केपी शर्मा ओली उपस्थितिमा जनसांस्कृतिक महासंघले चैत्र ३० सांस्कृतिक साँझ गर्दै

Spread the love

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालले शुभकामना सांस्कृतिक साँझ २०८० को आयोजना गर्न भएको छ । सांस्कृतिक कार्यक्रम मार्फत नेपाली मौलिक संस्कृतिको प्रवर्द्धन गर्न सांस्कृतिक साँझ आयोजना गर्न लागिएको कार्यक्रम संयोजक राम प्रसाद अवस्थीले जानकारी दिएका छन् ।

आगामी ३० गते काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक साँझको आयोजना गर्न लागिएको र त्यसको तयारी तीव्र भइरहेको उनले बताएका छन् । ‘दार्चुलाको कालापानीदेखि ताप्लेजुङको ओलाङ्चुङ गोलासम्मको मौलिक नाच हामीले सांस्कृतिक साँझमा देखाउने छौँ’, उनले भने, ‘आजसम्मकै सबैभन्दा फरक र मौलिक कार्यक्रम हुने छ हाम्रो ।’

नेपालको मौलिकता नेपालीको शान, कला र संस्कृति हाम्रो पहिचान भन्ने नाराका साथ आयोजना गर्न लागिएको सांस्कृतिक साँझमा पूर्णकला बिसी, वैकुण्ठ महत, ठानेश्वर गौतम, अमृत खाती, साजन राई, लगायतका कलाकारहरूको प्रस्तुत रहने जनाइएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहित पदाधिकारीहरू पनि कार्यक्रममा सहभागी हुने छन् । पार्टी अध्यक्ष ओलीले राष्ट्रिय जन सांस्कृतिक महासंघका पूर्व तीन अध्यक्षहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको जन सांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले जानकारी दिएका छन् ।