सामूहिक बला’त्कारको २१ वर्ष : म कसरी बाँचेकी हुँला, कल्पना पनि गर्न सक्नुहुन्न

Spread the love

२२ भदौ २०५८ मा देशमा युद्धविराम थियो । तर, पर्सा जिल्लाको एउटा गाउँमा युद्धविराम निष्प्रभावी बन्यो र बस्ती युद्धस्थलमा परिणत भयो । गाउँमा आमसभा गर्न खोज्ने माओवादी र उनीहरूलाई गाउँ पस्न नदिन बनेको प्रतिकार समितिबीचको भिडन्तले गाउँ अशान्त थियो ।

त्यहाँ आमसभा गर्न पुगेका १३ माओवादी कार्यकर्तामध्ये केही पक्राउ परे, केही भागे । तीन जना महिलालाई भने प्रतिकार समितिले कब्जामा लियो । प्रतिकार समितिले त्यो गाउँका केही घरमा आगो लगाइदियो ।

प्रहरीले पक्राउ गरेका माओवादीका स्थानीय कार्यकर्ता समयक्रममा छुटे । तर, प्रतिकार समितिले पक्राउ गरेका तीन महिला सार्वजनिक रूपमै सामूहिक बलात्कारमा परे । त्यसमध्ये एक जनाको अहिलेसम्म पनि नामोनिसान छैन ।

त्यस दिन त्यहाँ सामूहिक बला’त्कारमा पर्नेहरूलाई हामीले ए–१, बी–१ र सी–१ नाम दिएका छौं । उनीहरू तीनै जनालाई प्रतिकार समितिले चार दिनसम्म कब्जामा लिएर यातना दिएको थियो । ‘सात जनाले बलात्कार गर्दा म होशमै थिएँ’ ए–१ भन्छिन्, ‘अनि म बेहोश भएछु । होशमा आउँदा मेरो हातखुट्टा भाँचिएका थिए । शरीरभरि घाउ थिए ।’

सी–१ को स्तन टोकिएको थियो, शरीरभरि घाउचोट थिए । ‘जे गर्नु छ मलाई गर, त्यो बालिकालाई छाडिदेऊ भनेर ए–१ कराइन् । उनी भन्छिन्, ‘यो गाउँको मान्छे म हो । बरु मलाई मार । तर उनलाई छाडिदेऊ भनेर मैले भनें, तर उनीहरूले सुनेनन् ।’

यसपछि ‘दिदी’ भन्दै रोइरहेकी सी–१ को आवाज केही समयपछि बन्द भयो । भीडले पालैसँग बला’त्कार गर्दै कुटपिट गर्दा उनी बेहोश भइछन् । ए–१ ले पछि सी–१ को रगताम्मे स्तन झुलुक्क देख्न पाएकी थिइन् ।

‘उनी सम्भवतः त्यहीं मरिन् होला, बी–१ मसँगै थिइन्’ ए–१ भन्छिन्, ‘मेरा श्रीमान् र मानवअधिकारकर्मीको जोडबलमा मलाई पत्रकारको जिम्मा लगाइदिएछन् । श्रीमान्ले आफ्नो सम्पत्ति प्रतिकार समितिलाई दिएर मलाई बचाउनुभएछ ।’

‘मलाई बला’त्कार गर्ने मान्छेविरुद्ध मैले माओवादी पार्टी र शान्ति समितिमा पनि किटानी जाहेरी दिएँ’ उनले भनिन्, ‘उनीहरूलाई दण्ड होइन, उल्टो पार्टी प्रवेश गराइयो ।’ अब माओवादीले नै आफूलाई न्याय दिनुपर्ने बताउँदै उनले भनिन्, ‘न्याय दिएनन् भने प्रचण्डको ढोका अगाडि गएर आत्म’दाह गर्छु ।’

युद्धले उजाडिएको परिवार: देशमा युद्ध थियो । युद्धको हावाले ए–१ लाई पनि छोयो । उनलाई माओवादीले किसान संगठनको स्थानीय नेतृत्वको जिम्मेवारी दिए । देशमा युद्धविराम चलिरहेको थियो । माओवादी घरमा आउँथे । माओवादी किन राखेको भन्दै सेना, प्रहरीमा जागिर खाने घरका मानिस र राजनीतिक दलका स्थानीय नेताहरूले दबाव दिने गर्थे ।

ए–१ को बस्ती पहाडबाट झरेकाहरूको नयाँबस्ती थियो । उनीहरूको रुझान माओवादीतिर बढी थियो । पुरानो बस्तीमा रहेकाहरू अधिकांशतः नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीमा संगठित थिए । माओवादीले गतिविधि बढाउँदै जाँदा प्रतिक्रियास्वरूप गाउँमा एमाले–कांग्रेस नेतृत्वले प्रतिकार समिति गठन गरेका थिए ।

माओवादी नेताहरूले गाउँ नजिकै सभा गर्ने जिम्मेवारी ए–१ लाई दिए । उनी त्यो जिम्मेवारी पूरा गर्न गाउँमा सक्रिय भइन् । घटना घटेको दिन ए–१ का पति र ठूली छोरी बारीमा खनजोत गर्दै थिए । छोरो र छोरी पढ्न हिंडिसकेका थिए । अचानक प्रतिकार समितिका मानिस उनीहरू भएतिर आए ।

भागाभागको अवस्था आयो । तर तीन जना महिला भने प्रतिकार समितिको नियन्त्रणमा परे । ए–१ को भनाइमा, सुरुमा उनीहरूलाई खोलामा लगेर सामूहिक बलात्कार गरियो । उनीहरू बेहोश भएपछि गाविस भवनमा लगेर थुनियो ।

