‘अल्छी छु, बुवा बनेपछि थप अल्छी हुनेछु’: रणबीर कपुर

Spread the love

बलिउड अभिनेता रणवीर कपुर यतिबेला आफ्नो फिल्म ‘शमशेरा’ को प्रमोशनमा व्यस्त छन् । सन् २०१८ मा चलचित्र ‘सञ्जु’ मा देखिएको झण्डै चार वर्षपछि यस वर्ष उनका लगातार दुई चलचित्र रिलिज हुन लागेका हुन् ।

पहिलो फिल्म ‘शमशेरा’ र दोस्रो उनैले निर्माण गरेको फिल्म ‘ब्रह्मास्त्र’ ।

यो लामो अन्तरालबारे कुरा गर्दै रणवीर भन्छन्, ‘म चार वर्षपछि आएको हुँ भन्ने कुरामा सहमत छु तर मेरो हातमा केही थिएन । म यी दुवै फिल्ममा व्यस्त थिएँ र दुवै फिल्मले मेरो समय लिएको थियो । यस्तै, बुवा ऋषि कपुर बिरामी हुनुभयो । उहाँलाई पनि मैले आफ्नो सबै समय दिएँ ।’

‘परिवारप्रति हरेक व्यक्तिको जिम्मेवारी हुन्छ र सबैको जीवनमा एउटा यस्तो मोड आउँछ जब उनीहरूले आफ्नो परिवारलाई सम्हाल्नुपर्ने हुन्छ । म एक अभिनेता हुँ, त्यसैले जिम्मेवारी निभाइरहेको छु, त्यस्तो होइन । सबैजना यो अवस्थाबाट गुज्रिएर जिम्मेवार बन्ने गर्छन् । मानिसहरुले मेरो सफलता र हारको कुरा गर्छन् तर यी चार वर्षमा म आफ्नो करियरको विषयमा कहिल्यै व्याकुल भइनँ । मभित्र एउटा राम्रो गुण के छ भने मभित्र धैर्यधारण गर्न सक्ने खुबी छ ।’

बुवा बन्नु सबैभन्दा बढी महत्वपूर्ण

रणवीर कपुर न त सामाजिक सञ्जालमा छन् न त आफ्नो व्यक्तिगत जीवनको बारेमा चर्चा गर्न रुचाउँछन् । बिहे पनि एकदमै साधारण तरिकाले गरे ।

के रणवीर कपूरलाई आफैँको मार्केटिङ मन पर्दैन ?

यस प्रश्नमा रणवीर बीबीसी हिन्दीसँग भन्छन्, ‘मार्केटिङ गर्नु मेरो लागि सबैभन्दा गाह्रो काम हो । विवाहबारे कुरा गर्न होस् वा अहिले सन्तानबारेकै कुरा किन नहोस्, यस्ता बारे कुरा गर्न खासै मन पर्दैन । यो मेरो नीजि पल हो । यसै खुसीसँग जीवनयापन गर्न रुचाउँछु । यस वर्ष मेरा दुई फिल्म रिलिज भइरहेका छन् । म थप दुई फिल्ममा काम गरिरहेको छु ।’

‘विवाह पनि भएको छ । हाम्रो परिवारमा यस वर्ष बच्चाको आगमन हुँदै छ । बुवा बन्नु मेरो लागि निकै महत्वपूर्ण छ । यो जीवनप्रति म निकै आभारी छु कि धेरै राम्रा कुराहरु मेरो जीवनमा भइरहेको छ ।’

म धेरै खुसी हुन डराउँछु

रणबीर कपुरले बुवा बन्न लागेको खुसीलाई यस्ता शब्दमा व्यक्त गरेका छन्, ‘म कति खुसी छु भनेर अहिलेसम्म पनि बुझ्न सकेको छैन । खुसीका साथै असाध्यै डर पनि लागिरहेको छ । सबैकुरा राम्रो होला कि नहोला भनेर पनि चिन्ता छ । म र आलिया असाध्यै खुसी छौँ । यो हाम्रो जीवनको अत्यधिक खुसीको समय हो । हामी यसको हरेक पललाई महसुस गर्न चाहन्छौँ, यसमा खुसी हुन चाहन्छौँ ।’

