शिव शव्दको शाव्दिक अर्थ केही पनि नभएको शुन्यता भन्ने हुन्छ । केही पनि नभएको शुन्यता, शुन्यता नै शुरुवात पनि त हो । आखिर अहिलेको क्वान्टम फिजीक्सले पनि त हरेक कुराको शुरुवात र अन्त शुन्यता नै त भनेको छ ।
यस ब्रह्माण्डको शुरुवात र अन्त पनि त शुन्यता नै हो, यहाँ शुन्यता नै शुरुवात अनि समापन दुबै हो भनेर आधुनिक बिज्ञानले पनि त भनेको छ । यस ब्रह्माण्ड एउटा बिशालकाय शुन्यता र महाघटना अनि त्यसको परिघटनाका रुपमा घटिरहेको छ । बाँकी त केवल शुन्यता मात्र त हो, त्यस शुन्यता नै शिव हुन् ।
शिव एउटा शक्ति हो, उर्जा हो जसले शुन्यतालाई सम्बोधन गरेको छ । शुन्यता बाटै उत्पन्न यस ब्रह्माण्डका हरेक कुराको गर्भ शुन्यता नै हो अनि अन्त पनि, यस अर्थमा शिव नै आदि अनि अन्त हुन् । सम्पूर्ण कुरा शिव बाटै आएर शिव मै सकिने हो ।
शिव एउटा शुन्य शक्ति हो, जून नभएर पनि सर्वबिधमान छ । तारापुञ्जहरुका सम्पूर्ण हाईड्रोजन हिलियममा परिवर्तन भएपछि श्रृजना हुने व्ल्याक होल देखि सूर्यको तेज अनि सूर्य जस्ता करोडौं अन्य ग्रहको ताप मा शिव बिधमान छन् । शिवलाई प्रकाश भन्दा पनि अन्धकार संग जोडिन्छ, शुन्यताको पर्याय अन्धकार जुन आँफैमा अनेकन प्रकाशहरुको श्रोत हो ।
प्रकाश चाहे हामीले बालेको बत्ति को होस् या सूर्य नारायण स्वयमकै किन नहोस् ? प्रकाश आयूले बाँधिएको हुन्छ, हिलियममा परिणत भएका हाइड्रोजनले अन्धकारलाई आत्मसाथ गर्दछन्, अन्धकार अबिछिन्न अनि अन्तहिन छ र त्यही अन्धकार नै ब्रह्माण्डको गर्भ हो, शिव हो । अन्धकार बिशिष्ट संभावना हो, अन्धकारका लागि केही जलिरहनु पर्दैन र यो निरन्तर सरिताका रुपमा बगिनैरहन्छ ।
यहाँ धेरै अन्धकारको कुरा गर्दा शिवशक्तिलाई अन्धकारसंग तुलना गर्दै दानवीय शक्तिको उपज जस्तो पनि देखिन्छ तथापि प्रकाश भन्दा अन्धकारमा दैवीय शक्ति र उर्जा धेरै हुन्छ । बिज्ञानले अहिले आएर परमाणु अनि अणुसंग पौठेजोरी खेल्दै बल्ल ब्रह्माण्डको उदगम लाई नथिगंनेश भन्दैगर्दा हामी पूर्विय दर्शनका अनुयायिहरुले त हजारौं बर्ष अघि बाट नै शिवबाट नथिगंनेश बुझेका र आत्मसाथ गर्दै आएका छौं ।
यो त भयो शिव शव्दको अर्थको व्याख्या अनि बिज्ञानको समन्वय र तर शिवको अर्को व्याख्या हुन्छ एउटा योगीका रुपमा । आदियोगी शिव, योग बिज्ञानका प्रथम गुरु शिव हुन् । जिवनलाई यसको उत्कट संभावना सम्म जोगाईरहन अनि जिवनपथलाई सहज, सरल अनि अर्थपूर्ण मार्गमा लान जिवनको अवयव र श्रृजनाका यथार्थ समागम गरिएको योगबिज्ञानका प्रवर्तक शिव आदियोगी हुन् ।
शिव योगीका रुपमा त्यतीबेला देखि छन् जब कुनै धर्म थिएन अनि तबसम्म रहन्छन् जबसम्म शुन्यताको गहिराईमा यस श्रृजना डुब्नेछ अनि अन्तहिन अन्तमा डुबुल्कि मार्नेछ । योगी अर्थात योग अर्थात जोड या संगम । एक यस्ता योगी जसले यी सगंमहरु अनुभव गरेका छन् । दुर्भाग्यबश आजभोली शिव केवल चित्र अनि क्यालेण्डरका कला मात्र बनेका छन् । हामीले उनका स्वरुपको चर्चा र अर्थ पत्ता लगाउन नसकेर केवल चित्रमा आफ्नो समझ सिमीत गरेका छौं ।
निलो रंगका, सर्पका माला लगाएका अनि जटा भएका एक साधु हाम्रा लागि शिव भएका छन्, किनभने क्यालेण्डर बनाउने मान्छेसंग केवल त्यो मात्र एउटा मानसचित्र छ सर्वव्यापी शिवको । उसले कृष्ण बनाउनु परेमा हातमा मुरली राखेर बनाँउछ, राम बनाउनु परे हातमा धनुवाण कोर्दछ अनि शिव बनाउनु परेमा चन्द्रमा र जटामा गंगा खोलाको बहाव हालिदिन्छ ।
दुर्भाग्य यहि त छ, हाम्रो यि शक्तिहरुसंगको साक्षात्कार अपूर्ण छ ।साधु सस्कारमा शिवलाई भगवानका रुपमा लिइन्न, शिव अनन्त साधु हुन जो हिमालय क्षेत्रमा बस्दछन् । मानविय चेतनामा शिवशक्तिको योगदान अत्यन्त बृहद छ ।
योग भनेकै पनि त ध्यान तानेर शुन्यतामा बस्नु या जानु हो । चेतना शुन्यतामा छ, पशुपति शिवको चेतना अभ्यासले पनि आफैभित्र हेर्न सिकाएको छ । शिवलाई बुझ्न एउटा जिवन काफी छैन् तर शिवको एक झल्को बुझाईले मात्र पनि हजारौं जिवन सफल हुन्छ ।