करिब २ महिनादेखि क्रिकेटर सन्दीप लामिछानेले कारागारमा कैद जीवन भोगिरहेका छन् । उनी केन्द्रीय कारागार सुन्धाराको चौघेराभित्र कैद छन् । खुला क्रिकेट मैदानमा बलिङ गरेर चम्किएका लामिछानेमाथि एक नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौंले १८ कात्तिकमा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो ।
तर, जेल जीवन भोगिरहेका लामिछानेको हातबाट क्रिकेट बल भने खोसिएको छैन । उनी पछिल्लो समय कारागारभित्रका कैदीबन्दीसँग नियमित क्रिकेट खेलिरहेका छन् । केही कैदीहरूलाई क्रिकेटबारे प्रशिक्षणसमेत दिइरहेका छन् । सुन्धारा कारागारका प्रमुख जेलर ईश्वरप्रसाद पाण्डेका अनुसार लामिछाने नियमित कैदीबन्दीसँग क्रिकेटकै अभ्यासमा व्यस्त हुन्छन् ।
‘हामीसँग बाहिरको जस्तो ठूलो क्रिकेट ग्राउन्ड त छैन । तर, सामान्य खेल खेल्न पुग्ने मैदान छ । त्यही मैदानमा सन्दीपसहित अरु कैदी पनि क्रिकेट खेल्छन्,’ जेलर पाण्डेले भने । लामिछानेसहित केही कैदीहरूले कुनै विशेष दिन परेका बेला छुट्टाछुट्टै टिम बनाएर खसी बाजी राखेर खेल्नेदेखि अन्य प्रकारका शैलीमा पनि क्रिकेट खेल्ने गरेको पाण्डेको भनाइ छ । कतिपय खेल्न नजानेकालाई सन्दीपले सिकाएर पनि खेलाउने गरेको पाण्डेले बताए ।
सन्दीपको पक्षबाट बसह गर्ने अधिवक्ता मुरारी सापकोटा पनि सन्दीपको कैद जीवन सामान्य नै रहेको बताउँछन् । उनी भन्छन्, ‘पहिलाको तुलनामा अहिले सन्दीपमा केही मनोबल बढेको जस्तो देखिन्छ । निरास भएर हिम्मत हारेर हुँदैन भन्ने भाव देखिन्छ । अरु कैदीजस्तै क्रिकेट खेलिरहन्छन् । करियरबारे भने केही चिन्तित देखिन्छन् ।’
सन्दीपमाथि नुवाकोटकी १७ वर्षीया नाबालिकालाई ५ भदौमा भक्तपुरको नगरकोट घुमाएर गौशाला पिङ्गलास्थानस्थित होटल काठमाडौं इनमा राखेर बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । सोही अभियोगमा पक्राउ परेका उनलाई जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
जिल्लाको आदेशविरुद्ध लामिछानेका वकिल उच्च अदालत पाटन पुगेका छन् । सन्दीपविरुद्धको पेसी उच्च अदालत पाटनले बिहीबारका लागि तोकेको छ । जिल्ला अदालतले पनि यो बीचमा सन्दीप र पीडित पक्षको बकपत्र लिने काम जारी राखेको छ ।
बकपत्र सकिएलगत्तै मुद्दा फैसला गर्नेतर्फ जिल्ला अदालत लाग्ने छ । तर, बिहीबार उच्च अदालत पाटनले थुनाबाहिर नै बसेर मुद्दा लड्ने व्यवस्था गरे उनी जेलमुक्त हुनेछन् । बलात्कारको आरोप पुष्टि भएको खण्डमा भने सन्दीपलाई १० देखि १२ वर्ष कैद सजाय हुनेछ ।
मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २१९ को उपदफा २ अनुसार कसैले पनि मञ्जुरी लिएर वा नलिएर १८ वर्षभन्दा कम उमेरको कुनै पनि नाबालिकासँग यौन सम्बन्ध राखे त्यो जबर्जस्ती करणी गरेको ठहरिने उल्लेख छ । यद्यपि, सन्दीपले पीडित नाबालिका नभएको प्रमाण यसअघि नै जिल्ला अदातल काठमाडौंमा पेस गरिसकेको र बलात्कार नगरेको जिकिर गरेका छन् । पीडित बालिकाले भने सन्दीपले आफूलाई नगरकोट लगेको र साँझ काठमाडौं फर्किँदा होटलमा राखेर बलात्कार गरेको बयान दिएकी थिइन् ।