काठमाण्डौ । हिजोआज सामाजिक सञ्जाल टिकटकमा ‘धोकेबाज हौ तिमी’ बोलको एउटा गीत ‘भाइरल’ भएको छ । गायिकाले महोत्सवमा गीत गाउँदा केही युवतीहरुले क्यामेरातिर फर्केर हाउभाउ देखाएको भिडियो सार्वजनिक भएपछि टिकटकमा त्यसकै नक्कल गर्नेहरुको संख्या थपिएको छ । गाउँदा, नाच्दा वा केही फरक गरेर अरुको नजरमा पर्ने र चर्चा हासिल गर्ने उद्देश्यले यसैगरी भाइरल हुने होड बेलाबेला चलेको देखिन्छ । यसरी भाइरल हुने होडमा किशोरकिशोरी बढी देखिन्छन् ।
केही दिनअघि गायक पुष्कल शर्माले कैलाली अत्तरियाको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा प्रस्तुती दिँदै गर्दा एउटी युवती रोएर सँगै गाउँदै गरेको भिडियो भाइरल भएको थियो । ती युवतीलाई त्यसो नगर्न भनेर शर्माले सम्झाउनु भएको थियो । त्यसपछि ठाउँठाउँको महोत्सवमा गायिका एलिना चौहानको ‘धोकेबाज हौ तिमी’ भन्ने गीतमा भाइरल हुनका लागि जता जता क्यामरा देखिन्छ त्यतै त्यतै चिच्याउने कराउने गरेको भिडियो देख्न सकिन्छ ।
आफूले गीत गाउँदै गर्दा कोही मिनरल वाटरको बोतलबाट पानी खन्याएर नाच्ने, कोही हँसाउने ढंगले नाच्ने, कोही कार्यक्रमको छेकबार नै भत्काउँला झैँ गर्ने गरेको गायिका चौहान बताउँछिन् । आफूले यस्ता गतिविधि नगर्न स्टेजबाटै भन्ने गरेको पनि उनले बताईन् । ‘अरुलाई पानी छ्याप्ने, असर गर्ने, ठेल्ने, लडाउने काम नगर्न तथा रमाइलो गर्न भनिरहेकी हुन्छु,’ उनी भन्छिन्,‘यस्ता कारणले गीतका शब्दहरु बिर्सिने कता कता पुग्ने हुन्छ । तर, कभर गर्छु ।’
यसमा भाइरल हुन खोज्नेभन्दा पनि भाइरल बनाउनेको गल्ती धेरै रहेको उनको भनाइ छ । रमाइलो गर्नेले गरे पनि त्यसरी भिडियो खिचेर हालेका कारण व्यक्तिगत जीवनमा असर पर्ने र रमाइलो गर्ने व्यक्तिले पनि यस्ता कुरामा भने सचेत हुनुपर्ने उनको सुझाव छ । उनी भन्छिन्,‘अहिले देखिने भएर यो ठूलो जस्तो भएको हो । अहिले त ट्रेन्ड जस्तो देखिन्छ । अहिले मोबाइल तेस्र्याइदिने अनि विना स्वीकृति भिडियो अपलोड गर्ने गरेका कारण पनि यस्तो भएको हो ।’
भाइरल भएपछि चर्चामा आउने कारणले अहिलेको पुस्तालाई यो सही नभएको र यस्तो ठीक होइन भनेर सम्झाउन गाह्रो परेको भन्नुहुन्छ चाबहिलकी सरस्वती घिमिरे । उहाँ भन्नुहुन्छ, ‘अहिले हाम्रै छोराछोरीलाई पनि सम्झाउन गाह्रो छ । केही भन्यो, सम्झायो भने हामीलाई थाहा छ भनेजस्तो गर्छन् ।’ छोराछोरीलाई सम्झाउने बुझाउने भन्दा पनि यो एउटा परम्पराकोरुपमा विकास होला भन्नेमा घिमिरेको चिन्ता देखिन्छ । उनी भन्छिन्,‘अहिले सबैलाई भाइरल हुने रहर छ । भोलि त यो कल्चरकोरुपमा विकास होला जस्तो पो भयो ।’
