काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले महिलाहरू ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताएकी छन्।
मंगलबार ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले महिलाले पाएको ३३ प्रतिशत अधिकारलाई लागू गर्दै बाँकी रहेको १७ प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताएकी हुन्।
उनले महिलाहरूले राजनीतिक, संवैधानिक र कानूनी रूपमा अधिकार पाए पनि व्यवहारिक रूपमा अधिकारको प्रत्याभूति हुन नसकेको बताइन्। छोरीहरूलाई छोरा सरह पैतृक सम्पतिमा अधिकार दिनेकुरा संविधान र कानूनमा उल्लेख गरिएको भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उनले बताइन्। कानूनमा पाएका अधिकारलाई जीवन व्यवहारमा लागू गर्नुपर्नेमा उनको जोड छ।