म १८ वर्ष ६ महिनाकी भएँ । झापाबाट प्लस टु सकाएर भर्खरै काठमाडौं थिएँ । मेरी एकजना दिदी थिइन्, साइना लिम्बू । ती दिदी र मैले ह्याङआउट गर्दा दिदीकी साथी कस्मिता (नाम परिवर्तन) सँग भेट भयो । चिनजानपछि बाक्लो कुराकानी हुनथाल्यो ।
एक सातापछि उनले आफ्नो कोठामा बोलाइन् । म गएँ दिनभरि कोठामै बस्यौं । बेलुका दिदीले क्लबमा जाने कुरा गर्नुभयो । मलाई पनि जाउँ जाउँ लाग्यो । ‘जाने भए जाम न त’ भनें । त्योभन्दा अगाडि पनि दुई-तीनपटक म क्लब गएकी थिएँ ।
यो करिब डेढ महिनाअघिको कुरा हो । बिहीबारको दिन हामी रेडी भएर निस्क्यौं । उहाँले मलाई प्लाटिनम क्लव लैजानुभयो । क्लबमा हामी दुवैले ड्रिन्क ग¥यौं । डिंन्क गर्दै गफिएर बसिरहँदा त्यहाँ एकजना केटा आयो । ऊ कस्मिताको फुपूको छोरा रहेछ । नाम ईश्वर श्रेष्ठ रहेछ । दिदीले चिनाउनुभयो । मैले नमस्ते गरें ।
त्यसपछि ऊ गयो । दिदी र म ड्रिन्क गर्दै बस्यौं । एकैछिनमा त्यो दाइ फेरि आएर दिदीको कानमा खै के भन्यो । अनि दिदीले मलाई भन्नुभयो, ‘एलओडी जाने भन्दैछ भाइले, जाने हो त ?’
मैले एलओडीको नाम सुनेको थिएँ । ‘जाने भए जाम न त’ भनें । अनि दिदी, उसको भाइ ईश्वर श्रेष्ठ र म एलओडी गयौं । ढोकैमा एकजना केटा पर्खिरहेको रहेछ । पछि दिदीले उसलाई आफ्नो एक्स ब्वाइफ्रेण्ड भनेर चिनाउनुभयो । दिदी त्यो दाइसँग गफ गर्न थाल्नुभयो । म भित्र थिएँ । ईश्वर श्रेष्ठ मसँग बोल्न खोज्दै थियो । तर, मलाई किन किन त्यो मान्छे ठीक लागिरहेको थिएन । मैले उसलाई राम्रोसँग सीधा हेरेको पनि थिइनँ । मलाई ड्रिन्क्स दिएको दियै गरिरहेको थियो । मैले ‘भयो’ भन्दा पनि मलाई ‘टकिला सट’ जबरजस्ती खुवायो । अनि कस्मिता दिदीलाई भनें, ‘दिदी, मलाई गाह्रो भयो । म त ओभर ड्रन्क भएँ । घर जाऔं ।’
त्यसपछि हामी त्यहाँबाट निस्कियौं ।
दिदीलाई मैले अपार्टमेन्टमा छाडिदिनु भनें । उनले भनिन्, ‘हामी दुवै मातिराछौं । बरु चारैजना एउटा होटलमा गएर बसौं । तिमी र म एउटा कोठामा सुतौंला । उनीहरु अर्को कोठामा सुत्छन् ।’
मेरो अपार्टमेन्ट ललितपुरको हात्तीवनमा थियो । त्यहाँबाट टाढा भएकाले दिदीकै आइडिया ठीक लाग्यो । हामी ट्याक्सी चढ्यौं । एकैछिनमा ट्याक्सी रोकियो । अगाडि एउटा होटल थियो । टिबेटियनले बनाएको होटेल रहेछ ।
अस्मिता दिदीसँग छोटो समयमा नजिक भएको भए पनि हामीले धेरै च्याटमा कुराकानी गरेकाले विश्वास थियो मलाई । दिदीको एक्स ब्वाइफ्रेण्ड पनि टिबेटियन नै रहेछ । तर, हामी होटलमा जाँदा कोठा छैन भन्यो ।
त्यसकै छेउमा ‘होलिडे इन’ भन्ने होटेल रहेछ । त्यहाँ हामी चारजना छि¥यौं । रिसेप्सनको भाइले एउटामात्रै रुम छ भन्यो रे ! म साइडमा बसिरहेको थिएँ । त्यो रिसेप्सनको भाइ चाबी लिएर कोठामा आयो । अनि म, अस्मिता दिदी र ईश्वर श्रेष्ठ कोठामा गयौं । तेस्रो तलामा थियो कोठा । कोठा खुल्यो । तर, त्यहाँ दुईवटा बेड रहेछन्, एकदमै सानोसानो सिंगल बेड । ईश्वर श्रेष्ठ त कोठामा गएर सुतिहाल्यो । दिदीले भन्नुभयो, ‘एउटामात्रै रुम रहेछ, के गर्ने ?’
