लण्डनमा पहिलो एनआरएनए कप तथा नेपाली महोत्सवको तयारी व्यापक

Spread the love

लण्डन- एनआरएनए यूकेले आउंदो अगष्ट ३ तारिख लन्डन फेल्थाममा पहिलोपटक गर्न लागेको एनआरएनए महोत्सव र एनआरएनए कप फुटबल प्रतियोगिताको तयारी व्यापक भएको छ ।

बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यसहित ९ ए साइड एनआरएनए कप प्रतियोगिता र सोही दिन नेपाली कला, संस्कृति, परम्परा, भेषभूषा र खानाको प्रचार प्रसार एवं संवर्धनका लागि एनआरएनए नेपाल महोत्सव गर्ने तयारी भइरहेको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जनाए ।

‘बेलायतको नेपाली डायष्पोरामा पहिलो र दोश्रो पुस्ताबीचको दुरी बढिरहंदा हामीले दुवै पुस्तालाई एकै थलोमा उतार्ने प्रयत्न गरेका छौं’, गाहामगरले भने- ‘हाम्रो कला, संस्कृति, भाषा, भेषभूषा, रहनसहन दोश्रो पुस्तामा हस्तान्तरण नगर्ने हो भने उनीहरुको मातृभूमिसंगको नाता तोडिने चिन्ता भएकाले तपाईं हामी सबै मिलेर यस्ता इभेन्टस गर्नुपर्ने दायित्व आएको छ ।‘

अध्यक्ष गाहामगरले यो कार्यक्रम कसैसँग प्रतिस्पर्धा गर्न नगरिएको जनाउंदै सबैलाई आफ्नो सम्झेर सहभागी हुन अपिल पनि गरे ।

एनआरएनए यूकेले कार्यक्रममा सहभागी हुने विशेष अतिथीहरुलाई नौमति पञ्चे बाजा तथा ब्याक पाइपर धुनले स्वागत गर्दै खादा, ब्याच एवं मायाको चिनो प्रदान गरिने जनाएको छ ।

संघले यसबारे औपचारिक जानकारी दिन २८ जुलाई दिउसो ठमेल दोहोरी रेस्टुरेन्ट, अल्डरसटमा पत्रकार सम्मेलन पनि गर्दैछ । सोही दिन सञ्चारकर्मी र टिम क्याप्टेन/म्यानेजरमाझ टिम ड्र गर्ने स्लट राखिएको छ।