बीमाबापत कति रकम पाउँछन् विमान दुर्घटनामा मृत्यु भएकाकाे परिवारले ?

Spread the love

काठमाडौँ – आइतबार काठमाडौंबाट पोखराका लागि उडान भरेको यती एयरको जहाज दुर्घटनामा पर्‍याे । आन्तरिक तर्फ सबैभन्दा ठूलो दुर्घटना उक्त जहाजमा चालकदलका ४ जना सहित ६८ यात्रु रहेका थिए ।

काठमाडौंबाट बिहान १०ः३२ बजे पोखराका लागि उडान भरेको यती एयरलाइन्सको जहाज ९ एन–एएनसी जहाज पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । सो जहाजमा क्याप्टेन कमल केसी, को–पाइलट अञ्जु खतिवडा र एयर होस्टेज सृजना होंगचुन र ओसीन आले मगर थिए ।

६८ जना यात्रु रहेको उक्त जहाजमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए । दुर्घटनामा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, एक जना आयरल्याण्ड, एक जना अष्ट्रेलियन, एक जना अर्जेटिनी, दुई कोरियन, एक जना फ्रान्सेली गरी ६८ जना र चालक दलका ४ जनासहित ७२ जना थिए ।

बीमा रकम कति पाउँछन् मृतकका परिवारले?

नेपालमा हाल आन्तरिक उडान वार्सा महासन्धि र हेग प्रोटोकल अन्तर्गत रहेको छ । यसले आन्तरिक उडानमा मृत्यु भएका परिवारले बीमाबापत २० हजार अमेरिकी डलर पाउनेछन् ।

यसअन्तर्गत आइतबार उक्त जहाजमा मृत्यु भएकाकाे परिवारका सदस्यले सोही दिनको विनिमय दर अन्तर्गत १ अमेरिकी डलर बराबर १२९.४६ को २५ लाख ८९ हजार ६०० रुपैयाँ बीमा रकम पाउनेछन् । यस्तै चालक दलका सदस्यको बीमा भने ४० हजार अमेरिकी डलरको हुन्छ । चालक दलका सदस्यका परिवारले ५१ लाख ७८ हजार ४०० रुपैयाँ बीमा बापतको रकम प्राप्त गर्नेछन् ।