मैले भनेँ, ‘तपाईं र म बसौं । दुईजनालाई घर पठाइदिऊँ ।’
उहाँले ‘ल ल भाइलाई भन्छु’ भन्नुभयो । ईश्वरलाई भन्नुभयो, ‘भाइ तिमी घर जाऊ ।’ तर, त्यो केटाले मानेन । बढी पिएकाले घर जान नसक्ने बतायो । त्यसपछि मैले दिदीलाई भनें, ‘हामी नै जाऔं ।’ दिदीले भन्नुभयो, ‘तल एक्स बसेको छ । ऊसँग कुरा गरेर आउँछु ।’
दिदी जानुभयो । म त्यही ढोकामा बसें । ५-६ मिनेट बस्दा पनि दिदी आउनुभएन । दिदी त्यही हुनुहुन्छ जस्तो लागेर म अर्को बेडमा गएर सुतें । त्यसपछि मलाई केही याद छैन । बिहान चार बजेतिर गएका थियौं । सुत्दाखेरी साढे चार बजेको थियो होला ।
बिहान ६ बजेतिर मेरो प्राइभेट पार्टमा एकदमै धेरै दुखेको महसुस भयो । म हल्लिएँ । चिच्याएँ पनि होला । तर, आँखा खोल्न सकिनँ । उठ्न पनि सकिनँ । बेडमा डाङडुङ पनि गरें, मलाई हल्काहल्का यादमात्रै छ । त्यसपछि त्यो ईश्वर श्रेष्ठ भागेर गयो ।
त्यो केटा गएको पाँच मिनेटपछि उठ्दा म पूरै नग्न थिएँ । मेरो एउटा पनि कपडा थिएन । भित्र लगाउने वस्त्र पनि थिएन । राति सुत्दा पूरै लुगा लगाएर सुतेकी थिएँ । अनि कोठाको ढोका पनि खुलै थियो । एकैपटक त्यस्तो अवस्थामा उठ्दा त ला मलाई के भयो भनेर पूरै ‘सक्ड’ भएँ । एकछिन डर पनि लाग्यो । छिटोछिटो ढोका लगाएर आई सोच्दा त त्यो केटा थियो भन्ने याद आयो ।
अनि म रिसेप्सनमा गएँ । मैले सोधें, ‘मेरो रुममा भएको केटा खोई ? अरु दुईजना कहाँ गए ?’ रिसेप्सनको भाइले भन्यो, ‘त्यो ईश्वर श्रेष्ठ चाहिँ भर्खरै निस्कियो । अरु दुईजना बिहानै चार बजे गएका हुन् ।’
उसले अर्को होटलमा गएको बतायो । अनि म टिबेटियन होटलमा गएँ । त्यहाँ सोध्दा उनीहरु छैनन् भने । मैले उनीहरु सुतेको कोठा नदेखाए पुलिसलाई खबर गर्छु भन्दा पनि छैन नै भने । त्यसपछि मलाई एकदमै डर लाग्यो । के गर्नु गर्नु भयो । मेरो फोन पनि अफ थियो । अनि त्यही रिसेप्सनको भाइको फोन मागेर १०० मा कल गरें । दरबारमार्गको पुलिस आयो ।
पुलिसले सोधपुछ गर्यो । अनि टिबेटियन होटलमा गएर सोध्दा अस्मिता र उसकी ब्वाइफ्रेण्ड बिहान चारै बजे गएको बतायो । उनीहरुले मलाई त्यही छाडेर केटाको कार निकालेर कहाँ गएछन्, थाहै भएन ।
त्यसवेला मलाई केटाको अनुहार पनि याद थिएन । मलाई थाहा भएको अस्मितामात्रै थियो । उसको नम्बरमा पुलिसले फोन गर्दा फोन उठेन । मैले पनि कति पटक गरें, तर उठेन ।
पछि म पुलिससँगै थानामै गएँ । त्यही खाना खाएँ । दिउँसो २ बजेतिर अस्मिता दिदीले कल गर्नुभयो । त्यतिखेर म दरबारमार्गकै पुलिस थानामा थिएँ । दिदीले आफूहरु दुईजना वसन्तपुरतिर गएको बताउनुभयो । मलाई पुलिसले होटेलमै छु भनेर ढाँट्न लगाए । पुलिसले सिकाएअनुसार मैले कोठाको भाडा तिर्ने पैसा छैन भनें ।
‘पैसा नभएर यही छु । तपाईंको भाइ त अघि नै गएछ’, मैले भनें ।
