काठमाडौं। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वर्षमान पुनले ‘अर्ली इलेक्सन’ को सम्भावना नभएको बताएका छन्। संसद भवनबाट आइतबार बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नै नरहेको उनले बताए।
उनले भने, ‘स्थानीय निर्वाचन वैशाखमा हुने भएपछि अब कार्तिक वा मंसिर नभई प्रतिनिधिसभाको निर्वाचन सम्भावना छैन। कानुनी रुपले, अभ्यासका हिसाबले, परम्परागत रुपमा पनि मंसिरपछि पाँच वर्ष पूरा भइसक्ने हुँदा यसपछि पनि निर्वाचन गर्न मिल्दैन। साथै, हाम्रो देशको भौगोलिक अवस्था, मौसम आदिले पनि दुई सिजनभन्दा बाहेक निर्वाचन गर्न सक्दैनौँ। अब अर्ली भन्दैमा भदौ असोजअघि निर्वाचनको सम्भावना छैन।’
उनले ५/६ महिनादेखि संसद अनिर्णयको अवस्थामा रहने र चल्न नसकेको अवस्थामा जनताका विषयमाथि नै छलफल गर्न नसक्ने भएकाले पार्टी नेतृत्वले यस्तो सोचेको हुनसक्ने बताए। सो क्रममा उनले अब स्थानीय निर्वाचन सार्ने सम्भावना पनि नभएको नभएको बताए। कानुनी रुपले र संवैधानिक रुपले पनि वैशाख महिना नै निकै ‘टाइट’ रहेको उनले बताए