पत्रकार र मानवअधिकारकर्मीको टोलीलाई गाउँ पस्न दिइएन । पर्साबाट प्रकाशित हुने प्रतीक दैनिकका बारा विशेष प्रतिनिधि गम्भीरा सहनी स्थानीय चौधरीहरूसँग सम्बन्ध बनाएर गाउँ पसेका थिए ।

उनी भन्छन्, ‘सुरुमा हामीलाई गाउँ पस्न दिइएन, विस्तारै स्थानीय चौधरीहरूसँग सम्बन्ध बनाएर गाउँ पस्यौं र रिपोर्टिङ गर्‍यौं’ सहनी भन्छन् । अन्ततः पत्रकार र मानवअधिकारकर्मीहरूको टोलीले ए–१ र बी–१ को जिम्मा लियो र प्रतिकार समितिको कब्जाबाट उनीहरू मुक्त भए ।

‘पत्रकारहरू हाम्रा लागि भगवान सावित भए, हामी मृत्युबाट बच्यौं’ उनी भन्छिन्, ‘हामीलाई छाड्न मेरो श्रीमान्ले १० कट्ठा जमिन प्रतिकार समितिलाई दिनुपर्‍ यो । मेरो श्रीमान्ले जग्गा दिएको तमसुकमा दायाँ–बायाँ ल्याप्चे लगाएपछि मात्रै मलाई छाडेका रहेछन् ।’

यसरी उनीहरू छुटे तर, ए–१ को १२ वर्षीय छोरालाई पनि प्रतिकार समितिले बेपत्ता बनाएको थियो । उनको अहिलेसम्म अत्तोपत्तो छैन । ‘घर जलाएपछि हामी विस्थापित भयौं । मेरा सन्तानहरूले पढ्न पाएनन् । एकजना नाबालक छोरो बेपत्ता नै बनाए’ उनी भन्छिन्, ‘बाँकी रहेका पनि सबै घर न घाटका भएका छौं ।’

शरीरका विभिन्न भागमा भएका चोट देखाउँदै उनी भन्छिन्, ‘समयले कति प्रमाण मेटिसक्यो, तर मैले बेलैमा किटानी जाहेरी दिएकी थिएँ । पाठेघर र मिर्गौलाको समस्या छ । हात र खुट्टा भाँचिएका छन् । अहिले पनि महिनाको १३०० रुपैयाँको औषधि खानुपर्छ ।’

न्यायको लागि संघर्ष: ‘न्याय र समानतामा आधारित देश बनाउने’ सपनामा माओवादी आन्दोलनमा लागेकी ए–१ का लागि न्याय एउटा मृगतृष्णा बनेको छ । दुई दशक लामो संघर्षका बावजुद उनले न्याय पाउन सकेकी छैनन् । बरु उनकै अगाडि पीडकहरू पार्टीबाटै पुरस्कृत भइरहेका छन् ।

शान्ति प्रक्रिया सुरु भएपछि उनले स्थानीय शान्ति समितिमा उजुरी दिइन् । शान्ति समितिले सर्जमिन गर्‍यो । घटनाको विस्तृत अध्ययन पनि गर्‍यो । घटना भएको पुष्टि भएपछि ए–१ ले दिएको उजुरी औपचारिक रूपमा दर्ता पनि भयो ।

अहिले उनको छोराको नाम बेपत्ताको सूचीमा छ । जिल्ला शान्ति समिति हुँदै उनको मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पुगेको छ । यस बीचमा माओवादी पार्टी पटक–पटक सरकारमा पुग्यो । पार्टीका धेरै नेता सदावहार सत्तामा छन् । तर, उनले न्याय पाउन सकिनन् ।

दुईदेखि अढाइ दशकपछि द्वन्द्वमा बलात्कृत भएका महिलाहरू अहिले न्याय खोज्दै संगठित भएका छन् । ए–१ अहिले ‘द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठन’को केन्द्रीय सदस्य छिन् ।

यसबीचमा उनले व्यहोरेको पीडा र सास्तीको शृंखला अत्यासलाग्दो छ । ‘मेरो छोरो फिर्ता चाहियो । आज बाँचिरहेको भए ऊ पनि त मन्त्री हुन्थ्यो होला । नेताका छोरा जे पायो त्यही खाएर मर्दा शहीद प्रतिष्ठान बनाउनुपर्ने, हाम्रा सन्तान बेपत्ता हुँदा बेवास्ता गर्ने ?’

नेपाली समाजमा सार्वजनिक रूपमा सामूहिक बला’त्कारमा परेको महिलाको अवस्था कस्तो होला ? उनका पति १३ वर्षसम्म बोलेनन् । उनी भन्छिन्, ‘मेरो बा मेरो मुख नहेरी बितेर गए, म माइत नगएको २१ वर्ष भइसक्यो, मेरा माइती मसँग बोल्दैनन् र विवाह व्रतबन्धमा मलाई बोलाउँदैनन् ।’

‘के मेरा छोराछोरीलाई मावल जान मन लागेको छैन होला र ?’ उनी प्रश्न गर्छिन्, ‘सामूहिक बलात्कारमा परेको भन्दै यो समाजले मेरो हातको पानी पनि नखाने भन्न मिल्छ ? यस्तो कुरा मैले कति सुन्ने ?’

छोरो बेपत्ता छ, सम्पत्ति लुटिएको छ । यो घटनाबारे त्यतिबेला स्थानीय पत्रपत्रिकाले बकाइदा खबर लेखेका छन् । देख्ने मान्छे जिउँदै छन् । तर अझै पनि न्याय नपाउँदा ए–१ लाई खपिनसक्नुभएको छ ।