काठमाडौं – बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु भन्दै अभिनेता पल शाहले भर्खरै एक स्टाटस लेखेका छन् । उनले कसैलाई गाली गलौच र नराम्रो व्यवहार नगर्न पनि अनुरोध गरेका छन् । साथै, आज उनले यस बर्षको होलीमा रङ्ग लगाएर मनाएका छन् ।
उनले आफ्नो परिवारसँग होली मनाएका हुन् । होली मनाउदा उनी निकै खुशी देखिएका छन् । एक बर्ष जेल जिवन बिताएपछि अभिनेता शाह गएको फागुन १५ गते जेलबाट छुटेका थिए । छुटेपछि परिवारसँग रमाइरहेका उननले रंग लगाएर होली मनाएका हुन् । आज होलीकै दिनमा उनले भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार भन्दै यस्तो स्टाटस लेखेका छन् ।
नमस्कार सबैजनालाई, सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो। बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य।
साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ। र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु।
मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु। रङ्गिन र सुखमय होस जीवन! होलीको शुभकामना सम्पुर्णमा ।