
अहिले लकडाउनका कारण हामी सबै आआफ्नै घर भित्र सिमित छौं। यो तथा सम्बन्धित अन्य कारणले अहिले केही हदसम्म वायु प्रदुषण हुन बाट जोगिएको छ। तर यसरी सधैंभरी चल्दैन। घरमै सिमित भएर बस्दा सुद्ध हावामा सास लिन त सम्भव होला तर जीवननिर्वाह सम्भव छैन। यो महामारी केही कन्ट्रोल भए संगै हामीलाई बाहिर निस्कनु छ। जिविकोपार्जनका खातिर काम गर्नुछ। त्यो बेला अहिले बन्द रहेका जहाज बसगाडी देखी उद्योगधन्दा सबै पुन सुरुहुनु संगै मानिसहरुको आवागमन पनि सुचारु हुनेछ र यो सबैको प्रभाव पुन वातावरणमा पर्न सुरुगर्ने छ। यो प्रकृया आउँदा दिनहरुमा अझ तिब्र गतिमा बढ्दै जाने निश्चित छ। किनभने सन् २०२२ सम्ममा एउटा विकासोन्मुख देशको रूपमा स्थापित हुने सरकारको लक्ष्य रहेकोछ। त्यसैले यदि हामीले अहिले बाट नै वायुलाई प्रदुषित हुन बाट जोगाउने बिषयमा गम्भिर भएर नसोच्ने हो भने आउँदो पुस्ताले यसको अपूरणीय क्षति भोग्नु पर्ने पक्का छ।
वायुलाई प्रदुषित हुन बाट जोगाउनका लागि हामी हाम्रो व्यक्तिगत स्तरबाट पनि थुप्रै कुराहरु गर्न सक्छौं जस्तो घर परिसरमा जम्मा हुने झारपात प्राय हामी जलाउने गर्छौं। यो क्रममा पाल्स्टिक तथा रबर जन्य पुराना बस्तुहरु पनि जलाउने गर्छौं जुन मानव स्वास्थ्य संगसंगै सम्पूर्ण पर्यावरणका लागि नै अत्यन्तै हानिकारक हुनेगर्छ। त्यसैले सकेसम्म घर परिसरमा जम्मा हुने फोहोर तथा झारपात जलाउने भन्दा पनि कुहाएर मल बनाउने गरौं। जलाउनै पर्दा पनि झारपातलाई राम्रो संग सुकाएर मात्र जलाउने गरौं, यसो गर्दा प्रदुषित कालो धुवाँ निस्कदैन वा थोरै मात्र। पाल्स्टिक, रबर, कांच लगायतका नसड्ने बस्तुहरुलाई नपा गापले ब्यवस्ता गरेनुरुपको सुरक्षित स्थानमा डम्प् गरौं। प्लास्टिकका झोलाहरुको प्रयोग बन्द गरौं। घर नजिकैका हाटबजार चोक निस्कदा सम्भव भएसम्म बाइक कारहरुको प्रयोग नगरौं। घर तथा सडकमा बिजुलीबत्ती लगायतका ऊर्जाहरु बेकारमा बलेर खेर नजाउन भन्ने कुरामा सजक बन्ने लगायतका कुराहरुलाईे अवलम्बन गर्ने हो भने वायु प्रदुषण रोक्नका लागि ठुलो सहयोग पुग्ने छ तर यो मात्र पर्याप्त भने होइन।
अहिले जारी लकडाउनलाई हामी वायु प्रदुषण रोक्नका लागि एउटा अवसरको रुपमा प्रगोग गर्न सक्छौं। यसका लागि सबै भन्दा महत्वपूर्ण कदम भनेको विभिन्न फुलफुल तथा रुखपातका बोटबिरुवाहरु रोप्नु हो जसका लागि अहिलेको मौसम पनि अत्यन्तै अनुकुल छ।
अहिले परिवारका सबै सदस्यहरु घरमै बसेको अवस्था छ। घर बजारमा सब्जिपातहरुको अभाव भएका बेला हामी आँफै पनि केही सागपात बोटबिरुवा लगाउन सक्छौं। यसो गर्नाले पर्यावरण त जोगिनेनै भयो साथै साथ आँफैले उब्जाएका ताजा सागसब्जी पनि खान पाइने। तर यो भन्दा पनि महत्वपूर्ण कुरा के हुन सक्थ्यो भने यदि अहिलेको यो समयमा यदि देश भरीका गाउँ तथा नगरका स्थानिय जनप्रतिनिधीहरुले खास गरेर हरेक वडाका अध्यक्ष सदस्यहरुले स्थानीय वन समिति, कृषि फार्म तथा नर्सरीहरु संगको समन्वयमा हरेक गाउ तथा टोलहरुमा सुलभता संग विभिन्न फुलफुल तथा रुखपातका बोटबिरुवाहरु वितरण गरिदिने हो भने यसले बायु मात्र हैन समग्र वातावरणलाई नै स्वच्छ राख्न ठुलो सहयोग पुग्ने थियो।
यो बिषयमा सम्बन्धित निकाय लगायत हामी आमनागरिकहरु बेलैमा सचेत नहुने हो भने निकट भविष्यमा प्रदुषित वायु इन्हेल् गर्नाले हुने बिमारीहरुका कारण अहिले कोरोनाले निम्त्याएको भन्दा पनि खतरानाक महामारीको सामना गर्नु पर्ने पक्का छ। त्यसैले, समयय छंदै सचेत बनौं, बोटबिरुवा रोपौं पर्यावरण जोगाउ।
रमेश ढकाल
भद्रपुर झापा (हाल दोहा, कतार)
(इनेप्लिज)
dhakalrp@gmail.com