दोहोरी गायिका कमला घिमिरे करिश्मा र प्रियंकासँग फिल्म खेल्दै

Spread the love

गायन कलाले बाल्यकालमै कमला घिमिरेलाई ठूलो ख्याती दिलायो । पछि अध्ययनले गर्दा केही वर्ष गायनबाट टाढा देखिएकी उनी अहिले हर्लक्क बढेकी छन् । र, फेरि गायनमा सक्रिय देखिएकी छन् । यतिबेला लाइभ दोहोरीका कारण चर्चामा रहेकी उनी अब फिल्ममा पनि देखिने भएकी छन् । उनले फिल्म ‘माइली’बाट डेब्यु गर्न लागेकी हुन् । यसै साताले उनले फिल्म साइन गरेकी हुन् ।

संगीतमा जस्तै फिल्ममा पनि आफूले दर्शकबाट माया पाउने कमलाको विश्वास छ । राजु परियार, कृष्ण कँडेल, मिलन लामा जस्ता चर्चित गायकहरुसँग उनले लाइभ दोहोरी गाइसकेकी छन् । र, उनका प्रायः दोहोरी युट्युबमा लाखौं हेरिएका छन् । उनले गाएका ‘चिया छानेको’, ‘म्याउँ विरालो’, ‘रुन्छु बरिलै’, ‘धनगडीको बसमा’, ‘हान्छु तिमीलाई लौरीले’ जस्ता गीतहरु पनि अत्यन्त चर्चित छन् ।

बाबुसाहेब बलामीको निर्देशन रहने ‘माइली’मा अभिनेत्रीद्वय करिश्मा मानन्धर र प्रियंका कार्कीको पनि मुख्य भूमिका रहनेछ । यही असार अन्तिमबाट छायांकन सुरु गर्न लागिएको फिल्मलाई मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौंसहित दुबईमा पनि खिच्ने तयारी गरिएको छ । फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत, पटकथा तथा संवाद लेखन र राजेन्द्र बजगाईंको संगीत रहेको छ ।

निर्देशक बलामीले सत्य घटनामा आधारित भएर फिल्म बन्न लागेको बताए । फिल्ममा महिलाको पीडा र संघर्षलाई देखाइने उनको भनाई छ । ‘दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसलाई स-साना छोरीहरु हुर्काउन कति कठिन हुन्छ ? नेपाली समाजले जातीयताको आडमा कसरी प्रताडित गरिरहेको छ भन्ने विषयवस्तुमा फिल्म बन्नेछ’, बलामीले भने ।