काठमाडौं:
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगर्न सक्ने बताएका छन् ।
पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना पनि छ ।
प्रमाणीकरण नगरे यो विषय अदालत जाने सम्भावना पनि छ । दोस्रो कुरा, उहाँले राजीनामा दिने विकल्प रहन्छ ।’
उनले भने, ‘मलाई त प्रमाणीकरण गर्नुहुन्छ भन्ने नै लाग्छ । तर केही दिनअघि भेटेर कुरा गर्दा उहाँले यसलाई पोलिटिकल इस्यू बनाउने मुडमा रहेको पाएको थिएँ ।
त्यसैले नगर्ने सम्भावना पनि छ । गर्नुभएन भने यो इस्यू अदालतमा जान्छ र अदालतको फैसलापछि अगाडि बढ्छ ।’
प्रचण्डले विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने उल्लेख गरे ।
राष्ट्रपतिले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी फिर्ता गरेपछि सदनबाट जस्ताको तस्तै पारित गरी प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति समक्ष पठाइएको छ ।
‘मैले राष्ट्रपतिलाई पनि भनेको थिएँ । प्रमाणीकरण नगरेको अवस्थामा या त राजीनामादिने वा अदालतमा जाने हो । यो दुईवटा हुन सक्छ,’ उनले भने ।