पाल्पाको तानसेन नगरपालिका–४, बारुदखानामा राणाका: लीन अवस्थाका करिव ३ सय गोला बारुद फेला परेको छ। घडेरी खन्ने क्रममा तोपका सयौं गोला भेटिएको जनाईएको छ।
पाल्पा अस्पतालदेखि २ सय मिटर दक्षिणतर्फ रहेको पुरानो गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला भेटिएका हुन्। नेपाली सेनाको जग्गामा अतिथि गृह निर्माण गर्न घडेरी खन्ने क्रममा गोला भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।
३०० भन्दा बढी तोपका गोला फेला परेको प्रहरीले जनाएको छ। ०६२ साल माघ १८ गते तत्कालीन विद्रोही माओवादी आक्रमणमा गोलाखाना घर भत्काएका थिए । त्यही ठाउँमा सोमबारदेखि नेपाली सेनाले अतिथि गृह निर्माणका लागि घडेरी खनिरहेको छ।
माथिल्लो भागमा ढलान गरिएको र तल्लो एक लेयरमा गोलाहरु भेटिएको जनाईएको छ। इतिहासविद्हरुका अनुसार त्यहाँ झिँगटीले छाएको गोलाखाना घर थियो। यहाँ पहिले नेपाली सेनाको एक टुकडी बस्ने गर्दथ्यो।
भीमसेन थापाको पालामा सेनाले गोला, बारुद, हतियार बनाउन फ्रान्सबाट सहयोग लिएको थियो। पृथ्वीनारायण शाहका पालामा पनि हातहतियार बनाउने तालिम दिइन्थ्यो। पाल्पामा त्यसबेलाका नेपालभरका २६ मध्ये चार पल्टन थियो। भवानीदल, बरख, इन्द्रध्वज र सवुज गण यही थियो। पाल्पा गौडाबाट पश्चिम क्षेत्रमा हातहतियार आपूर्ति हुन्थ्यो।
राणाकालीन अवस्थामा राखिएका तोपका गोला हुनुपर्ने इतिहाँस विद निर्मल श्रेष्ठको मत छ। हाल पाल्पा अस्पतालनजिकै मोहनकन्याको छात्रावासबाट तोप दैनिक पड्काउने गरिन्थ्यो। २०१८ सालदेखि तोप दैनिक पड्काउन बन्द भएको हो। जिल्लाकै मदनपोखराको छापमा बागलुङबाट ल्याएका गोलनदारहरूको सात घर बस्ती पनि छ। २९ घर फलाम खानीमा काम गर्नेहरुसमेत रहेको उनले बताए।
भीमसेन थापाको पालादखि नै तोपमा राख्ने गोला बनाएको इतिहास पढ्न पाइने उनले बताए। सैनिक सामरिक स्थान भएकाले यस्ता तोपका गोला भेटिनु सामान्य भएको श्रेष्ठ बताए।
अब, हेर्नुहोस समाचारको यो भिडियो