काठमाडौँ — निजी प्रयोजनका लागि दर्ता भएर भाडामा यात्रु बोक्ने १७ मोटरसाइकल चालकलाई प्रहरीले कारबाही गरेको छ । पाइएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले निजी प्रयोजनमा दर्ता भई भाडा लिई यात्रु बोक्ने गरेको पाइएपछि १७ वटा मोटरसाइकलका चालकलाई कारबाही गरेको हो ।
कानुनी प्रक्रिया पूरा नगरी सन्चालित एपको माध्यमबाट ग्राहकसँग जोडिएर यात्रु बोक्ने गरेका मोटरसाइकलहरुलाई ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ । त्यसक्रममा बुधबारमात्रै १७ वटा मोटरसाइकल चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार बुधबारै यात्रुबाट बढी भाडा लिने ९ जना ट्याक्सी चालकलाई पनि कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा अनुगमन गर्दा तोकीएको भन्दा बढी भाडा लिने ९ जना ट्याक्सी चालक फेला परेपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
ट्याक्सीमा यात्रा गर्दा बढी भाडा लिएमा र मिटरमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्न प्रहरीले आग्रह गर्दै आएको छ ।
‘सडकबाटै ब्याजदर तोक्न खोज्नु गैरजिम्मेवार’
काठमाडौँ — नेपाल बैंकर्स एसोसिएसनले ब्याजदर घटाउनका लागि भन्दै व्यवसायी सडकमा आउनुलाई गैरजिम्मेवारीका रुपमा टिप्पणी गरेको छ । नेपाल बैंकर्स एसोसिएसनको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसोसिएसनका अध्यक्ष सुनिल केसीले सडकबाट ब्याजदर नै तोक्न पाउनुपर्नेजस्ता गतिविधि गर्न खोजिएको उल्लेख गरे । केसीले भने ‘व्यवसायीले उत्पादन गरेका सामग्रीको मूल्य यति हुनुपर्छ भन्दै कसैले आन्दोलन त गरेको छैन ।’
भारत, अमेरिका लगायत विश्वका अन्य मुलुकहरुमा ब्याजदर बढ्ने क्रम जारी रहेको भन्दै उनले नेपाललाई ती मुलुकको अवस्थाले प्रभाव पर्ने बताए । ‘तरलतामा अझै चाप पर्ने देखिन्छ, त्यसकारण तत्काल ब्याजदर घट्ने अवस्था देखिँदैन’ उनले भने ।
बैंकले देशको कुना–कुनामा छरिएर रहेको रकम जम्मा गर्ने भएकाले निक्षेपकर्ताप्रति अझ बढी जिम्मेवार हुनुपर्ने उनले स्पष्ट पारे । ‘कसैले छोराछोरीको बिहेका लागि पैसा राखेका हुन्छन्, कसैले घरखर्चका लागि राखेका हुन्छन्, ती बचतकर्ताप्रति हाम्रो सबैभन्दा ठूलो दायित्व हो’ उनले भने ।
चर्को रुपमा ऋणको ब्याजको मात्रै कुरा सुनिने गरेको तर निक्षेपकर्ताले पाएको ब्याजलाई बेवास्ता गर्ने गरिएको बैंकरको भनाइ छ । सो कार्यक्रममा नेपाल बैंकर्स एसोसिएनका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले पछिल्लो समय बैंकहरुको खराव कर्जा बढेको टिप्पणी गरे ।
कतिपय व्यवसायीले उच्शृंखल माग राख्ने गरेको उनको भनाइ छ । बैंकलाई सबै पक्षले च्याप्न खोजेको ढुंगानाले गुनासो गरे । ‘व्यवसायीहरुले ब्याजदरलाई लिएर बैंकप्रति आक्रोश पोख्ने, आत्महत्या गरे भनेर उच्शृंखलता प्रदर्शन गर्ने, ऋण उठाउनका लागि ६ महिनाअघि सूचना छाप्न नपाइने, ऋण उठाउन सूचना जारी गर्दा राष्ट्र बैंकले व्यक्तिको फोटो नछाप भन्नेजस्ता विषयले बैंक चारैतिरबाट च्यापिएका छन्’ ढुंगानाले भने ।
