माता तिर्थ ओसी को महत्व : डा पुरुषोत्तम पौडेल

Spread the love

आमा श्रृष्टी कि मुल हुन् । मानिस आमाकै कोखबाट आकार लिएर यस धर्तिमा आमाकै शरिरवाट नै निस्केर यस पृथ्बीमा प्रबेश गर्दछ । यदि आफ्नो कोखवाट सन्तान भएन भने वा आफ्नो सन्तान गुमाउन पर्यो भने आमा जिबन भर संतापमा पर्छिन् । पृथ्बीमा खस्न नपाउदै मानिस आमाको न्यानो गोदमा आश्रय लिन्छ । आमाको शरिरवाट निस्केर नै मानव श्वास फेर्न, रुन र खानपान पान गर्न सिक्दछ । आमाले आफ्नो जिबन भन्दा आफुले जन्म दिएको शिशुलाई स्याहार्न आतुर हुन्छिन् । यसरी शुरु हुन्छ मानिसको आमा संगको बात्सल्यता ।

आमा सबै कुरा छोडेर आफ्नो सन्तानको भोक, तिर्खा, जाडो वा गर्मी, सुत्न अप्ठेरो, अरु जिबका कारण अशुरक्षा वा बिसन्चो आादि कुरामा हरपल चिन्तित रहन्छिन् । आमाको दुध धर्म ग्रन्थहरुमा भनिएको जस्तै “अमृत” गुुुणमय छ । यसैले बच्चाको भोक, तिर्खा, ओषधी, भिटामिन र मिनरल्स् सबै पुर्ति गर्दछ । आमा रोगी भए पनि आमाको दुध पानकै कारण बच्चामा रोग सर्छ भन्ने प्रमाणहरु पाईदैन । बरु आमाको दुध खान नपाएको बच्चा दुप्लो पातलो, कुपोषित र रोग संग लड्ने क्षमता कम भएको हुन्छ भनिन्छ । त्यति मात्र कहा हो र आमाले सन्तानको शारिरिक तन्दुरुस्तीको लागि नुहाई धुवाई, सरसफाई राखेर र तेलले मालिस गरेर सन्तानलाई बलियो र सुगठित बनाई राख्छिन् ।

आमाको न्यानो काखमा नै सबै उमेरका सन्तानले स्वर्गिय आनन्द प्राप्त गर्दछन् । आमाको काख र सामिप्यतामा सबै भय, त्रास, दुःख र पिडा रहित हुन्छ । कुनै असुरक्षा महसुस भयो भने बच्चा दगुरेर आमाकै काखमा पुग्दछ । आमाले आफ्नो सन्तानलाई सधै अंकमाल गर्न, आफ्नो आखा ले अतृप्त हुने गरि हेरिरहन र उ संग खेलिरहन चाहान्छिन । सन्तानहरु साना छदा कारणवस आफुवाट नदेखिने गरि वरपर भयो भने उनि आत्तिन्छिन् र सन्तानको पिर लिन्छिन् र संतापमा पर्छिन् । आफ्नो प्राण रहुन्जेल सम्म एउटा आमाले आफ्नो सन्तानहरुलाई आफ्नै आखा अगाडि देख्न र राख्न चाहान्छिन् । एउटा आमा र सन्तानको बिचको सम्बन्ध कसैले सिकाउनै नपर्ने, अटुट र बिना सर्तको प्रेममा जेलिएको हुन्छ ।

जब मानिस बढ्दै जान्छ, उसलाई ठोस् कुरा खान, बोल्न र हिडडुल गर्न सिकाउने पहिलो पाठशाला पनि आमा नै हुन्छिन् । घाउचोट लागेमा प्राथमिक उपचार गर्ने पनि उनै हुन् । आफ्नो सन्तानलाई कति खेर भोक वा तिर्खा लाग्छ भनेर बुझ्ने, के मन पर्छ भनेर बुझ्ने र खुसी पार्ने पनि उनै आमा हुन् । सन्तानमा आफ्नो आमाको छहारी जबसम्म रहन्छ र जबसम्म आमा शारिरिक रुपमा सामार्थ राख्छिन् तब सम्म सन्तानले भोकै भएर र दुखी भएर रहन पर्दैन । सन्तानको भोक तिर्खा र थकाई सबैमा उनि सधै परिचित रहन्छिन् । आमालाई सन्तानको सहयोग तव मात्र चाहिन्छ जब उनी रोगले ग्रस्त भईन् वा शारिरिक रुपमा असक्त भईन् । तर पनि उनि आफुले सके सम्म आफ्ना सन्तानलाई दुःख दिने पक्षमा हुनन् । उनि आफ्ना कुनै सन्तनलाई भिन्न र प्रेममा तलमाथी देख्दिन् । एउटा आमाले सन्तानको लागि ठुलो तपस्या, कठिनाई, योगदान गरेकि हुन्छिन् ।