त्यसपछि म होटेलमा गएँ । सिभिलमा दुईजना पालिस पनि सँगै आए । उनीहरु आएर साइडको टिबेटियन होटलमा छिरे । अनि पुलिसले कारसँगै दुवैलाई पक्रियो । अस्मिताले ईश्वर श्रेष्ठलाई कल गर्दा उसले भन्यो, ‘तपाईंको बहिनी त कस्तो खालको हो, एकैपटक निद्रामा चिच्याउँछ त । अनि म त डर लागेर निस्किएँ ।’
म त्यत्तिकै कहाँ चिच्याउँथें र ! उसले केही नगरेको भए कसरी निर्वस्त्र हुन्थें ? दिदीले त्यो केटालाई बोलाउँदा भन्यो, ‘म आज आउँदिनँ । भोलि आउँछु ।’
तर, त्यो केटा भोलि पनि आएन । अनि मैले ब-लात्कारको जाहेरी हालें । प्रहरीले पनि त्यही दिन त्यो केटालाई खोज्न सक्थ्यो । तर, भोलि गर्ने भन्यो ।
त्यो घ-टना मैले कसैलाई भनेको थिइनँ । एकजना दिदीलाई भनेकी थिएँ । उहाँ भ्यालीमा हुनुहुँदो रहेनछ । त्यस रात म त्यही थानामै बसें । त्यही खाना खाएँ । भोलिपल्ट दिदी आउनुभयो । मलाई लिएर जानुभयो ।
मैले ममीलाई पनि यो घ-टना भनिनँ । ममी झापामै हुनुहुन्थ्यो । कसैलाई केही भनिनँ । केही गर्न पनि सकिनँ । पुलिसलाई फोन गरेर बुझ्न पनि डर लाग्यो । पुलिसले कल नै गरेन । जाहेरी दिएपछि प्रहरीले भनेको थियो, ‘तिमी जाऊ, हामी खोज्छौं ।’ तर, अहिलेसम्म खोजेकै छैन ।
थानाबाट साँझ ६ बजेतिर थापाथली अस्पतालमा गएर चेकअप गरेर आएका थियौं । त्यस दिनसम्म जाहेरी हालेकै थिएन । मलाई आइतबार फेरि बोलायो अस्पतालले, भिडियो एक्सरे गर्न । तर, रिपोर्ट लिन बोलाउनुभएन । पुलिसले भने, ‘तिमीले रिपोर्ट लानु पर्दैन । हामी आफैं ल्याउँछौं ।’
अहिले रिपोर्ट पुलिससँगै छ । तर, रिपोर्ट कस्तो आयो, मलाई भनेकै छैन पुलिसले । हामीले कल गर्दा पनि खासै रेस्पोन्स दिनुहुन्न । मेरो त कुरै सुन्नुहुन्न । जाहेरी हाल्नेवेला पुलिसले अस्मितालाई नहाल्न भन्यो । मैले पनि हुन्छ भनें ।
त्यसवेलासम्म मलाई इन्फेक्सन भइसकेको रहेछ । मेरो प्राइभेट पार्ट सुन्निएको थियो । थापाथलीको डाक्टरले औषधि पनि दिएका थिए ।
त्यो केटाले मलाई रेप गर्नुअघि मेरो पिरियड भएको दुई-तीन दिन भएको थियो । रेप भएको दुई-तीन दिनपछि मेरो एकदमै ब्लिडिङ भयो । यति धेरै दुख्यो कि मलाई पिरियड हुँदा पनि दुख्दैन थियो ।
मलाई इन्फेक्सन भएपछि किड्नीमा समस्या भएको रहेछ । पेट धेरै दुखेपछि राति नै टिचिङ अस्पताल गएँ दिदीहरुसँग । कुनै बेड खाली थिएन । त्यहाँको हल्लाले पनि मलाई डिस्टर्ब गर्यो । बरु घरमै पेनकिलर र सिटामोल खान्छु भनेर आएँ । वान्ता पनि भइरहेको थियो ।
घरमा आएर पेनकिलर र सिटामोल खाएपछि अलि हल्का भयो । तर, बिहान तीन बजेतिर गाह्रो बनायो । अति भएपछि बीएण्डबी अस्तपाल गई इमरजेन्सीमा भर्ना भएँ । एक साता अस्पतालमा बसें ।
