लन्डन : इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणबाट बाहिरिएको छ । शुक्रबार राति ओल्ड ट्राफोडमा भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोसँग पेनाल्टी सुटआउटमा ८–७ ले पराजित भएपछि म्यानचेस्टर युनाइटेड एफए कपबाट बाहिरिएको हो ।
निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । १६ वटा पेनाल्टी प्रहारपछि मिड्ल्सब्रोले रियल म्याड्रिडलाई स्तब्ध
पारेको हो ।
पेनाल्टीमा युनाइटेडका युवा स्ट्राइकर एन्थोनी एलंगा गोल गर्न चुकेका थिए । उनको प्रहार पोस्ट्माथिबाट बाहिरिँदा मिड्ल्सब्रोका करिब नौ हजार समर्थक खुसीले उफ्रिएका थिए । च्याम्पियनसिप क्लब मिड्ल्सब्रोले प्रिमियर लिग क्लबलाई पराजित गरेको दोस्रो पटक हो । यसअघि सन् २०१५ मा मिड्ल्सब्रोले म्यानचेस्टर सिटीलाई स्तब्ध
पारेको थियो ।
म्यानचेस्टर युनाइटेडका बु्रनो फर्नान्डेज, क्रिस्टियानो रोनाल्डो, हेरी मग्वाएर, डिएगो डालोट, स्कट म्याकटोमिने, फ्रेड र हुवान माटाले गोल गरेका थिए । मिड्ल्सब्रोका मार्टिन पाएरो, प्याडी म्याकनेयर, ली पेल्टाएर, डेल फ्राई, डुनकान वाट्मोर, सोल बाम्बा, मार्कुस र जोनी ह्वाउसनले गोल गरेका थिए ।
खेलमा सुरुवाती अग्रता भने म्यानचेस्टर युनाइटेडले बनाएको थियो । २५औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसअघि २०औं मिनेटमा क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार बाहिरिएको थियो ।