अहिले आमाबाबुले पनि आफ्ना साना केटाकेटीलाई पनि भाइरल बनाउने नाममा विभिन्न भिडियोहरु अपलोड गर्ने गर्दा भोलि त्यसले भविष्यमा असर गर्ने घिमिरेको भनाइ छ । उनी भन्छिन्,‘अहिले बाउआमालाई छोराछोरीलाई सानैदेखि भाइरल बनाउने रहरले भोलि गएर ती केटाकेटीले चर्चा पाएनन् वा कसैले राम्रो व्यवहार गरेनन् भने तिनले समाजमा संघर्ष गरेर बाँच्नै नसक्लान भन्ने डर पनि छ ।’
अहिले भाइरल हुने कुराले पछि नकारात्मक असर पर्ने बाल मनोविद् डा। गंगा पाठकको भनाइ छ । उनी भन्छिन्,‘यो एकदमै नराम्रो र समाजमा विकृति ल्याउने कुरा हो । कति लाइक आयो, कति कमेण्ट आयो अनि कति भ्यूज भयो भन्ने कुराले झनै तनाव दिने गरेको छ ।’ एक जना किशोरीले अरुको टिकटक हेरेर आफूले टिकटक बनाउन थालेपछि त्यहाँ आएका नकारात्मक टिप्पणीले किशोरीलाई डिप्रेशन भएर औषधि खुवाउनु परेको र मनोपरामर्श पनि गर्नु परेको उनको अनुभव छ ।
विशेषगरी १३र१४ वर्षको उमेर एकदमै संवेदनशील उमेर भएको यस उमेर समूहका किशोरकिशोरीहरुले के राम्रो, के नराम्रो थाहा नपाउने, अरुको नक्कल गर्ने, चाँडै नै उचाइमा पुग्न खोज्ने कारणले अहिले भाइरल हुने प्रवृत्ति बढेको र यसले मानसिक रोगी बनाउने पनि उनको भनाइ छ । उनका अनुसार अहिलेका पुस्ताको आफ्नो विशेष क्षमता, खुबी, सीप प्रस्तुत गरेर स्थापित हुनेभन्दा पनि तुरुन्तै आफूप्रति ध्यान खिच्न खोज्ने प्रवृत्ति बढेको छ ।
उनी भन्छिन्,‘सानो बच्चालाई एक्सपोज गरेको होस् वा ठूलालाई यसले एउटा त आनन्द दिने भयो भने अर्को भनेको यस्ले छिटै नै अरुको एटेन्सन खिच्ने काम पनि गर्छ । यो कसैले जानाजान चर्चित हुन् र कोही भने केवल मनोरञ्जनका लागि गरिरहेका हुन्छन् । यसमा कस्ले कसरी प्रयोग ग¥यो भन्ने कुरा मुख्य हो ।’उनका अनुसार कसैले एकदमै सस्तो र सहज तरिकाले लिन्छन् भने यो मनोरञ्जन भयो ।
यसमा आफूले पनि आनन्द लियो अरुलाई पनि आनन्द दियो । अथवा कोही भने यस्तो गरेर भाइरल बन्छु, धेरैले हेरुन भनेर यसो गर्ने गर्छन् । यो सही वा गलत के हो भन्ने नबुझी साथीको वा फलानोको भिडियो भाइरल भएछ अब म पनि बनाउनु पर्यो भनेर लहैलहै र देखासिकीमा जाने तर, त्यसको सकारात्मक अनि नकारात्मक पक्ष नहेर्ने तथा के उपलब्धि हुन्छ भनेर भिडियो बनाउने होडबाजी नै चलेको मनोविद पाठक बताउँछन् ।
भाइरल हुने नाममा त्यसको सकारात्मक वा नकारात्मक पाटो नहेरी भिडियो बनाउँदा पछि यसले व्यक्तित्व विकासमा पनि ठूलो असर गर्ने भएकाले सचेत हुन उनको सुझाव छ । उज्यालो ।