आर्थिक रुपमा कमजोर थियौं । पैसा नै थिएन । इमरजेन्सीमा रहने पनि पैसा नभएपछि दिदीहरुले उठाएर तिरिदिनुभयो । अस्पतालबाट दरबारमार्गको सई सरलाई सहयोगका लागि फोन गरें । तर, उहाँले ‘एकछिनमा कल गर्छु है नानी’ भनेर कलब्याक नै गर्नुभएन ।
मलाई त प्रहरीले त्यो केटालाई खोजेकै छैन जस्तो लाग्छ । डीएसपीले पनि हाम्रो कुरा सुन्नै हुन्न । म बिरामी भएर उसको परिवारलाई कल गरिदिनु भन्दा ‘वीर अस्पताल जाऊ’ भने । के-के निवेदन ल्याउनुपर्छ भने । अनि दिदीहरुले पैसा उठाएर बिल तिर्नुभएको थियो ।
एकजना दिदी र म थानामा केटाबारे बुझ्न जाँदा ‘हाम्रो साइडबाट गरिरहेका छौं, तपाईंहरु पनि सक्नुहुन्छ भने गर्नु’ भनेर भने । अनि केटाको परिवारसँग सम्पर्क गर्दा ‘सेकेण्ड ह्याण्ड स्कुटी दिन्छौं, केस फिर्ता लेऊ’ भने । अर्कोपटक बिहे गराउने प्रस्ताव पनि गरे । बिहे गराउने भनेपछि त्यो केटा आउँछ र त्यसवेला पक्रिने भनेर पुलिसहरुले सल्लाह दिनुभयो । भोलिपल्ट उसको परिवारलाई भेट्न जाँदा मलाई कस्तो डर लागिरहेको थियो । त्यतिखेरै बिरामी भएपछि मलाई दिदीहरुले टिचिङ अस्पतालमा लानुभएको हो ।
अनि बिहेको कुरै अगाडि बढेन । केटाको घरमा दिदीहरु फेरि जानुभएको थियो । तर, उसको परिवारले केटा सम्पर्कमा छैन भन्छ । त्यसो भए उनीहरु नै बिहे गराउने भनेर कसरी भन्छन् ? म बिरामी हुँदा पनि उसको दाइ, आमा र आन्टी आएका थिए । म इमरजेन्सीमा थिएँ । आमाले मलाई ‘मेरो छोराले त टाउकोमा हात राखेर कसम खाएर केही गरेको छैन भन्छ’ भन्नुभयो । सम्पर्कमा पनि छैन भन्छ, कसम पनि खाएको छ भन्छ, मैले कसरी विश्वास गर्नु ?
केही गल्ती गरेको छैन भने किन भागेको ? गल्ती गरेको छैन भने ऊ जेलै जाँदैन नि ! हामीले अस्पतालमा उनीहरुलाई पैसा नभएरै बोलाएका थियौं । मेरो ममी पनि झापाबाट आउनुभएको थियो । भोलिपल्ट १० बजे उनीहरुलाई कल गर्दा केटाको आमाले मेरो आमालाई ‘तेरो छोरी दश दुनियाँसँग सुत्दै हिँड्छ, अहिले आएर मेरो छोरालाई दोष लगाउने ?’ भनेर थर्काउनुभएछ । ममी त बोल्नै सक्नुभएन । रुनुमात्रै भयो ।
यो घ-टना मेरो बुवालाई थाहा छैन । मेरो ममी र बुवा पहिलादेखि नै छुट्टाछुट्टै बस्नुभएको छ । बुवासँग बोल्छु बोल्न त, तर रिलेसन राम्रो छेन । तर, म जुन अवस्थाबाट गुज्रिएँ, त्यसबाट मैले न्याय पाउनुपर्छ । त्यसैका लागि लडिरहेकी छु ।
अहिले फर्केर हेर्दा मबाट पनि केही गल्ती त भएकै थियो । छोटो चिनजानमा कसैलाई भरपुर विश्वास गर्नु गल्ती भयो । छोरी-चेली मान्छेले राति-राति क्लव गएर ड्रिन्क गरेको भनेर पनि धेरैले मलाई नै नराम्रो सोच्लान् । पक्कै पनि यो घटनाले मलाई पाठ त सिकाएको छ । तर, के मैले ड्रिन्क गरेको थिएँ भन्दैमा कसैले ममाथि गिद्धे नजर लगाउने अनुमति पाउँछ ? बलात्कार गर्न छुट पाउँछ ? म यही प्रश्नको उत्तरको खोजीमा छु ।