झापा शिवसताक्षी–११, दूधे स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत तीन जना विद्यार्थीले बनाएको विद्युतीय गाडी । करिब रु एक लाख ५० हजार मूल्य खर्च गरेर तयार गर्नुभएको गाडीमा मङ्गलवार नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रालाई राखेर दूधे बजार परिक्रमा गराउँदै थिए । तस्बिर ः यज्ञराज आङ्गदेम्बे÷रासस
रसुवाका ग्रामीण क्षेत्रमा बस सञ्चालन
रसुवा, १८ माघ (रासस) :
हिमाली क्षेत्रका गाउँमा बस सञ्चालनमा आएपछि यहाँका स्थानीयको लामो तथा छोटो दूरीको यात्रा सहज भएको छ ।
जिल्लाको लाङटाङ्बाहेक अन्य क्षेत्रका गाउँमा सडक निर्माण भइसकेकाले बस व्यवसायीले नियमित सेवा दिन थालेपछि जिल्लादेखि राजधानीसम्मको यात्रा सहज भएको स्थानीय बताउँछन् ।
बस सञ्चालनमा आएपछि नियमित यात्रा गर्नाका साथै एम्बुलेन्स सेवा, खाद्यान्न ढुवानी, विकास निर्माणका लागि आवश्यक मेसिनरी ढुवानी लगायतका काममा सहज भएको स्थानीयको भनाइ छ ।
उत्तरी रसुवाको टिमुरे, थुमन, तातोपानी, थाम्बुचेत, गतलाङ, हाकुबेँसी, दक्षिणी क्षेत्रको डाडाँगाउँ, ठूलोगाउँ, मनिगाउँ, कर्मिडाँडा, जीवजीवे, अम्बावास, भोर्ले, यार्सा सरमथली, पाटीखर्कलगायतमा नियमित बस सेवा सञ्चालन भइरहेको स्थानीयको भनाइ छ ।
पुर्खाले भञ्ज्याङ चौतारीका गोरेटो तथा घोडेटो बाटोमा पैदलयात्रा गर्दथे तर अहिले सडक सञ्जाल विस्तार भएर बसबाट यात्रा गर्न थालेपछि दैनिकी सहज भएको बताइएको छ ।
काठमाडौँबाट बिहान छुट्ने बस साँझ ५ बजेभित्र जिल्लामा पुगिसक्ने स्थानीय चिरञ्जीवी पौडेलले बताउनुभयो । उहाँका अनुसार यातायातको सुविधाका कारण यहाँ प्रकृतिको अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढेको छ ।
भ्रमणका लागि डाँडागाउँ, ठूलोगाउँ, आम भञ्ज्याङ, धैवुङ–घुम्तीबजार, हाकुबेँसी, तातोपानी, उत्तरी क्षेत्रको धुञ्चेलगायतका स्थान रहेका होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले (निसान) ले जानकारी दिनुभयो ।
–––