काठमाण्डु, ७ भदौ– एमाले अध्यक्ष केपी ओलीले आफ्नो दल कमजोर नभएको दाबी गरेका छन ।
स्थायी समिति बैठकमा मंगलबार उनले मधेसमा पार्टीले जित्ने सम्भावना रहेको उनले बताए । मधेसमा एमालेले आन्तरिक कारणले हार व्यहोर्नुपरेको उनको भनाइ थियो । ‘मधेसका हरेक क्षेत्रमा एमालेले जित्ने सम्भावना छ’, ओलीले भने, ‘हामी एक जुट भयौं भने तराई–मधेसमा एउटा क्षेत्र पनि हामी नजित्ने र नजित्नुपर्ने खालका छैनन् ।’
अघिल्लो निर्वाचनमा मधेसमा एमालेविरोधी अभियान चलाइएको भन्दै उनले अहिले परिस्थिति फेरिएको दाबी गरे । ओलीले एमालेविरुद्ध पहाडमा जनजाति र दलित तथा मधेसमा थारु, मधेसी र मुस्लिमविरोधी भएको भ्रम छरिएको बताए । एमाले मधेस, जनजाति र दलितमैत्री पार्टी भएको दाबी उनले गरे । ओलीले मधेसको बोलीचाली ‘रफ’ भएको टिप्पणी गरे ।
‘तराई मधेसतिर के देख्छु भने बोलीचाली रफ गर्ने, अलिक भद्दा खालको बोल्ने, हप्काउने धप्काउने काम गर्ने गर्छ’, उनले भने, ‘एमालेको शैली त्यस्तो हुँदैन । एमालेले नम्र व्यवहार गर्छ । पार्टीको नीतिलाई सबै कार्यकर्ताले मान्नुपर्छ ।’