झापा — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दलको झन्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको बताएका छन् ।
बिहीबार दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०६४ को निर्वाचनमा आफ्नै कार्यकर्ताले अरुलाई भोट हालेर आफूलाई हराएको भन्दै उनले आगामी निर्वाचनमा यस्तो गल्ती गर्ने छुट कसैलाई नभएको बताएका हुन् ।
कार्यक्रममा उनले ०६४ को संसदीय निर्वाचनमा जस्तै आफूलाई हराएको केही समयपछि नै पछुताउनु परेको भन्दै आगामी निर्वाचनमा उक्त प्रवृत्ति दोहोर्याउनु बेठीक हुने बताए ।
उनले सङ्घीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहोर्याएर गल्ती गर्ने छुट नभएको बताए । अध्यक्ष ओलीले ठट्टा गर्दै भने, ‘२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो तर जिताएर पठाएको मान्छे आज कहाँ छ ?’ तत्कालीन समयमा आफूलाई हराएको एक वर्ष नबित्दै क्षेत्र नं. ७ का बासिन्दा पछुताउनु परेको स्मरण गराउँदै उनले गल्तीलाई फेरि दोहोरिन नदिन आग्रह गरे ।
उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी दमक नगरपालिकामा हार्नुको कारणबारे पनि कार्यकर्तालाई प्रश्न गरेका थिए । अध्यक्ष ओलीले दलको झन्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको भन्दै आक्रोश व्यक्त गरे । उनले कार्यक्रममा पार्टीको सिद्धान्त तथा नीति सबैले बुझ्नु पर्ने र दोहोर्याएर गल्ती गर्ने काममा नलाग्न सबै कार्यकर्तालाई निर्देशन दिए ।