बिना अनुमति खेल चलिरहेको फुटबल मैदानमा हेलिकप्टर अवतरण गरेपछि …

Spread the love

स्याङ्जामा प्रभु एयरको हेलिकप्टरले बिना अनुमति खेल मैदानमा अवतरण गरेको छ। बिहीबार दिउँसो साढे २ बजे वालिङ नगरपालिकामा रहेको खेल मैदानमा प्रभु एयरको हेलिकप्टर ल्याण्ड भएको हो।

उक्त खेल मैदानमा वालिङ गोल्डकप जारी थियो। बिहीबार सेमिफाइनलअन्तर्गत क्यामरुनको एभिनियर एफसी र स्थानिय टिम वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भइरहेको थियो।

त्यही खेल भइरहँदा एकाएक हेलिकप्टर ल्याण्ड भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए। ‘हेलिकप्टरले सुरक्षा निकायलाई कुनै पनि जानकारी गराएको थिएन। सिधै गएर त्यहाँ ल्याण्ड गरेको पायौं,’ उनले भने, ‘पहिले जानकारी गराएर मान्छेहरू क्लियर गराउनुपर्थ्यो।

तर कसैको लहडबाजीमा यस्तो काम भएको देखियो। कसैलाई चोट त लागेन तर बिनाअनुमति त्यसरी आउन पाइन्न।’यसरी एकाएक ल्याण्ड गरे पनि केहीबेर मैदान तनावग्रस्त समेत बनेको थियो। स्थानीयले पाइलट रमेश डंगोलमाथि हातपात समेत गरेका छन्।

यस्तै हेलिकप्टरका एक जना यात्रु सो ठाउँमा ओर्लिएको पनि प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए। ती व्यक्तिमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। उक्त हेलिकप्टर पोखराबाट आएर वालिङ पुगेको थियो भने पुन: पोखरामै फर्कियो।

यसरी लापरबाही गरेको भन्दै प्रशासन कार्यालयले नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरालाई आवश्यक छानबिन तथा कारबाहीको लागि पत्र समेत लेखी पठाएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए।