काठमाडौं । युवापुस्ताका चर्चित गिटारिस्ट तथा संगीतकर्मी निशान्त आचार्यको पनि आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएको छ । रक गायक तथा अभिनेता रविन तामाङ, अभया सुब्बा, रक ब्याण्ड मंकी टेम्पलसहित उनका फ्यानले सामाजिक सञ्जालमा आचार्यलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
पोखरा घर भएका आचार्य पछिल्लो समय नेपालका चर्चित गिटारिस्ट हुन् जसको लोकप्रियता युटयुब र टिकटकजस्ता इन्टरनेटका भिडियो प्लेटफर्ममा पनि उत्तिकै छ । उनको आफ्नै केसिक्स बिफोर नामक ब्याण्ड छ भने उनले यी भिडियो प्लेटफर्मबाट गिटारसम्बन्धी ट्युटोरियल सिकाउँदै आएका छन् । उनको गिटार ट्युटोरियल सिकेर पछिल्लो समय मुलुकका तन्नेरीहरु संगीततर्फ आकर्षित भइरहेका छन् ।
निशान्तलाई श्रद्धाञ्जली दिंदै रक गायक तामाङ लेख्छन्, ‘विमान दुर्घटनामा आफ्नो प्रियजन गुमाउनु पर्दा आज पीडा र सम्झनाको बाढी आए । आफ्ना प्रियजन गुमाउनुहुने सम्पूर्ण परिवारमा सहानुभूति छ । निशान्त आचार्य भाइ तिम्रो आत्माले शान्ति पाओस्, परिवार र साथीभाइमा गहिरो समवेदना ।’
मुलुकको चर्चित रक ब्याण्ड मंकी टेम्पलले निशान्तलाई अद्भूत गिटारिस्ट भएको जनाएको छ । केही वर्षअघि निशान्तले ‘सँगै बाँचौं न’ बोलको फिंगर स्टाइल गीत रिलिज गरेको जनाउँदै ब्याण्डले सुरक्षा लापरवाहीको कारण उनको निधन भएको जनाएको छ ।
आइतबारको उक्त विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको उक्त विमान चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।
भेरी करिडोर : अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा
सुर्खेत, १ माघ (रासस) :
भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको अध्ययनका लागि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको छ । निर्माणधीन सडकमा हुनसक्ने कमी, कमजोरी तथा गुनासा सुन्न र निर्माण कार्य बाँकी रहेको सडकको विस्तृत अध्ययनका लागि डिभिजन प्रमुख आशुतोष कर्णसहितको टोली उपल्लो डोल्पा पुगेको हो ।
जाजरकोटबाट डोल्पाको दुनैसम्म एक सय १८ किलोमिटर सडक भेरी करिडोरभित्र पर्दछ । मोरिम्ला नाकादेखि धो सम्मको ६५ किलोमिटर सडक रहेको छ । मोरिम्ला नाकादेखि धो सम्माको ६५ किलोमिटर सडक निर्माणको ट्र्याक खोल्ने काम भइसकेको छ । दुनै–ल्यासिक्याप सडक २० किलोमिटर लामो छ ।
डोल्पा सदरमुकाम दुनैबाट–ल्यासीक्याप सडकखण्डको निर्माण कार्यसमेत सडक डिभिजन चौरजहारीमार्फत भइरहेको छ । सडक डिभिजनको टोलीले एक सय ४८ किलोमिटर सडकको अध्ययन यस पटक गरेको प्रमुख कर्णले जानकारी दिनुभयो । दुनै लासीक्याप सडक खण्डमा कामको सम्झौता गरे पनि १० महिनादेखि निर्माण व्यवसायीले काम नगरेको भन्दै आलोचना भएपछि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको हो ।
विसं २०७८ चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । यस आयोजनाको कूल लागत रु १३ करोड ४१ लाख रहेको कार्यालयले जनाएको छ । दुनै–ल्यासीक्याप सडकखण्ड काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका हुँदै चीनसँगको सीमामा पर्ने मोरिम्ला नाका पुग्न सकिन्छ । अहिले जाजरकोटको भेरी नगरपालिका–४ पासागाडबाट नलगाड नगरपालिका–१२ को तल्लुसम्म सडक स्तरोन्नतिका लागि ठेक्का भएर यति विल्ड्रसले काम गरिरहेको छ ।
कर्णाली प्रदेश हुँदै लम्बिनी प्रदेशको नेपालगञ्ज, जमुनाह नाकासमेत यसले जोड्छ । भेरी करिडोर निर्माण भएमा भारतको रुपेडियाबाट चीनको तिब्बत्सँग यसको सिधा सडक सम्पर्क जोडिने छ । जाजरकोटदेखि दुनैसम्म अस्थायी ट्र्याक नेपाली सेनाले खोलेको हो । अहिले स्तरोन्नतिको काम सडक डिभिजन चौरजहारीले गरिरहेको छ । रणनीतिक सडक भएकाले कामलाई गति दिन अनुगमनको पाटोलाई कडाइका साथ लिइएको सडक डिभिजन चौरजहारीका प्रमुख कर्णले बताउनुभयो ।
दुनैदेखि लासिक्यापसम्मको सडक निर्माण गर्न हिउँदमा अत्यधिक चिसोका कारण मुस्किल हुनेगर्छ । वर्षायाममा सडक खन्नका लागि निर्माण सामग्रीदेखि विभिन्न औजारको समस्या हुन्छ । उपल्लो डोल्पामा सडक निर्माण नहुँदा घोडा, खच्चडका भरमा दैनिक काम हुँदै आएको छ । सदरमुकाम दुनैबाट घोडा, खच्चड र चौँरीबाट नै खाद्यान्नदेखि निर्माण सामग्री ढुवानी गरिन्छ ।
भेरी करिडोर निर्माण गर्न अत्यधिक लगानी गर्नुपर्ने डिभिजन प्रमुख कर्णको भनाइ छ । जाजरकोट सदरमुकामबाट उपल्लो डोल्पाको धोसम्म मात्र २५ पुल निर्माण गर्नुपर्ने अवस्था छ । जाजरकोट रिम्ना र नलगाड नगरपालिका–१२ तल्लुसम्म कालोपत्र गर्न ठेक्का भइसकेको छ । तल्लुबाट दुनैसम्म सडक कालोपत्र चाँडै थालिने उहाँले बताउनुभयो ।