म, मेरी आमाकै रेखरेखमा हुरेके बढेको मानिस हुं । आमाले मेरो लालन पालन कै क्रममा धेरै दुःख, कष्ट, पिडा, थकान, पानी, हुरी, बतास, उकालो ओरालो सबै सहन गर्नु भयो । आफ्नो जिबन भन्दा बढी महत्व मलाई दिनु भयो । आमाले कहिलै मेरोलागि केहि कमि हुन दिनु भएन । सधै आफ्नो ममता, करुणा र सितलता प्रदान गरिरहनु भयो । मेरो शिक्षा दिक्षाको लागि जोड दिईरहनु भयो । मैले काम गर्दा सधै मलाई आफ्नो ख्याल गर भन्नु भयो । मेरै राम्रो होस् भनेर कामना मात्र गरि रहनु भयो । मनमा माया स्नेह हुदा हुदै पनि आफ्नो मनलाई ढुंगा जस्तो बनाएर मलाई पढ्न आफु भन्दा टाढा पठाउनु भयो । हुन त मैले आमा समानकै माईजुहरु पाएको थिएं । मेरी आमाले आफुले धेरै दुःख र कष्टहरु सहेर मलाई निरन्तर माया र उज्यालो छरिरहनु भयो । आमाको ममता र स्नेहमा कहिलै कमि नआउने रहेछ । जब म बिरामी हुन्छु आमालाई निन्द्रा पर्दैन । जब म कुनै कारण दुःखी हुन्छु आमालाई झन बढि दुखी देख्छु । आमाका जिबनका अनुभब, ज्ञान र सान्वनाले मेरा मानसिक दुःखहरु बिलाएर जान्छन् ।

कुनै कारणले आमाको साथ छोड्न पर्दा मलाई दुःख लाग्दथ्यो । स्नातकोत्तर पढ्न काठमाण्डौ जांदा बाटो भरी चित्त दुखाउदै गएको याद आउछ । लाग्थ्यो अब आमा संग बस्ने दिन कहिले आउला । त्यो समय देखि आफ्ना जिवनका परिस्थितीहरु संग जुद्दै परदेशिएको पनि लामो समय भैसक्यो । परिस्थितिले २-३ बर्षमा मात्र आमा संग भेट हुने अबसर जुटाउछ । दु:खी हुन्छु, अभागी ठान्छु । त्यो मानिस भाग्यमानी हो, जो आमाबुवा संग बस्न पाउछ । तर पनि फेरी सोच्दछु म पनि त भाग्यमानी नै छु नि दैनिक दर्शन नपाए पनि अझै समय समयमा आमालाई भेट्न पाउछु र दुःख सुखमा कुरा गर्न पाउछु सोसल मिडियामा देख्न पाउछु । यसैमा आनन्दित हुन्छु । आज पनि आमालाई फेसबुकमा मुख हेरेर शुभकामना भने र आशिर्वाद पांए । आमा संग कुरा गरेपछी रोग र चिन्ताले ग्रस्थ म दुखाई कम गर्ने ओषधी खाएको जस्तो आनन्द महसुस भएकोछ ।

हिन्दु कथामा आमाको महिमा ठुलो छ । पार्बतीले आफुले कल्पना गरेर बनाएको छोरालाई भगवान शिबले काटेर घर भित्र पस्दा पार्बतीले शोक र बिलाप गरिन् । पार्बतीको शोक दुर गर्न भगवानले हात्तीको टाउको जोरेर जिबित बनाईदिएर उनलाई खुसी बनाएको उल्लेख छ । हिन्दु धर्ममा देबी रुपलाई मां, माई, अम्मा भनेर आमाको दर्जामा आरार्धाना गरिन्छ । त्यस्तै कृष्चियन धर्ममा पनि जिसु स्क्राईष्ट र आमा मेरीलाई बराबर मान्ने गरिन्छ । यसवाट पनि अझ प्रष्ट हुन्छ आमा र सन्तानको अकाट्य सम्बन्ध ।

