उम्मेदवार नभेटेपछि निर्वाचन बहिस्कार गर्दै रबि लामिछाने

Spread the love

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले उपयुक्त उम्मेदवार नभेटेपछि प्रदेश सभाको निर्वाचन बहिस्कार गर्ने भएका छन् । देशैभर दौदिडा पनि निर्वाचन लड्ने उपयुक्त उम्मेदवार नभेटेपछि प्रदेशसभा निर्वाचन २०७९ बहिस्कार गर्ने भएका हुन् ।

निर्वाचन आयोगमा पुगेर १८७ नम्बरमा पार्टी दर्ता गरेपछि देशभर दौडिएका पूर्वपत्रकार लामिछाने सातै प्रदेशमा कार्यक्रम गर्दै हिँडेका थिए । उक्त देश दौडाहका क्रममा उनले जिल्ला र प्रदेश तहमा कमिटी पनि बनाएका थिए ।

देश दौडाहामा निस्केका बेला लामिछानेले प्रदेशको चुनाव बहिस्कार गर्ने बताएका थिएनन्। उनले प्रदेश संरचना खारेजीको माग पनि गरेका थिएनन्। बरु प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्ने उनको माग थियो। तर, मंगलबार सबैभन्दा ढीलो गरी निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि पार्टी दर्ता गराउन पुगेका लामिछानेले एकाएक भिडियो सन्देशमार्फत प्रदेशको चुनावमा भाग नलिने निर्णय सुनाए।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले भिडियो सन्देशमा भनेका छन्, ‘हामी प्रदेशको खारेजी होइन, सुधार चाहन्छौं। यसलाई सुधारेर जानु उपयुक्त हुन्छ। हामी व्यवस्था विरुद्ध छैनौं।’

प्रदेशमा अहिले उपमुख्यमन्त्री छैन, तर लामिछाने मनोनित उपमुख्यमन्त्री राख्नुपर्ने पक्षमा छन्। उनी भिडियो सन्देशमा भन्छन्, ‘प्रदेश सम्बन्धी हाम्रो प्रस्ताव छ, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीले एकजना फरक लिंगको उपमुख्यमन्त्री नियुक्त गर्ने। ८ जिल्ला प्रमुखहरु नियुक्त गर्ने। मन्त्रालय खारेज गर्ने, प्रदेश प्रमुख र जिसस खारेज गर्ने। पालिकाका जनप्रतिनिधिबाट प्रदेश परिषद बनाउने। बैठकबाहेक अरु काम पालिकामा काम गर्ने। तलब सुविधा कटौति गर्ने।’

लामिछाने आफूहरु प्रदेश खारेजीको पक्षमा नभएर सुधारको पक्षमा रहेको बताउँदै अगाडि भन्छन्, ‘प्रदेशमा सहभागी हुनु भनेको राज्यको दोहनमा सहभागी हुनुबाहेक केही होइन। मात्र प्रदेश तहको निर्वाचनमा सहभागी हुन चाहँदैनौं। प्रदेश संरचनामा सुधारको चाहना राख्नु व्यवस्था विरुद्ध हुनु होइन। अहिलेकै अवस्थामा हामी प्रदेश सरकारमा पुग्यौं भने पनि केही उपलब्धी हुने देखिँदैन। त्यसर्थ हामी राज्य कोषको दोहन गर्न मात्र प्रदेश सरकारमा सहभागी हुन चाहँदैनौं। कम खर्चिलो बनाउन योगदान दिन चाहन्छौं। जनभावनाको कदर गर्दै प्रदेशसभामा उम्मेदवारी नदिने निर्णयमा पुगेका छौं।’