‘शमशेराका मेरा निर्देशक करण मल्होत्रा हालै पिता बनेका छन् र मैले उनीबाट धेरै कुरा सिकिरहेको छु । बच्चालाई कसरी बोक्ने, कसरी हेरविचार गर्ने । म आलियालाई दुई महिनापछि भेटिरहेको छु किनभने उनी एक हलिउड प्रोजेक्टमा काम गरिरहेकी थिइन् । एक अर्कासँग समय बिताउनका लागि अब बल्ल हामीले मौका पाउनेछौँ ।’

‘मैले महसुस गरेको एउटा कुरा के हो भने जब तपाईं आमा–बुवा बन्नुुहुन्छ वा बन्ने तयारीमा हुनुहुन्छ तब तपाईंले आफ्ना आमाबुवालाई थप सम्मान र माया गर्नुहुन्छ । हालसम्म जुन मेरो हुर्काई रह्यो, जुन भ्यालु सिस्टम मेरा आमाबुवाले मलाई दिनुभयो, मेरी दिदीले पाउनुभयो, म त्यसलाई अघि बढाउन चाहन्छु ।’

‘बच्चा जन्मिएपछि तपाईंले धेरै कुरा आफसे आफ सिक्नुहुन्छ । आफ्नो बच्चाका लागि सबै कुरा गर्न थाल्नुहुन्छ र जीवनमा पहिलाभन्दा बढी गम्भीर बन्नुहुनेछ । म असाध्यै अल्छी छु र बच्चा जन्मिएपछि अझै अल्छी हुनेछु किनभने म बच्चासँग बढीभन्दा बढी समय बिताउन चाहनेछु ।’

रणबीर आफ्ना बुवा ऋषि कपुरबारे कुरा गर्दै भन्छन्, ‘म आफ्ना बुवा झैँ भगवानलाई असाध्यै धेरै मान्छु । बुवाले दिनमा दुईपटक पुजा गर्नुहुन्थ्यो । उहाँ गाडीमा बसेर कतै गइरहेका बेला बाटोमा देखिएका साना–ठूला मन्दिरको अगाडि हात जोड्नुहुन्थ्यो । उनीमार्फत् यो बानी ममा पनि विकसित भयो ।’

‘सोसल मिडियामा केही भिडियो भाइरल भएका छन् कि मैले विवाहका बेला मन्त्रलाई निकै ध्यान दिएर सुनिरहेको थिएँ, त्यो यसकारण किनभने विवाह हुनु आफैँमा एउटा ठूलो कुरा हो । त्यसैले म सबैकुरा थाहा पाउन चाहन्थेँ । पण्डितले के बोलिरहेका छन्, उनीहरुले केही गलत त भनिरहेका छैनन्, कतै गलत विवाह त गराउँदैनन्, यस्ता कुरालाई ध्यानमा राखेर म मन्त्र निकै ध्यान पूर्वक सुनिरहेको थिएँ ।’

‘म गम्भीर हुने खालको मान्छे होइन तर मलाई खुसी र दुःख देखाउन आउँदैन । जब दुःखी हुन्छु त्यतिबेला पनि त्यस्तै हुन्छु, खुसी हुँदा पनि त्यस्तै हुन्छु । धेरै खुसी हुँदा मलाई डर लाग्छ किनभने खुसी एउटा यस्तो चिज हो जुन यसरी छुट्छ कि तपाईंलाई थाहा नै हुँदैन । त्यसैले म आफूलाई यसरी तालिम दिन्छु कि जब खराब समय चल्छ तब मलाई धेरै नराम्रो लाग्दैन र जब खुसीको समय चल्छ तब म धेरै खुसी पनि हुन्नँ । म थोरै सन्तुलित तरिका अपनाउँछु ।’