जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) तनहुँ प्रहरीको हिरासतमा छन् ।
फागुन ११ मा बालिकाले दिएको जाहेरीमा २०७८ वैशाख १४ मा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित प्रदीप थापाको घरमा पलले बलात्कार गरेको जिकिर गरिएको छ । तनहुँ प्रहरीले घरधनी प्रदिप थापा र उनकी पत्नीसँग बयान लिएको छ । घरधनी दम्पतीले प्रहरीसँग भनेका छन्–‘त्यसदिन पल र बालिका सँगै बसेका हुन् ।’ घटना भएको दिन कमल खत्री भन्ने व्यक्ति सो घरको छुट्टै कोठामा बसेका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रदिप थापा दम्पतीले बालिकाको उजुरीलाई सहयोग पुग्नेगरी बयान दिएका छन् ।
पल शाहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि उजूरी परेको छ । बलात्कार मुद्दामा अनुसन्धान र बयानका लागि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले शाहलाई उपस्थित गराइदिन भन्दै तनहुँ प्रहरीलाई पत्र लेखेको छ ।
जिल्ला अदालत पूर्वी नवलपरासीले उनलाई पक्राउ गर्न छुट्टै पक्राउ अनुमति जारी गरेको छ । प्रहरीले पनि छुट्टै मिसिल तयार गरेको छ । पललाई केही दिनमा पूर्वी नवलपरासीमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
अनुसन्धानलाई प्रभावित पार्नेगरी सामग्री प्रसारण गर्न थालेपछि गृह मन्त्रालय र साइबर ब्यूरोको चेतावनी सँगै युट्युबरले तनहुँ छाडेका छन् । प्रहरीले कारवाहीको तयारी गरेसँगै युट्युबरले तनहुँ छाडेको तनहुँमा कार्यरत एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
मानव अधिकार आयोगले पनि अनुसन्धान प्रक्रियालाई प्रभावित प्रेस काउन्सिलले १६ युट्युब च्यानलमाथि अनुसन्धान गरेर कारवाही अघि बढाउन साइबर ब्यूरोलाई सिफारिस गरेको छ ।