मुक्तिको एमबीबीएस सपना: १७ वर्षसम्मको अथक प्रयासले मिल्यो सफलता

Spread the love

काठमाडौं- छात्रवृत्ति तर्फ एमबीबीएस अध्ययन गर्ने मुक्तिनाथ दाहालको सपना १७ वर्षपछि पूरा हुँदैछ। एमबीबीएस अध्ययनका लागि लगातार ४० पटकभन्दा बढी परीक्षा दिएका उनको हालै मात्र छात्रवृत्ति तर्फ नाम निस्किएको छ।

लगातार १७ वर्षको प्रयासपछि एमबीबीएसमा नाम निस्कनु उनको लागि सपनाभन्दा कम छैन। उनी भन्छन्, ‘सुरुको दिन त मलाई सपना देखेजस्तो नै भयो। एकदमै गुम्सिएको ठाउँबाट बाहिर निस्किएर सास फेरे जस्तो अनुभव भयो।’

उदयपुर घर भएका उनी काठमाडौंमै बस्दै आएका छन्। उनले काठमाडौंकै श्री नन्दी रात्रि माध्यमिक विद्यालयबाट २०६० सालमा एसएलसी दिएका हुन्। अमृत साइन्स क्याम्पसमा उनले आइएससी अध्ययन गरे।

विद्यालयस्तरमा एउटा मात्र अंग्रेजी र सबै नेपाली पढ्नुपर्ने। तर साइन्स विषयको अध्ययन गर्दा सबै अंग्रेजी पढ्नुपर्ने भएकाले समस्या हुने गरेको उनी बताउँछन्। भाषामा समस्या भएपनि साइन्स पढ्न धेरै मिहेनत गर्नु परेको उनले बताए।

चिकित्सक बन्ने उनको सानैदेखिको सपना भने होइन। न उनको परिवारबाट नै कुनै दबाब थियो। आर्थिक अभावमा हुर्केका उनले चिकित्सक बन्ने निधो आइएससी अध्ययनकै क्रममा गरेका हुन्।

‘गरिबीमा हुर्केको मेरो बाल्यकाल। सरकारी स्कुलमा पढे। आइएससी पढ्दै गर्दा मैले एमबीबीएस पढ्ने देखेको सपना हो’ उनले भने।

एमबीबीएस अध्ययन गर्ने निधो गरेका उनले तयारी गर्न थाले। एक/दुई वर्ष उनको तयारीमै बित्यो। त्यसपछि पहिलो पटक एमबीबीएस अध्ययनका लागि परीक्षा दिए। नाम निस्कने। दोस्रो पटक दिए। दोस्रा पटक पनि नाम निस्केन। तेस्रो पटकको परीक्षामा पनि उनले नाम निकाल्न सकेनन्।

पटक पटकको प्रयासमा पनि नाम ननिस्कदा उनको आत्मविश्वास पक्कै पनि कम भयो। तर निराशा भने उनी कहिल्यै भएनन्। धेरै पटकको प्रयासमा नाम ननिस्कँदा उनलाई मानसिक रुपमा तनाव पनि नभएको होइन। प्रयासको गिन्तीसँगै उनको उमेर पनि बढ्दै थियो।

NIMB
उनीसँगका साथीहरु अध्ययनमा अघि बढिसकेका थिए। उनी एमबीबीएसकै लागि जुटिरहे। असफलताको गिन्ती जति बढे पनि एमबीबीएसमा नाम जसरी पनि निकाल्ने आफूले कसम नै खाएको उनी सुनाउँछन्।

असफलताको सुरुवाती दिनलाई उनी यसरी सम्झिन्छन्, ‘एक/दुई वर्ष तयारी गर्नै लाग्यो। त्यसपछि एक पटक दुई पटक हुन थाल्यो। तर नामै निस्किँदैन। उमेर बढ्दै गइसकेपछि मान्छेको मन हो, फ्रस्टेसन पनि भयो मलाई। समय गएको पनि पत्तो भएन। तर नाम ननिकाली मर्दिनँ भनेर कसमै खाएको थिएँ।’

उमेरसँगै पाठ्यक्रम, समय र प्रतिस्पर्धा झनै गाह्रो हुँदै गएको उनी बताउँछन्। जीवनको १०/१५ वर्ष एमबीबीएसको तयारीमा खर्चिएका उनको लागि यो झनै चुनौतीपूर्ण बन्यो। यो अवस्थामा अन्य विषय रोजेर पढ्न पनि आफ्नो लागि विकल्प नभएको उनी बताउँछन्।

सँगैका साथीभाईले पनि ‘अब सक्दैनौ छोड’ भन्थे भने कतिले जिस्काउँथे पनि। एउटै विषयका लागि वर्षौदेखि लागिरहँदा मानसिक र व्यावहारिक रुपमा समस्या आउने गरेको उनको अनुभव छ।

असफलताले चोट पुगेको उनलाई आफ्नो नजरमा पनि उठ्नुपर्ने थियो। एमबीबीएसमा नाम निकालेपछि आफ्नो नजरबाट पनि उठ्न सकेको उनी बताउँछन्।

‘यो वर्ष टेक्निकली क्याक गर्ने कोशिस गरे मैले। जे होस् यसपाली नाम निस्कयो। सफल भएँ। आफ्नो नजरबाट आफु उठेँ’ उनले भने।

कुन रोगमा विशेषज्ञता हासिल गर्ने भन्ने विषयमा उनले अहिले निधो गरिसकेका छैनन्। एमबीबीएस अध्ययन गर्दै जाँदा कुन विषयमा बढी दख्खल गर्न सकिन्छ त्यही विषयमा एमडी गर्ने उनको योजना छ।