‘म हार्दै छु कमरेड’- आबेश कुमार श्रेष्ठ

Spread the love

एकनासको झरी परिरहेको थियो। कफीको कपमा कप थपिएको थियो। ‘ऋतुहरु तिमी हरियाली वसन्त हौँ, नदीहरुमा तिमी पवित्र गङ्गा हौँ …….’ क्याफेमा यही गीतले तरंगित गरिरहेको थियो। बाहिर झरीले उधुम मच्चाउँदै थियो भित्र उनको त्यो नयन, कफी र संगीतले मनको बहावलाई सन्तुलित गरिरहेको थियो।

हामी दुई विद्यार्थी राजनीति गर्दैगर्दा हाम्रो भेट भयो। यही राजनीतिको मार्क्सवाद, लेनिनवाद र माओवादले हामीलाई एकअर्काबाट सामीप्य बनाएको थियो। हामीलाई जोड्न वादहरू प्रयोग भएपनि हामी दुईको भावना जोड्न कुनै वाद कुनै प्रतिवादहरुको प्रयोग भएको थिएनन् ।

भावनाहरु स्वतन्त्र हुन्छन् गगन चुम्न उडेका चराहरु जस्तै। त्यस्ता भावानहरु कसैको सिद्वान्त र विचारमा बसेर कहित हुन रुचाउन्न उनी प्रति मेरो भावना त्यस्तो थियो, स्वतन्त्र।

‘कमरेड हामी विद्यार्थी राजनीतिमा लागेर गलत गर्दै छौं। भातृसंगठनमा आवद्व हुँदै गर्दा हामी हाम्रो पार्टीको गलत पक्षको विरोध गर्न सक्दैनौं। पार्टीको निर्णय सही होस् या गलत हामी पार्टीले जे गर भन्छ त्यही गर्दै छौं’ आफ्नो चिसिदै गरेको कफीलाई कपमा एक चुस्की सुरुप्प पार्दै ती नयनहरुले मलाई सम्पूर्ण रुपमा दृष्टिपात गर्दै भनिन्, ‘म विचलित छु कमरेड। जुन आस्था बोकेर विद्यार्थी राजनीतिमा होमिए आज म एउटा नेत्री होइन पार्टीको झोले भएको छु। अझ यसरी भनौं मा अन्धभक्त भएको छु। गलत हो भन्दाभन्दै पनि विरोध गर्न सक्ने क्षमता ममा अलिकति पनि छैन’

केही दिन यता उनी नेपाली राजनीतिबाट निकै निराश भएकी थिइन्।  वास्तवमा हामी कुनै पनि सिद्वान्त र विचार अंगालेपछी पार्टीभित्र रहेको गलत नियत भएको व्यक्ति र प्रवृत्तिको विरोध गर्न नसक्ने रहेछौ। मैले पनि त्यही अनुभवहरु बटुल्दै थिए।

उसले आफ्नो भावनाहरु व्यक्त गरेपछी म केही नबोली बस्न सकिन।  त्यसैले आफ्नो शब्दहरु राख्न भएपनि मुखलाई कष्ट दिए, ‘किन निराशावादी कुरा गर्दै छौ कमरेड। समाज रुपान्तरण गर्न हिंडेका हामी यसरी विचलित हुनुभएन नि ‘

‘स्थानीय निर्वाचनमा हेरेन भिजन नै नभएको नैतिकवान नै नरहेको नेतालाई टिकट दिएपछी समाज कसरी रुपान्तरण हुन्छ ? सक्षम व्यक्तिलाई टिकट नै नदिएपछी के हुन्छ ? कुनै नेताले आफ्नो उम्मेदवारी दिंदै गर्दा जनतामा खुसी छैन। त्यो उम्मेदवारबाट जनताले कुनै आशा गर्दैन भने त्यो उम्मेदवार काम छैन।  उम्मेदवार यस्तो होस् साथमा भिजन होस्। जनताहरु त्यस उम्मेदवारलाई मन भित्रैबाट जिताउन हिडोस्।  बालेनको जस्तो उम्मेदवार होस्। आफू उठ्दै गरेको ठाउँको बारेमा खोजअनुसन्धान गरोस्। भिजन होस्। यतिबेला बालेन हार्नु भनेको बालेन मात्रै होइन हामी हार्नु हो नेपाली जनता हार्नु हो माफियाहरु जित्नु हो ।’ एकपटक रोकिन् र फेरी भनिन्, ‘पार्टीको सिद्वान्त र आदर्शको पहिरन लगाएपछी फरक सिद्वान्त र विचार मान्ने सक्षम व्यक्तिलाई सपोर्ट गर्नु नै हुन्न यो राजनीतिमा। आफ्नो पार्टीले जिते मैले जागिर पाउला केही अवसर पाउला तर समाजमा रहेको ती सर्वहारा वार्गलाई के हुन्छ ? आजबाट म स्वतन्त्र हुन्छु कमरेड सहीलाई सही र गलतलाई गलत भन्छु खान नपाए भोकभोकै मोर्ने छु तर यसपटकको स्थानीय निर्वाचनमा सक्षम व्यक्तिलाई जिताउन लाग्छु।  सिद्वान्त र विचारको खोल ओढेर आदर्शको कुरा गर्दै अग्रज नेताको नाम बिक्री गर्दै हिंड्ने उम्मेदवारलाई यसपटक मत दिनेच छैन।  असल नैतिक भएको र सक्ष व्यक्तिलाई यासक्पतक जिताउन लाग्ने छु’

म केही बोल्न सकिन वास्तविक्ता तितो हुन्छ त्यस्तै तितो भएको थियो।  त्यहाँ हामी बीच शून्यता छायो। केही समयपछी हामी बीचको शून्यतालाई हटाउँदै भनिन् , ‘म हार्दै छु कमरेड आफैं सँग, आफ्नै विचार र आफ्नै सिद्वान्तसंग’