शोधकर्ताहरुले कुखुराको भ्रूणमा प्लास्टिक फेला पारेसँगै स्वास्थ्यका लागि तुलनात्मक रुपमा सुरक्षित मानिएको कुखुराको मासुप्रति पनि आशंका बढेको छ ।
भ्रूणमा प्लास्टिक भएका कारणले कुखुराको विकास सही तरिकाले हुन छाडेको शोधकर्ताहरुको निष्कर्ष छ । साथै त्यस्तो कुखुराको मासु खाएमा स्वास्थ्यमा गम्भीर असर पर्ने बताइएको छ ।
शोधकर्ताहरुले कुखुराको भ्रूणमा निकै सूक्ष्म प्लास्टिक अर्थात् नानोप्लास्टिक फेला पारेका हुन्, त्यो पनि निकै अधिक मात्रामा । उक्त नानो प्लास्टिकका कारण कुखुराको शरीरका तन्तुमा क्षति पुग्दछ जुन वास्तवमा निकै हानिकारक हुन्छ ।
कुखुराको भ्रूणमा पाइने नानोप्लास्टिकले केवल उक्त कुखुरालाई असर पार्ने मात्र होइन त्यसको मासु खाने मानिसमा मुटुसम्बन्धी गम्भीर रोग पैदा गर्नसक्ने चेतावनी विज्ञहरुको छ । किनकि माइक्रोप्लास्टिक वा नानो प्लास्टिकका कारण शरीरमा विभिन्न प्रकारका दुष्प्रभाव पर्दछन् ।
नेदरल्याण्ड्सको लिडेन विश्वविद्यालयका जीव वैज्ञानिक मीरु वांगले उक्त शोध गरेका हुन् । उनले फ्लोरेसेन्ट माइक्रोस्कोपमा कुखुराको भ्रूणको जाँच गरेका थिए । त्यसक्रममा सो भ्रूणमा निकै सूक्ष्म अर्थात् नानोमिटर स्केलको चम्किलो प्लास्टिकको कण भेटियो । उक्त प्लास्टिक एम्ब्रेयोनिक गट वालभित्र सबैभन्दा धेरै भेटिएको हो । यसका अलावा शरीरका अन्य विभिन्न भागमा पनि नानो प्लास्टिक फेला परेको थियो ।
वांगका अनुसार कुखुराको भ्रूणमा सबैभन्दा धेरै पोलिस्टिरिन कण पाइएका छन् । यो कण आम रुपमा कुनै पनि जीवको शरीरमा पाइँदैन । तर कुखुराको भ्रूणको सुरुआती अवस्थामै प्लास्टिक पाउन थालेको छ । नानो प्लास्टिक आम रुपमा माइक्रो प्लास्टिकभन्दा पनि सानो हुन्छ । यो आमरुपमा सिन्थेटिक कपडा तथा प्लास्टिक माइक्रो फाइबरमा पाइन्छ । प्लास्टिकका ठूला ठूला टुक्रा टुक्रिएर पनि यो शरीरभित्र पुग्दछ ।
पोलिस्टिरिन माइक्रोप्लास्टिक शरीरको कलेजो, मिर्गौला तथा आन्द्रालगायतमा पाइएको छ । यसअघि मुसाको शरीरमा पनि माइक्रोप्लास्टिक पाइएको थियो ।
मानिसको फोक्सो, रगत तथा प्लासेन्टामा समेत शोधकर्ताहरुले प्लास्टिक फेला पारिसकेका छन् । प्लासेन्टामा पाइने प्लास्टिकले जन्मिने बच्चामा असर पर्दछ र त्यसले जिनमै प्रभाव पार्दछ ।
इन्भारोमेन्ट इन्टरनेसनलमा प्रकाशित शोध अनुसार प्लास्टिकले जीव तथा पर्याव्रणमा गम्भीर असर पारिरहेको छ ।
जीवको स्वास्थ्यका लागि प्लास्टिकको धूलोका कणहरु सबैभन्दा ठूलो खतरा बनेका छन् ।
यी हवाको माध्यमबाट शरीरभित्र प्रवेश गर्दछन् । सन् २०१८ मा विश्वमा ३८ करोड मेट्रिक टन प्लास्टिक उत्पादन भएको थियो । सन् २०२५ मा त्यो दोब्बर हुने अनुमान गरिएको छ ।