सात वर्षपछि खुल्यो जयबागेश्वरी
काठमाडौँ — पशुपति क्षेत्रको मुख्य शक्तिपीठ जयबागेश्वरी मन्दिर ७ वर्षपछि सर्वसाधारणका लागि खुला भएको छ । २०७२ सालको भुइँचालोले क्षतिग्रस्त मन्दिरको पुनर्निर्माण सकिएपछि मन्दिर खुला भएको हो ।
‘पशुपति क्षेत्रमा आउने भक्तजन यो मन्दिरमा पनि आउने गर्छन्,’ जयबागेश्वरी टोल सुधार समिति अध्यक्ष छत्रानन्द वैद्यले भने, ‘तर, मन्दिर जीर्ण भएपछि यहाँ पूजा गर्न सर्वसाधारण आउँदैनथे ।’
मन्दिरमा नित्य पूजा भने नियमित थियो । जयबागेश्वरीलाई लिच्छविकाल र मल्लकाल बीचका राजाको कुलदेवता मानिन्छ । मन्दिर पुनर्निर्माणसँगै भक्तजनको चहलपहल बढेको जयबागेश्वरी भण्डार तहबिलका पचली नाइके हरिओम वैद्यले बताए ।
‘पहिला पनि कसैलाई निषेध त गरिएको थिएन । अहिले मन्दिर नै नयाँ जस्तो अनुभव छ,’ उनले भने । जयबागेश्वरी तान्त्रिक विधिबाट पूजा हुने मन्दिर हो । चार पुजारीले पालैपालो पूजा गर्छन् ।
नियमित पूजाबाहेक जयबागेश्वरीमा वर्षैभरि विभिन्न पर्व र उत्सव पनि हुने गरेको छ । साउन शुक्ल नवमीको दिनबाट विशेष पूजा सुरु हुन्छ । नवमीका दिन पवित्रारोहण गरिन्छ । मार्गशुक्ल नवमीको राती मुलडबली अगाडि बोडेगाउँको नवदुर्गा नाच हुन्छ ।
बोडेको नवदुर्गालाई जयबागेश्वरीको मितिनी मानेर पूजा गर्ने परम्परा रहेको छत्रानन्दले बताए । पौष शुक्ल त्रयोदशीका दिनदेखि महिना दिनसम्म बिहानमा मकलमा आगो राखी देवीलाई आगो ताप्ने कार्यक्रमसमेत हुन्छ । ‘मन्दिर जीर्ण हुँदा पर्वको रौनक नै घटेको थियो,’ वैद्यले भने, ‘यी अवसरमा हुने भजन कीर्तनमा समेत बाधा पुगेको थियो ।’
पशुपतिनाथको जतिकै अचल सम्पत्ति भएको मानिने यो मन्दिर प्रचीनमध्येमा पर्छ । पशुपतिनाथका वरिपरि ९ वटा शक्तिपीठ छन् । तीमध्ये एक जयबागेश्वरी पनि भएको कुलचन्द्र कोइरालाको पुस्तक आराध्यदेव श्रीपशुपतिनाथ पुस्तकमा उल्लेख छ ।
जयबागेश्वरीको मन्दिरमा प्रत्येक १२ वर्षमा कलेबर फेर्ने गरिन्छ । कलेबर फेर्दा यहाँका मूर्ति र प्रत्येक टुँडालका चित्रसमेत फेरिन्छन् । १२ वर्षमा फेर्नुपर्ने कलेबर अहिले अगाडि नै फेरिएको छ । ‘मन्दिर पुनर्निर्माण भएकाले कलेबर पनि चाँडै फेरियो,’ वैद्यले भने, ‘दुई वर्षपछि फेरि कलेबर फेर्नुपर्छ ।’
पहिला जयबागेश्वरीको मूर्ति थिएन । देवमाला वंशावलीका अनुसार पछि राजा वृषदेवको पालामा जयबागेश्वरी क्षेत्रमा ग्वल नाम गरेको सहर बसाले । राजा शिवदेवको पालामा जयबागेश्वरीको चञ्चल मूर्ति बनाएर त्यसमा चित्रकारी गरेको वंशावलीमा उल्लेख छ ।
पूजाका लागि आचार्यलाई पुजारी नियुक्त गरे । ‘राजा अंशुवर्माले प्रत्येक वर्ष रङरोगन गर्न मुस्किल छ भनेर १२ वर्षमा कलेबर फेर्ने चलन बसाइदिए,’ देवमाला वंशावलीमा उल्लेख छ । जयबागेश्वरीलाई सरस्वतीकै अर्को रूप मानिन्छ ।
प्राचीन मन्दिर पुनर्निर्माणका क्रममा विवाद पनि भएको थियो । चुनासुर्कीलगायतका निर्माण सामग्रीबाट बनाउन लागेपछि विरोध भएको थियो । पछि पशुपति क्षेत्र विकास कोषले पुरातन सामग्रीकै प्रयोग गरेर पुनर्निर्माण गराएको हो ।