‘हराएको’ टुकुचा खोज्दै बालेन

Spread the love

काठमाडौ। जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्म टुकुचा कसरी र कहाँ बगेको छ भन्ने अत्तोपत्तो नै छैन। खोला कहाँ–कहाँबाट बगेको छ र त्यसमाथि क–कसको कस्तो संरचना छ, पत्ता लगाएपछि मात्रै टुकुचा मिचिएको ठाउँ खाली गर्ने महानगरको भनाइ छ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको हराएको खण्ड खोजी गर्न थालेको छ। महानगरको मध्यभाग हुँदै बग्ने भए पनि अधिकांश खण्ड अतिक्रमणमा परेकाले टुकुचाको खोजी सुरु भएको हो।

महानगरले जिल्ला नापी कार्यालयलाई टुकुचा खोलाको नक्सा खोज्न निर्देशनसमेत दिएको छ। नापी कार्यालयसँग उक्त खोलाको नक्सा हुनुपर्ने भन्दै महानगरका मेयर बालेन्द्र साहले मंगलबार नै महानगरका सहरी विकास विभाग प्रमुख सुरज शाक्यलाई नक्सा खोज्न निर्देशन दिएका थिए। प्रमुख शाक्यले बुधबार नापी कार्यालय, डिल्लीबजार पुगेर टुकुचाको नक्सा खोज्न कार्यालयलाई आग्रह गरेका छन्।

नापी कार्यालयले पनि टुकुचाको अधिकांश क्षेत्रफल नक्सा समेटेको छैन। कित्ता नापीमा नक्सा नै नभएपछि टुकुचालाई फर्काउन महानगरलाई कठिन हुने अवस्था छ। तर, टुकुचालाई ब्युँताउन महानगरका मेयर साहले अग्रसरता देखाएका छन्। उनले एक साताअघि मालपोत र नापी कार्यालयलाई पत्रसमेत पठाएका थिए। तर, जवाफ नआएपछि सहरी विकास विभागका प्रमुख शाक्यलाई मेयर साहले नापी र मालपोत कार्यालयमा आफैँ उपस्थित भएर नक्सा खोज्न निर्देशन दिएका थिए।

टुकुचाको ३३ कित्ता फेला

महानगरका सहरी विकास विभाग प्रमुख सुरज शाक्य र विभागका अन्य कर्मचारी नापी कार्यालय डिल्लीबजार पुगेका थिए । शाक्यले नापीकार्यालय प्रमुखसँग भेट गरी टुकुचाको नक्सा खोज्न आग्रह गरेर फर्किएका छन्। ‘महानगरसँग टुकुचाका ३३ वटा कित्ता मात्रै छन्, अन्य कित्ताबारे महानगरलाई जानकारी छैन,’ उनले भने, ‘हराएका कित्ता नम्बर नापी र मालपोत कार्यालयसँग हुन सक्ने हाम्रो अनुमान छ।’

तर, नापी कार्यालय डिल्लीबजारले भने जहाँ–जहाँ टुकुचा देखिएको छ, त्यहाँ–त्यहाँ नक्सामा रेखांकन भएको र जहाँ देखिएको छैन, त्यहाँको नक्सा नभएको जनाएको छ। कार्यालय प्रमुख शिव लम्सालले ०२१ सालको नापीमा टुकुचाको नापी नभएको बताए। त्यतिवेलै टुकुचा जमिनमुनि लुकिसकेकाले नापी नभएको उनको भनाइ छ। ‘०२१ र ०३२/३३ सालमा टुकुचाको नापी भयो, तर त्यतिवेला टुकुचा गायब थियो, जहाँ–जहाँ देखिएको छ, त्यहाँ त्यहाँको हामीले नापी गरेका छौँ,’ उनले भने, ‘तर त्यतिवेलै टुकुचा धेरै ठाउँमा गायब भइसकेको थियो।’ उनका अनुसार नक्सामा महाराजगन्जस्थित निर्मलनिवासनजिक चुुनदेवी इलाका, कमलादीको उत्तरपूर्व पुतलीसडक, प्रदर्शनीमार्ग, रामशाहपथ र त्रिपुरेश्वरस्थित सत्यनारायण र महादेव मन्दिरको बीचमा देखिन्छ। तर, अन्त कहाँ–कहाँबाट टुकुचा बगेको छ, अत्तोपत्तो छैन।

