एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोभिच लियोनल मेस्सीले अर्जेन्टिनासँग २०२२ फिफा विश्वकप जित्नेमा विश्वस्त छन्। स्वीडिश फरवार्डले यस वर्षको प्रतियोगिताको संस्करणमा ला अल्बिसेलेस्टेको जितको कथा “पहिले नै लेखिएको” दाबी गरेका हुन्।
यस वर्ष कतारमा जारी फिफा विश्वकपमा अर्जेन्टिनाले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरिरहेको छ। ला अल्बिसेलेस्टेको निराशाजनक पहिलो खेलमा साउदी अरेबियासँग २-१ ले पराजित भयो। तर, समूह चरणमा मेक्सिको र पोल्याण्डमाथि जित हात पार्दै उनीहरू छिट्टै जितको बाटोमा फर्किए। लियोनल मेस्सी एण्ड कम्पनी त्यसपछि अन्तिम १६ मा पुग्यो, जहाँ उनीहरुले अस्ट्रेलियालाई २-१ ले पराजित गर्न सफल भए।
प्रतियोगिताको उनीहरुको सबैभन्दा कठिन चुनौती क्वार्टरफाइनलमा नेदरल्याण्ड्स विरुद्ध थियो, जुन ९० मिनेट पछि २-२ को बराबरीमा सकिएको थियो, जसमा दोस्रो हाफमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गरे। अतिरिक्त समयको ३० मिनेटपछि दुवै टोली बराबरीमा रोकिएका थिए र खेल पेनाल्टीमा गएको थियो। रोमाञ्चक पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी हुँदै आफ्नो समीफाइनलको यात्रा तय गरेको थियो। लियोनल मेस्सीले आफ्नो तर्फबाट पहिलो पेनाल्टीमा गोल गर्दै बाँकी शुटआउटको लागि टोन सेट गरे। कप्तान भर्जिल भान डाइक र स्टिभन बर्घुइसको पेनाल्टी अर्जेन्टिनी गोलकिपर एमी मार्टिनेजले विफल पारेपछि पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्स ४-३ ले पराजित भयो।
लियोनल मेस्सीको अर्जेन्टिनाको लागि अहिलेसम्मको उत्कृष्ट प्रदर्शन पछि, इब्राहिमोभिचले सात पटकका ब्यालोन डी’ओर विजेताले यस वर्ष आफ्नो पहिलो विश्वकप उपाधि उचाल्ने निश्चित छ भन्ने विश्वास राखेका छन्। उनले भने, “मलाई लाग्छ यो पहिले नै लेखिएको छ कसले जित्छ, र तपाईंलाई थाहा छ मेरो मतलब को हो। मलाई लाग्छ कि मेस्सीले उपाधि उठाउनेछन्, यो पहिले नै लेखिएको छ।”
ला अल्बिसेलेस्टेले आज राति नेपाली समय अनुसार १२:४५ बाट सुरु हुने फिफा विश्वकपको सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ।
यो पनि पढ्नुहोस् :
काठमाडौं।
विश्वकपको क्वार्टरफाइनलमा आफ्नो देश क्रोएसियासँग पराजित भएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी पेले एक महत्वपूर्ण सन्देश दिएका छन्। पाँच पटकको च्याम्पियन क्रोएसियासँग ब्राजिल पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भयो। धेरै ब्राजिलका फ्यानहरू निराश भएका छन्।
निर्धारित समयमा गोलरहित भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै साविक विजेता क्रोएसिया सेमिफाइलनमा पुगेको हो।
पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । तर, रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके ।
रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए भने मार्क्विन्होसको प्रहार पोस्टमा लागेको बाहिरिएको थियो । त्यसअघि अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले पाक्वेटाको पासमा १०५+१ औं मिनेटमा गोल गरेका थिए । यस गोलसँगै नेयमारले ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् ।
नेयमारको यो ब्राजिलका लागि ७७ औं गोल हो । पेलेले पनि ७७ गोल गरेका छन् । तर, खेलको ११७ औं मिनेटमा ब्रुनी पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । यसअघि २०१८ को विश्वकपमा ब्राजिल बेल्जियमसँग २–१ ले पराजित हुँदै अन्तिम ८ बाटै बाहिरिएको थियो। विश्वकपको सुरुवातदेखि नै हरेक संस्करणमा सहभागिता जनाउने ब्राजिल एक्लो टोली हो।
