ओलीलाई फेरि प्रधानमन्त्री बनाएर अर्थतन्त्र सुधार्छौं : पौडेल

Spread the love

‘विधि र मान्यतालाई अस्वीकार गर्दै आएको बजेट मान्न सकिँदैन’
काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न नसकिने बताएका छन् ।
सोमबार अनेरास्ववियु केन्द्रिय कमिटीद्वारा आयोजित ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तरास्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

गठबन्धन सरकारले ल्याएको बजेट विवादमा परेकाले अहिले मुलुक बजेटविहीन रहेको दाबी गरे । पौडेलले गठबन्धन सरकारका अर्थमन्त्रीले बजेट गलत विधिबाट ल्याएको बताए । संविधानले गरेको व्यवस्था, कानुन,बजेट निर्माणका मूल्य मान्यताहरुलाई अस्वीकार गरेर निर्माण गरी ल्याएको बजेट जनताले स्वीकार नगर्ने भन्दै बजेटको कुनै अर्थ नभएको बताए । पौडेलले बजेट आफैं विवाद रहेकाले बजेट बजेटको रुपमा नभएको भन्दै बजेट कार्यान्वयन गर्न नसकिने जिकिर गरे । अर्थमन्त्रीलाई छानबिन गर्न संसदीय समिति बनेकाले छानबिन समितिको प्रतिवेदन नआएसम्म बजेटको रुपमा मान्न नसकिने उनको भनाइ छ ।

पूर्व अर्थमन्त्री पौडेलले भने,‘नेपाल अहिले बजेट बिहीन अवस्थामा छ । यदि यो बजेट निर्माणको प्रक्रियामा गलत विधि अवलम्बन गरिएको छ भने संविधानले व्यवस्था र कानूनले व्यवस्था गरेको भन्दा फरक ढङ्गले बजेट बनाउन पाइन्छ कि पाइँदैन । त्यस्तो अधिकार कसैलाई छ कि छैन । कसैलाई अधिकार छैन । बजेट निर्माणको प्रक्रियामा निःसन्देह विधि र कानुनसम्मत हुनुपर्छ । बजेट निर्माणका मूल्य र मान्यताहरु रहेका छन् । संविधानले व्यवस्था, कानुन ,बजेट निर्माणका मूल्य मान्यताहरुलाई अस्वीकार गरेर निर्माण गरेको बजेट जनताले स्वीकार गर्नु हुँदैन । त्यसरी आएको बजेटको कुनै अर्थ छैन । जसरी बजेट बनेको छ आफै विवादमा गएको छ । यो बजेट बजेटको रुपमा छैन । बजेट कार्यान्वयन हुने हैसियतमा छैन । अहिले देश बजेटविहीन रहेको छ ।’

अनधिकृत व्यक्तिहरु राखेर करका दर हेरफेर गरेको विषयमा संसदीय छानबिन समितिले प्रतिवेदन तयार नगरेसम्म बजेटलाई स्वीकार गर्न नसकिने उनले बताए ।

पूर्वअर्थमन्त्री पौडेलले प्रधानमन्त्री शेरबहादर देउवा नेतृत्वको सरकारको बहिर्गमन नै अर्थतन्त्रको निकास भएको दाबी गरे । अब फेरि जनताको जनादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने दाबी पौडेलको थियो । उनले भने, ‘अहिलेको अर्थतन्त्रमा देखिएको समस्या वर्तमान सरकारका कारण आएको हो । यसको समाधान र देशको अर्थतन्त्र सुधार भनेकै अहिलेको सरकारको बहिर्गमन हो । फेरि पनि जनादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर अर्थतन्त्र सुधार गर्नेछौं । नेकपा एमाले निर्वाचनका माध्यमबाट यो सरकारलाई विस्थापित गर्छौं र एमालेको नेतृत्वमा जनादेशको आधारमा नयाँ सरकार निर्माण गछौं ।’