१२ वर्ष ढिलो केन्द्रीय कमिटी सदस्य बनेका ओली अहिले फूर्ति देखाइरहेका छन्: माधव नेपाल

Spread the love

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूभन्दा १२ वर्ष ढिला केन्द्रीय कमिटीको सदस्य बनेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फूर्ति देखाउन थालेको बताएका छन्।

काठमाडौंमा आयोजित उपत्यका विशेष युवा जिल्ला भेलामा उनले १२ वर्ष ढिलो केन्द्रीय कमिटीको सदस्य बनेका ओलीले फूर्ति देखाउन थालेको टिप्पणी गरेका हुन्।

उनले आफूहरू आठ जना मिलेर २०३२ सालमा कोओर्डिनेसन केन्द्रको स्थापना गरेको बताए। जसमध्ये तीन जनाले राजनीति छाडेको र तीन जना एकीकृत समाजवादीमा रहेको पनि बताए।

एमालेमा भने एक जना सदस्यमात्रै बाँकी रहेको उनले बताए।

‘केपी ओली त १२ वर्षपछि त्यो बेला जेलमा थिए उनी। को-के बनेको १२ वर्षपछि बल्ल केन्द्रीय कमिटीका सदस्य बनेका हुन्। २०४४ सालमा उनी केन्द्रीय कमिटीका सदस्य बनेका हुन् २०३२ मा होइन,’ उनले भने।

जेल जानुअघि नै २०३० सालमा ओलीसँग भेट भएको पनि उनले बताए।

‘जेलमा जानुभन्दा अगाडि मसँग भेट भएको थियो। ३० सालमा भेट भएको थियो। रौतहट जिल्‍लामा मैले नै लिएर गएको थिएँ उनलाई र मोहनचन्‍द्र अधिकारीलाई,’ उनले भने, ‘आज आएर फूर्ति धेरै देखाउँछ। मोरङको मेरो डेरामा दुई महिना बसेका हुन्। राति भात खुवाएर पैसा दिएर पठाउने काम मै गर्थेँ।’