टुकुचामाथि दर्जनौँ आलिसान महल

काठमाडौंको टुकुचा खोला बाँसबारीबाट महाराजगन्ज, टंगाल, राजदरबार, जय नेपाल हल, न्यु प्लाजा, पुतलीसडक, थापाथली हुँदै बागमतीमा मिसिन्छ। तर, शिरदेखि पछ्याउँदै आउँदा टुकुचालाई खोलाको रूपमा देख्न मुस्किल छ। महाराजगन्जस्थित निर्मलनिवासनजिक चुुनदेवी इलाकामा टुकुचा खोला देखिन्छ। त्यसपछि नारायणहिटी दरबारसम्म आइपुग्दा खोला नै गायब छ। खोलालाई ढलको रूपमा दबाएर माथि सडक बनाइएको छ। कतै व्यक्तिका घर छन्।

महाराजगन्जदेखि कमलादीसम्म अधिकांश भागमा खोलामाथि सडक र संरचना बनेका छन्। काठमाडौं महानगरपालिकाको तथ्यांकअनुसार टुकुचामाथि मात्रै करिब ८५ वटा घर तथा भवन ठड्याइएका छन्।

जयनेपाल हलदेखि कमलादीसम्म मात्रै ६५ घर बनेको विभाग प्रमुख शाक्यले बताए। उनका अनुसार जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्म टुकुचा कसरी र कहाँ बगेको छ भन्ने अत्तोपत्तो नै छैन। सर्वप्रथम महानगरले खोला कहाँ–कहाँबाट बगेको छ र त्यसमाथि क–कसको कस्तो संरचना छ, त्यसलाई खोज्नेछ। अनि मात्रै टुकुचा मिचिएको ठाउँ खाली गरिने शाक्यको भनाइ छ। ‘महाराजगन्जदेखि राजदरबार आउँदासम्म १०–१२ वटा घर टुकुचा खोलामाथि बनाइएका छन्। जयनेपाल हलदेखि कमलादीसम्म ६५ वटा जति घर बनाइएका छन्,’ उनले भने, ‘खोलाको क्षेत्रफल नक्सामा कायम रहेकाले ती संरचना भत्काएर टुकुचालाई खुला छाड्न सकिन्छ। तर, वर्षौँदेखि अतिक्रमण भएकाले धेरै प्रमाण मेटिएका छन्। सम्बन्धित सबै निकायबाट यथेष्ट प्रमाण जुटाउने अवस्था भए महानगरपालिका ती संरचना भत्काउन तयार छ।’

कमलादीको उत्तर–पूर्व पुतलीसडक मोडनिर आएपछि टुकुचा झुल्किन्छ। त्यसपछि एकैचोटि प्रदर्शनीमार्गमा देखिन्छ। त्यहाँबाट कतैकतै मात्र देखिने खोला अधिकांश ठाउँमा गायब छ। त्रिपुरेश्वरस्थित सत्यनारायण र महादेव मन्दिरको बीचबाट बग्दै टुकुचा बागमतीमा मिसिएको छ।

काठमाडौं महानगरले टुकुचामाथि बनेका संरचना अध्ययन गर्न समिति पनि बनाउने तयारी गरेको छ। तर, पहिलो चरणमा नापी र मालपोत कार्यालयसँग भेटिनेजति जानकारी लिने विभाग प्रमुख शाक्यको भनाइ छ। तर, नापी र मालपोतले कुनै पनि तथ्य र जानकारी नदिए महानगरले अध्ययन टोली बनाएर टुकुचाको नक्सा खोज्ने र त्यसमाथि बनेका भवनलाई कारबाही गर्नेछ। ‘टुकुचा कहाँ–कहाँबाट बगेको छ र यसको क्षेत्रफल कति हो भनेर हामीसँग तथ्यगत जानकारी छैन,’ उनले भने, ‘नापी र मालपोत कार्यालयसँग जानकारी मागेका छौँ, उहाँहरूले दिनुभएन वा राख्नुभएको रहेनछ भने हामीले स्थलगत रूपमै पुगेर अध्ययन गर्नुपर्ने हुन्छ।’