२०७४ मा प्रधानमन्त्री भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय याेजना आयोगको उपाध्यक्ष बनाएपछि डा. स्वर्णिम वाग्ले चर्चामा मात्र आएनन्, संभावना बाेकेका अर्थविद्का रूपमा चिनिए । पाँच वर्षपछि उनै देउवालाई नै दोषकाे भारी बाेकाएर वाग्लेले बिहीबार कांग्रेस परित्यागकाे घोषणा गरेका छन् ।
देउवाबाटै अवसर पाएर राजनीतिक रूपमा स्थापित हुने मौका पाएका वाग्ले उनैसँग किन बिच्किए ? धेरैका लागि चासोकाे विषय बनेको छ । बालुवाटारमा मन्त्रिपरिषद् विस्तारकाे हाेमवर्क नटुंगिएका बेला वाग्लेकाे कांग्रेस बहिर्गमन बिहीबार दिनभर राजनीतिक टिकाटिप्पणीकाे विषय बनेकाे छ । उनले राष्ट्रपति रामचन्द्र पाैडेलकाे आर्थिक सल्लाहाकारका लागि तीव्र पहल गरेकाे तर सफल हुन नसकेपछि कांग्रेस त्यागेकाे चर्चा पनि चलेकाे छ । शीतल निवास स्राेतहरूकाे दाबीअनुसार उनले विगत १५ दिनदेखि त्यसकाे पहल गरेका थिए । तर, डा चिरञ्जीवी नेपाल राष्ट्रपतिकाे आर्थिक सल्लाहकारमा बुधबार मात्र नियुक्त भएका छन् । नेपाल नियुक्त भएकाे भाेलिपल्टै वाग्लेले पार्टी छाेडेपछि त्यसैकाे इगाेमा पार्टी छाेडेकाे हाे भन्नेहरूकाे तर्कमा बल पुगेकाे छ ।
गोरखामा जन्मिएर चितवन स्थायी ठेगाना भएका वाग्ले संसदीय चुनाव लडेर संसद छिर्न चाहन्छन् भन्ने ४ मंसिरको चुनावअगाडि नै देखिएको हो । त्यतिबेला कांग्रेस महामन्त्री गगन थापाले आफू चुनाव लड्दै आएको काठमाडौं ४ उनलाई छोडेर आफू सर्लाही जान तयार रहेकोसमेत सभापति देउवालाई बताएका थिए । तर, देउवाले वाग्लेलाई टिकट नदिने बताएपछि गगनले अन्तिममा काठमाडौं ४ बाटै चुनाव लड्ने निर्णय लिएका थिए । त्यसो त, डा. वाग्लेले सुरुमा चितवन १ बाट चुनाव लड्ने लविइङ गरेका थिए । तर, त्यहाँ देउवा शिविरबाट विश्व पौडेललाई टिकट दिइने भएपछि गगनले काठमाडौं ४ को विकल्प दिएका थिए । जुन सफल हुन सकेन ।
लामो समय अमेरिका बसेर विश्व बैंकलगायतका संस्थामा काम गरेर अनुभव हासिल गरेर नेपाल फर्किएका वाग्ले २०७० सालमा कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा पहिलाेपल्ट राष्ट्रिय योजना आयोगमा इन्ट्री गरेका थिए । २०७३ मा उनी पुनः योजना आयोगको सदस्यमा दाेहाेरिएका थिए ।
२०७४ मा देउवा प्रधानमन्त्री बनपछि उनी योजना आयोगको उपाध्यक्ष बने । राष्ट्रिय राजनीतिमा त्यसपछि उनी खास चर्चामा आएका हुन् । त्याे चर्चाकै कारण उनी प्रत्यक्ष राजनीतिमै भूमिका खोज्न थाले । त्यसपछि सभापति देउवाले उनलाई कांग्रेस महासमिति बैठक ताका २०७५ मंसिरमा महाधिवेशन तथा महासमिति सदस्य मनोनीत गरेर कांग्रेसको राजनीतिमा ल्याए । यसपछि उनी लगातार कांग्रेसमा सक्रिय भए । यहीबीच सन् २०१९ मा डा. वाग्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को दक्षिण एसिया सल्लाहकार नियुक्त भएर अमेरिका गए ।
२०७८ मा नेपालमा राजनीतिक उथलपुथल भई देउवा फेरि प्रधानमन्त्री बनेपछि डा. वाग्ले १८ महिना जागिर खाएर फेरि स्वदेश फर्किए । र, राष्ट्रिय योजना आयोगको उपाध्यक्षका लागि पहल गर्न थाले । तर, यतिबेलासम्म डा. वाग्लेका कुनै बेलाका सबैभन्दा मिल्ने मित्र डा. विश्व पौडेलले देउवा क्याम्पमा ठाउँ ओगटिसकेका थिए । पौडेल देउवापत्नी डा. आरजु राणाको निकट भइसकेका थिए । जसले गर्दा डा. वाग्ले उपाध्यक्ष बन्न सकेनन् । उनकाे सट्टा पौडेल उपाध्यक्ष नियुक्त भए । यतिबेलादेखि नै डा. वाग्लेलाई बूढानीलकण्ठले रुचाउन छोडेको चर्चा हुन थालेकाे थियाे । त्यति मात्र होइन, देउवानिकट नेता-कार्यकर्ता वाग्लेको कुरा काट्न थालिसकेका थिए ।
देउवा वाग्लेसँग कति असन्तुष्ट थिए भन्ने ४ मंसिरको चुनावले देखाउँछ । चितवन, गोरखा, काठमाडौं तीन ठाउँमध्ये एक ठाउँबाट चुनाव लड्न खोजेका डा. वाग्लेले कतैबाट टिकट पाएनन् । याेजना आयाेगमा उपाध्यक्ष नियुक्त डा पाैडेललाई राजीनामा गर्न लगाएर चितवन १ मा उम्मेदवार बनाइयाे तर वाग्लेलाइ बाइपास गरियाे । कांग्रेसभित्रकाे बाैद्धिक नेता मानिने डा गाेविन्द पाेखरेललाइ उसैगरी टिकटबाट वञ्चित गरियाे । त्याे बुझेरै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरू उनलाई चुनाव लड्न अफर गरेकाे उनी आफैँले स्वीकारेका छन् । ओलीको त्यो अफर अस्वीकार गर्दै डा. वाग्लेले ४ मंसिरको चुनावमा कांग्रेसको घोषणापत्र लेखेर बसे ।
अहिले तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त स्थानमा उपचुनाव हुँदैछ । ४ मंसिरमा टिकट नपाएका डा. वाग्लेले उपचुनावमा कांग्रेसबाट लड्ने आशा देखेर पहल थालेका थिए । तर, पौडेल राष्ट्रपति उम्मेदवार भएकै दिन देउवाले कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज भट्टराईलाई चुनावका लागि तयार रहन भनिसकेका थिए । बिहीबार उनै भट्टराईलाई चुनाव लडाउने कांग्रेसले निर्णय गरेको छ ।