पुरानो ग्रीसमा पनि स्य्बेले ग्रीक देवताहरुको आमा थिईन् । उनको सम्मानमा “मातृ दिवस” मनाउन थालिएको भनिएकोछ । पुरानो रोममा पनि आमाको सम्मानमा मेट्रोनालिया बिदा मनाउने चलन भएको ईतिहासमा देखिन्छ । विकिपिडिया अनुसार आधुनिक “मातृ दिवस” वेस्ट भर्जिनियामा एना जार्भिसका द्वारा सबै आमाहरू तथा मातृत्वका लागि मुख्यरुपमा पारिवारिक एवं तिनको आपसी सम्बन्धहरू लाई सम्मान दिनका लागि आरम्भ गरिएको थियो जुन ८ मार्चमा पर्दछ ।

नेपालमा आज हिन्दू संस्कृति अनुसार वैशाख कृष्ण औंसीको दिन । यस दिनलाई “आमाको मुख हेर्ने दिन” वा “मातातीर्थ औंसी” को रूपमा परिचित छ । आमाबुवा लाई हिन्दु संस्कृतिले तिर्थको रुपमा लिएको छ । भगवान गणेशले आफु दुःखी भएको बेलामा आफ्ना आमावुवा शिब पार्वती लाई नै परिक्रमा गरेर तिर्थ ब्रत सबै मानेका कथाहरु पढ्न पाईन्छ । यो दिन यस भौतिक ब्यस्त जिवनमा काम बिशेषले र पारिवारिक कारणले आफ्ना आमासंग टाढा रहेका सन्तानहरुले कम्तिमा बर्षको एकपटक आमालाई भेट्ने अबसर पनि हो । साथै आमाको अबस्था बुझ्ने, खाने, लगाउने, बस्ने राम्रो ब्यवस्थाको सुनिश्चित गर्ने र आमालाई उपहार दिने र सद्भाव दर्शाउने दिन पनि हो । यस दिन नेपालमा जिबित आमा भेटेर मिठो खाना, कपडा, गहना र अन्य उपहारहरु दिएर सम्मान गर्ने गरिन्छ ।

नेपालमा स्वर्गिय आमाका लागि यस बैशाख कृष्ण पक्षको ओसीमा मातातीर्थमा स्नान गरि पोखरीमा दिवङ्गत आमाको मुख देख्न कोशिष गर्ने र श्राद्ध गरेर संझना गर्ने गरिन्छ । नेपालीन्युजपोष्ट डट कम लेख्दछ, द्वापर युगमा एउटा गाई चराउन आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी खान खोज्दा कुण्डमा खसेपछि कुण्डमा हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको थियो । ग्वाला घर फर्कन नमानेपछि कुण्डमा देखिएकी आमाले ती ग्वालालाई नरोऊ प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन हामी दिवङ्गत माताहरु यहाँ आउँछौँ तिमि हामीलाई हेर्न आउ भनेपछि त्यसैबेलादेखि त्यो ठाउँमा दिवङ्गत आमाको दर्शन गर्न मेला लाग्न थालेको जनविश्वास छ ।

माता तिर्थमा आमालाई संझना गर्न भनि धेरै आमा गुमाएका र अन्य भक्तजनहरु दर्शन गर्न जान्छन् तर आमा र भगवानलाई चढाउने नाउमा जथाभाबी पोखरी र वरपर अन्नपात, फलफुल, फुलपाती र खुद्रा पैसा अब्यबस्थित रुपमा चढाउने, चडाएको बस्तुहरुलाई जथाभाबी फालेर छोड्ने गरेको देखिन्छ । त्यसवाट अन्नपात र फलफुल सडेर नोक्सान हुने र पर्यावरण पनि बिग्रने हुदा ति बस्तुहरु स्वर्गिय आमाहरुको नाममा दिन दुःखीलाई श्रद्धापुर्वक दिदा स्वर्गिय आमाहरुका आत्माले चढाईएको बस्तुहरु सदुपयोग हुने र स्वर्गिय आमाहरुको आत्माले पाउने र आफ्ना सन्तानलाई आशिर्वाद दिने बिश्वास लिन पर्दछ ।

अन्तमा मेरी ममतामयी आमा लक्ष्मी देबी पौडेल र सबै सम्मानित नेपाली आमाहरुलाई हार्दिक सम्मान र धेरै धेरै शुभकामना ।

डा पुरुषोत्तम पौडेल