काठमाडौं । भनिन्छ ‘माया त माया हो, अलग भए पनि चोखो माया त कहाँ छुट्छ र ?’ यो भनाइ गायिका बबिता बानियाँ ‘जेरी’सँग मेल खाएको छ ।
कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा जेरी र शंकर क्षेत्रीबीच कानुनीरुपमै सम्बन्ध विच्छेद भएको थियो । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमतिमा उनीहरु अलग भएका थिए ।
अलग भएको डेढ महिनामै जेरीले फेसबुकमा पूर्वपतिसँगको तस्वीर सेयर गर्दै शंकर र बच्चाप्रति माया दर्शाएकी छन् । उनी लेख्छिन्, ‘तीतै भए पनि अतीत र सत्य नकार्न सकिंदो रहेनछ ।’ उक्त तस्वीर पुरानै भएको पनि उनले उल्लेख गरेकी छन् ।
जेरीको यो पोस्टमा मिश्रित प्रतिक्रिया प्राप्त भएका छन् । केहीले सम्बन्ध सकिंदैमा सद्भाव सकिनुपर्छ भन्ने छैन भनेर लेखेका छन् । केहीले माया दोहोरो भएको भए यो दिन आउने थिएन भनेर लेखेका छन् ।
कतिपयले पुनः जोडिन सुझाएका छन् भने केहीले फोटो पोस्ट गर्नु जेरीको केटाकेटी पारा भएको लेखेका छन् ।
विवाह भएको १४ दिनपछि नै आफूमाथि शारीरिक र मानसिक शोषण भएको भनेकी जेरीले श्रीमानको विवाहेत्तर सम्बन्ध पनि खटपटको प्रमुख कारण रहेको बताएकी थिइन् ।