पेलेले आफ्नो कीर्तिमान बराबर गरेकोमा सुरुवातमा नेयमारलाई बधाई दिएका छन्। नेयमारले ब्राजिलका लागि ७७ गोल गर्दै पेलेको रेकर्ड बराबर गरेका थिए। ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमार मैदानमा केहीबेर रोएका थिए। टोलीका साथीहरूले उनलाई पिचमा सान्त्वना दिन खोज्दा नेयमारको आँसु झरेको थियो।
पेरिस सेन्ट–जर्मेनका फरवार्डसमेत रहेका नेयमारले आफ्नो १२४औं म्याचमा राष्ट्रिय टोलीका लागि ७७ गोलको आधिकारिक कीर्तिमान बराबर गरेपछि ८२ वर्षीय पेलेले नेमारलाई सुन्दर सन्देश दिएका हुन्।
‘मैले तिमीलाई बढ्दै गरेको देखेको छु, म हरेक दिन तिम्रो लागि खुशी थिएँ र म अन्तमा ब्राजिलसँग मेरो गोलको संख्यामा पुग्नको लागि तिमीलाई बधाई दिन सक्छु। हामी दुबैलाई थाहा छ कि यो एक आंकडाभन्दा बढी हो,’ ८२ वर्षीय पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘एथलीटको रूपमा हाम्रो सबैभन्दा ठूलो कर्तव्य प्रेरणा दिनु हो। हाम्रा आजका टोलीका साथीहरूलाई आगामी पुस्ताहरू र सबैभन्दा माथि हाम्रो खेललाई माया गर्ने सबैलाई प्रेरित गर्नुहोस्।’
उनले अगाडि थपे, ‘दुर्भाग्यवश यो हाम्रो लागि सबैभन्दा खुसीको दिन होइन। मेरो रेकर्ड लगभग ५० वर्ष पहिले सेट गरिएको थियो र अहिलेसम्म कोही पनि यसको नजिक पुग्न सकेन। तिमी त्यहाँ पुग्यौं। यसले तिम्रो उपलब्धि कति ठूलो छ भनेर देखाउँछ।’ यो अद्भुत सन्देशले सामाजिक सञ्जालमा फ्यानहरूको मन छोएको छ।
ब्राजिलियन स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने पनि संकेत गरेका छन्। विश्वकपबाट बाहिरिएपछि नेयमारले संन्यासको योजना बनाएको बताइएको छ।
नेयमारले पनि यस विषयमा सोच्ने बताएका छन्। ‘म राष्ट्रिय टोलीका लागि कुनै ढोका बन्द गरिरहेको छैन तर म फर्कने शतप्रतिशत ग्यारेन्टी पनि दिइरहेको छैन,’ ३० वर्षीय नेयमारले भने, ‘मैले यसबारे अलि बढी सोच्न आवश्यक छ, मेरो लागि र राष्ट्रिय टोलीको लागि सही कुरा के हो।’ नेयमारले १८ वर्षकै उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
शनिबार कतारको अल थुमामा रंगशालामा विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा यसअघि कहिल्यै नभएको घटना भयो। विश्वकप फुटबल प्रतियोगितामा पहिलो पटक कुनै अफ्रिकी तथा अरब मुलुक सेमिफाइनल खेल्ने भयो।
आन्ध्र महासागर र भूमध्य सागरसँग जोडिएको उत्तर अफ्रिकी मुलुक मोरक्कोले फुटबलमा रचेको इतिहासले अफ्रिका र अरब संसारमा खुसी हुने नयाँ बहाना दियो। रंगशालामा उपस्थित मोरक्कोका हजारौं समर्थक र मैदानमा रहेका खेलाडी र प्रशिक्षकले उत्सव मनाए।
त्यो उत्सव र खुसीका बीचमा एउटा मान्छे भावुक भएर मैदानबाट निस्कियो। सम्हाल्दा-सम्हाल्दै उसले आफूलाई थाम्न सकेन र टनेलमा जोडिएका क्यामेरामा उसले आँशु पुछ्दै हिँडिरहेका दृश्य कैद भए।
भावविह्वल भएर मैदान छोडेका ती खेलाडी समकालीन विश्व फुटबलका महान् खेलाडी क्रिष्टियानो रोनाल्डो थिए। उनी स्वयं र उनका समर्थकले विश्वकपबाट रोनाल्डोको बिदाइको क्षण यस्तो होला भन्ने सायदै कल्पना गरेका थिए।सन् १९८५ फेब्रुअरी ५ मा जन्मिएका रोनाल्डोको बच्चैदेखि फुटबलमा लगाव थियो।
पोर्चुगलको क्लब स्पोर्टिङ लिस्बनसँग २००३ को अगस्टमा एक मैत्रीपूर्ण खेल हुँदा म्यान्चेस्टर युनाइटेडका सबै खेलाडी रोनाल्डोको खेल देखेर मन्त्रमुग्ध भएका थिए।
फर्कँदा जहाजमै उनीहरूले म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक एलेक्स फर्गुसनलाई ‘यो केटोलाई जसरी पनि हाम्रोमा ल्याऔं’ भनेका थिए रे।त्यसको केही समयमै १८ वर्षीय रोनाल्डोलाई युनाइटेडले किनेको थियो। त्यसपछि उनको फुटबल करियर निरन्तर उकालो लाग्यो।