हामी सदैव कुनै कुराबाट कसरी छुटकारा पाउने भनेर सोचिरहेका हुन्छौँ । तपाईं कुनै पनि कुराबाट जबर्जस्ती छुटकारा पाउन सक्नुहुन्न । यदि तपाईंले कुनै कुरालाई जबर्जस्ती त्याग्न खोज्नुभयो भने, त्यो अर्को रूपमा प्रस्तुत हुनेछ अनि तपाईंभित्र अर्को किसिमको विकार उत्पन्न हुनेछ । यदि त्यसलाई त्याग्ने कोशिस गर्नुभयो भने, त्यही कुरा तपाईंको मन र चेतनामा पूर्ण रूपमा हाबी हुनेछ । तर, यदि तपाईंले अहिले आफूले जानेको भन्दा अझ गहिरो चिज पाउनुभयो भने, त्योभन्दा कम महत्त्व रहेको कुरा स्वतः छुट्नेछ । सायद तपाईंलाई यो थाहा हुनुपर्छ कि जो मानिसहरू कुनै बौद्धिक क्रियाकलापमा पूरै संलग्न हुन्छन्, उनीहरू सेक्स गर्नुको सट्टा किताब पढ्न रुचाउँछन् ।
कामवासना र यौन सम्बन्धलाई तपाईंले यसरी पछ्याउनुको कारण के हो भने, यतिखेर तपाईंको निम्ति त्यही सबैभन्दा परम सुख हो । यदि तपाईंलाई कसैले “यो गलत हो, त्यसलाई त्याग” भन्छन् भने, के तपाईं त्यसलाई त्याग्नुहुन्छ र ? तर, यदि तपाईंले त्योभन्दा उच्च आनन्द चाख्नुभयो भने, तपाईंलाई कसैले त्यो कुरा त्याग्न भनिरहनु पर्ला र ? त्यो आफैँ छुट्नेछ । अत: तपाईंले अलिकति समय केही आवश्यक कार्यहरूमा खर्चिनुपर्ने हुन्छ, जसले गर्दा एउटा विशाल सम्भावना तपाईंको निम्ति यथार्थ बन्नेछ । जब तपाईं कुनै विशाल चिज अनुभव गर्नुहुन्छ, जसले तपाईंलाई निकै बढी सुख दिन्छ, परम–आनन्दमा पुऱ्याउँछ, तब स-साना सुखहरू स्वतः छुट्नेछन् । तपाईंले त्यसलाई त्याग्नुभएको हुँदैन; कुरा यत्ति हो कि तपाईं अब त्यो काम गर्नुहुन्न, किनकि तपाईंले आफ्नो निम्ति निकै विशाल कुरा पाउनुभएको छ ।
यो कुरा तपाईंको जीवनका कयौँ पक्षहरूमा घटेका छन् । तपाईं बच्चा छँदा जुन चिजहरू पूरै संसार बराबर लाग्दथे, ती सबै छुटेर गए किनकि तपाईंले यस्तो कुरा पाउनुभयो जुन तपाईंको निम्ति पहिलेको भन्दा उच्च थियो । यहाँ पनि सोही कुरा लागू हुन्छ । जब तपाईं कुनै यस्तो चिजको सम्पर्कमा आउनुहुन्छ, जसमा असाध्यै तिव्रता छ, जसले तपाईंलाई निकै बढी सुख वा भनौँ परम–आनन्द दिन्छ, तब यी यावत् कुराहरू आफैँ जानेछन् ।
कामवासना, तपाईंभित्रको सानो हिस्सा मात्र हो । फोस्रो र बेतूकको नैतिकताले गर्दा नै मानिसहरू यौन र त्यससम्बन्धी विषयहरूमा अत्यधिक लिप्त भएका हुन्, किनकि उनीहरू त्यसलाई जबर्जस्ती छोड्न खोजिरहेका छन् । जब तपाईं पुरुष वा स्त्री भन्नुहुन्छ, त्यो एउटा सानो शारीरिक भिन्नता मात्र हो, जसद्वारा खास प्राकृतिक प्रक्रिया पूरा गर्न सकिन्छ । हामीले शरीरको एउटा भागलाई किन यति धेरै महत्त्व दिइरहेका छौँ ? वास्तवमा, शरीरको कुनै पनि भागलाई त्यस हदसम्मको महत्त्व दिन जरूरी छैन । तर, यदि शरीरको कुनै भागलाई त्यस हदसम्म महत्त्व दिनु नै छ भने, दिमाग त्यसको लागि योग्य हुनेछ, यौन अङ्गहरू होइनन् ।
दुर्भाग्यवश, सबैथोक उल्टो भइरहेको छ, किनकि जताततै बकम्फुसे पाठहरू पढाइँदैछ, “तपाईं पवित्र हुनुपर्छ, तपाईंले यसको बारेमा सोच्नुहुँदैन ।” यस्तै मूर्खतापूर्ण शिक्षाहरूले मानिसहरूको दिमाग भरिएको छ अनि उनीहरू पूरै भद्रगोल बनेका छन् । जीवन वास्तवमा जस्तो छ, यसलाई मानिसहरूले त्यही रूपमा हेर्ने हो भने, कामवासना आफ्नो उचित ठाउँमा रहने थियो— तपाईंको जीवनमा एउटा सानो स्थान ओगट्ने थियो, यति विशाल पक्ष बन्ने थिएन । त्यो त्यसरी रहनुपर्छ । हरेक प्राणीमा यो त्यसरी नै रहेको हुन्छ । जनावरहरू जतिबेला पनि त्यसको बारेमा सोचिरहँदैनन् । जब उनीहरूमा त्यसको आवश्यकता हुन्छ, त्यो व्यक्त हुन्छ । अरू समयमा उनीहरू निरन्तर यो विचारमा फस्दैनन् कि को भाले हो, को पोथी हो ? मानिसहरू मात्रै त्यसमै अल्झिरहेका छन् । एक पलको लागि पनि उनीहरू त्यसलाई छोड्न सक्दैनन् । यसको कारण के हो भने, जीवनसँग सरोकार नै नराख्ने वाहियात नैतिकता र मूर्खतापूर्ण शिक्षाहरू उनीहरूभित्र घुसेका छन् ।
जीवन जस्तो छ, यसलाई त्यही रूपमा हेर्न सकेको भए, अधिकांश मानिसहरू छोटो समयमै त्यसबाट बाहिर निस्किने थिए । कयौँ मानिसहरू त्यसमा नफसिकनै त्यसबाट बाहिर निस्किन सक्छन् । जीवनलाई अनुपयुक्त ढङ्गले हेरिएकोले सबैथोक विकृत भएको छ अनि बढाइ–चढाइ गरिएको छ, कुरा त्यत्ति हो । त्यसो नभएको भए, तपाईंले देख्नुहुने थियो कि मानिसहरूको आबादीको ठूलो हिस्सालाई यी सबै कुराहरूमा रुचि नै हुने थिएन अथवा उनीहरूमा कहिलेकाहिँ मात्र त्यसप्रति रुचि हुने थियो— मानिसहरूको जीवनमा कामवासना त्यति बढी महत्त्वपूर्ण हुने थिएन, जति अहिले छ ।
–सदगुरुको प्रवचनमा आधारित