आइतबार बिहान संसदीय समितिले बोलाउँदा उपस्थित नभएका प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारमा सत्ता गठबन्धनका नेता प्रचण्ड र माधव नेपालसँग अनौपचारिक बैठकमा सहभागी भए। बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर गर्ने आफ्नो पार्टीको निर्णय कार्यान्यन गर्न प्रधानमन्त्री देउवालाई पुनः ताकेता गरे। तर, देउवाले मानेनन्।
असार १ गते बसेको नेकपा एकीकृत समाजवादीको बैठकले सरकारमा सहभागी मन्त्रीहरुको टिम परिवर्तन गर्ने औपचारिक निर्णय गरेको थियो। अध्यक्ष नेपालले केही दिनअघि गरेको निर्णयलाई असार १ को बैठकले अनुमोदन गरेर औपचारिकता दिएको थियो।
पार्टीले आफ्ना मन्त्री हेरफेर गर्ने निर्णय गरेको एक साता बितिसक्दा पनि प्रधानमन्त्री देउवाले कार्यान्वयन गरेका छैनन्। संसदीय प्रणालीमा मन्त्री कसलाई बनाउने वा कसलाई फिर्ता बोलाउने भन्ने निर्णय सम्बन्धित पार्टीले गर्छ। तर, प्रधानमन्त्री देउवाले आफ्नै सहयात्री दलको निर्णयलाई लत्याएका छन्।
एकीकृत समाजवादीका तर्फबाट देउवा सरकारमा सहभागी ५ मन्त्री र एक राज्यमन्त्रीमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र गोविन्द बन्दी र भवानी खापुङ सहभागी छन्। पछि कानूनमन्त्री बनेका बन्दी र राज्यमन्त्री खापुङ बाहेक अन्य चारजनालाई फेरेर उनीहरूको स्थानमा जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने पार्टीले सिफारिस गरेको छ।
स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई बढुवा गरेर स्वास्थ्य मन्त्री बनाउन एकीकृत समाजवादीले सिफारिस गरेको छ। तर, नयाँ मन्त्रीहरुले दौरा सुरुवालसमेत सिलाइसकेको अवस्थामा प्रधानमन्त्री देउवाले गठबन्धनकै साझेदार दलको निर्णय कार्यान्वयन गर्न अटेरी गरिरहेका छन्।
देउवा र प्रचण्डको मिलेमतो :पार्टीको निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउँदै नेता नेपालले मन्त्रीहरु हेरफेर गरिदिन पटक–पटक ताकेता गर्दै आएका छन्। तर, देउवाले कहिले माओवादीलाई देखाएर त कहिले अन्य कारण देखाएर एकीकृत समाजवादीको निर्णय कार्यान्वयन गर्न मानेका छैनन्।
आइतबार नयाँ बानेश्वरमा आयोजित सम्पादकहरुसँगको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन्त्री हेरफेरबारे भएको आलटाल र ढिलासुस्तीबारे असन्तुष्टि प्रकट गरे।
माधव नेपालको निष्कर्ष : निर्वाचनमा हामीलाई ‘अन्डरमाइन्ड’ गरियो, गठबन्धनले ‘रिअलाइजेसन’ गर्दैछ,नेता नेपालले भने, ‘खासगरी प्रधानमन्त्रीले र माओवादीका साथीहरुले हाम्रोभित्र पनि अब त्यस्ता मागहरु आइरहेको हुनाले केही दिन पर्खिदिनुपर्यो भनेको हुनाले अब एक–दुई दिन पर्खिने कुरा नै हुन्छ। आज पनि यस सम्बन्धमा कुराहरु उठेको छ। छिटै अब मन्त्रीहरुको परिवर्तन गर्ने कुरामा प्रधानमन्त्रीजीले भन्नुभएको छ।’
आफ्नो पार्टीका मन्त्रीहरु परिवर्तन गर्ने कुरा ८ महिनाअघि नै निश्चित भइसकेको नेता नेपालले स्पष्ट पारे। उनले भने, ‘हामीले परिवर्तन गर्ने जुन काम गरेका छौँ, त्यसका पछाडि एउटा निश्चित कार्यकालसम्म, अर्थात ६ महिनाको निम्तिमात्रै अहिलेका मन्त्रीहरुलाई पठाएको हो। भनेरै पठाएको हो।’
आफूहरुलाई ६ महिने समय दिएको भन्दै कतिपय मन्त्रीले स्वीकार गरेकोमा नेता नेपालले धन्यवाद दिए। उनले भने, ‘कतिपय मन्त्रीले स्वीकार गरेर बाहिरै भन्नुभयो, हो हामीलाई ६ महिनाको समय दिएर पठाइएको हो। यस्तो प्रष्ट भन्ने मन्त्रीलाई विशेष धन्यवाद छ।’
कतिपय मन्त्रीलाई ६ महिना नपुग्दै हटाउन खोजिएको, तर ६ महिना पर्खिदिनुपर्यो भनेको हुनाले नहटाएको नेता नेपालले खुलाए। उनले अगाडि भने, ‘६ महिनाभन्दा पहिले नै पनि मन्त्री परिवर्तन गर्ने कि भन्ने चर्चा नचलेका होइनन्।
६ महिनासम्म त हामीलाई काम गर्न दिनोस् भनेपछि हामीले दियौं। तर, ६ महिना होइन, ८ महिना पुगिसकेपछि हामीले मन्त्रीहरु परिवर्तन गरेका हौँ र नयाँलाई हामीले त्यहाँ पठाउन चाहेका छौँ। पठाउने कुराको सन्दर्भमा ढिलाढाला भइरहेको छ।’
नेता नेपालको अभिव्यक्तिबाट के बुझिन्छ भने एकीकृत समाजवादीका मन्त्रीहरु फेर्दा माओवादी र काँग्रेसभित्र पनि दबाव पर्ने भएकाले देउवा र प्रचण्ड दुबैले आपसी मिलेमतोमा एकीकृत समाजवादीको निर्णयलाई लड्काएर राखेका हुन्।
यता, मन्त्री हेरफेरमा ढिलाइ भएसँगै बाहिरिन तयार मन्त्रीहरुलाई सिंहदरबारका कर्मचारीहरुले टेर्न छाडेका छन्। यस्तो अनिश्चयको अवस्थामा भ्रष्टाचारसमेत बढ्न सक्ने विश्लेषकहरुको चिन्ता छ। एकीकृत समाजवादीको निर्णय कार्यान्वयन नगराउनेमा प्रधानमन्त्री देउवा र प्रचण्डको मिलेमतो रहेको एकीकृत समाजवादीका अर्का एक नेताले बताए।
ती नेताले भने, ‘शुरुमा माओवादीका पनि मन्त्री एकैचोटि फेर्ने भन्ने कुरा आयो, काँग्रेसमा पनि केही मन्त्री फेर्ने कुरा उठेको छ भन्ने आयो। त्यसैले केही ढिलो गरौँ भनियो। त्यसपछि बजेट पारित हुनासाथ फेर्ने प्रधानमन्त्रीले बताउनुभयो। अहिले बजेट पारित भइसक्दा पनि निर्णय कार्यान्वय गर्न प्रधानमन्त्री मानिरहनुभएको छैन। राष्ट्रिय सभाको बैठक सकेपछि भन्दैहुनुहुन्छ। तर, हाम्रा मन्त्री फेरिँदा माओवादीमा पनि दबाव बढ्ने भएकाले प्रचण्ड र देउवा दुबैले आनाकानी गरेको प्रष्ट देखिन्छ।’
यसैवीच वर्तमान मन्त्रीहरुको काम गराइप्रति नेता नेपालले घुमाउरो पारामा असन्तष्टि प्रकट गरेका छन्। आइतबार नयाँ बानेश्वरमा आयोजित अन्तरक्रियामा पत्रकारहरुले मन्त्रीका कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ भनेर प्रश्न गर्दा नेता नेपालले भने – बडो गाह्रो प्रश्न गर्नुभयो।’
मन्त्रीको कार्यशैलीबारे नेता नेपालको प्रतिक्रिया थियो, ‘मैले सन्तुष्ट छु भनौं त्यो पनि समस्या। सन्तुष्ट छैन भनौं, भोलिको समाचार त्यही बन्छ। भन्न पनि बडो गाह्रो। त्यसो हुनाले मैले के भन्छु भन्दाखेरि कामको समीक्षा गर्नुपर्छ। कमी कमजोरी रहेका छन् भने सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्छ। के–के कमी कमजोरी भए भन्ने कुरालाई अलि मसिनो गरी खोतल खातल गर्नुपर्छ र अगाडि बढ्ने आँट गर्नुपर्छ।
यसैवीच, संस्कृति मन्त्री प्रेम आलेको अडियोमार्फत सार्वजनिक भएको अश्लील अभिव्यक्तिका सन्दर्भमा सोधिएको प्रश्नमा नेता नेपालको जवाफ थियो, ‘यतिमात्रै भन्न चाहन्छु, कुनै पनि कुराहरु बोल्दाखेरि विचार पुर्याएर मात्रै बोल्नुपर्छ।’