विद्यालयलाई धर्म संकटबाट जोगाउनेबाट नै शिक्षक सम्मानित

Spread the love

२६ माघ,काठमान्डौं: २००९ सालमा स्थापित गोरखा जिल्लाका पुराना विद्यालयमध्येको एक गोरखा सदरमुकाममा अबस्थित शक्ति माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समूहले शनिबार राजधानीमा आयोजना गरेको भब्य समारोहमा विद्यालयका पुराना प्रधानाध्यापकत्रय बाबुराम श्रेष्ठ (८२ बर्ष), रामचन्द्र आचार्य (८३ बर्ष) र गोबर्धन आचार्य (८४ बर्ष) लाई ताम्रपत्रसहित सम्मान गरेको छ ।

ऐतिहासिक दरबार हाइस्कूलबाट गोरखाली चेलीहरुले पञ्चेबाजा बजाउँदै साजसज्जासहितको विशेष मोटरमा राखेर तीन प्रधानाध्यपकलाई नगरपरिक्रमा गराउँदै प्रज्ञा भवनको सिद्धिचरण सभाकक्षमा अभिनन्दन गरिएको थियो ।

८२ बर्षिय पूर्व प्रधानाध्यापक रामचन्द्रले २०१६ सालदेखि २०५७, ८४ बर्षिय गोबर्धनले २०१९ सालदेखि २०५५, ८३ बर्षिय श्रेष्ठले २०१५ देखि २०२५ सालसम्म उक्त विद्यालयमा सेवा प्रदान गरेका थिए ।

सम्मान पत्रमा लेखिएको छ, “हजुरजस्ता गुरुलाई कृष्ण, अर्जुन र एकलव्यले जस्तो गुरुदक्षिणा अर्पण गर्ने क्षमता नभए पनि श्रद्धाका अभिनन्दन गर्दछौँ ।”

विसं २०१८ को प्रवेशिका (एसएलसी) परीक्षामा कुनै पनि विद्यार्थी उत्तीर्ण नभए मावि तहको अनुमति नै खारेज हुन सक्ने र विद्यालय घटुवामा पर्ने निश्चितप्राय: भएकोले गोरखा जिल्लाका पुराना विद्यालयमध्ये एक सदरमुकाममा अबस्थित शक्ति माध्यमिक विद्यालयले सामना गर्नुपर्ने त्यो समस्याबाट जोगाउन सदरमुकामको शैक्षिक मात्र होइन प्रशासनिक क्षेत्रमासमेत छटपटी चलिराखेको बेलामा हाल ८२ वर्ष पुग्नुभएकी त्यस स्कूलकी तात्कालिन छात्रा कल्पना पाण्डेले २०१८ सालको एसएलसी उत्तीर्ण गरेर विद्यालयले सामना गर्न लागेको उक्त समस्याबाट जोगाएर विद्यालयको छवि उजिल्याउने काम गर्नुभयो । तिनै पूर्व विद्यार्थी पाण्डे गर्न उक्त सम्मान कार्यक्रममा श्रद्धेय गुरुजनत्रयलाई सम्मान गर्न प्रज्ञा प्रतिष्ठान पुग्नुभयो ।

पाण्डेद्धारा विद्यालयलाई प्राण दिने पहिलो इतिहास कायम गरेपस्चात शक्ति माविले सयौं डाक्टर, इन्जिनियर, बैज्ञानिक र राष्ट्रिय अन्तराष्ट्रिय छबी बनाएका ब्यक्तित्वहरु जन्माइसकेको छ ।

सोही विद्यालयमा अध्ययन गरेका भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले लिखित शुभकामना सन्देशमा गुरुहरुले देखाएको गोरेटो मार्फत आफूहरुको गन्तव्य तय भएको उल्लेख गरेका छन ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य तथा सोही विद्यालयका विद्यार्थी किरणबाबु श्रेष्ठ र नेपाली कांग्रेस नेतृ सृजना सिंहले आज पनि आफूहरु विद्यार्थी नै रहेको अनुभूति सुनाए ।

सोही विद्यालयका पूर्व विद्यार्थीहरु हाल नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्मा, शैक्षिक अगुवा प्रेमबहादुर थापा, मीनप्रसाद भट्टराईले समाजका लागि नैतिकवान, चरित्रवान, कर्मठ,र सुयोग्य नागरिक बनाउन गुरुहरुको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

कार्यक्रम संयोजक तथा श्री शक्ति एलुम्नाई एशोसिएसनका निवर्तमान संयोजक मेघबहादुर मास्केले गौरवपूर्ण इतिहास बोकेको विद्यालय र गुरुहरुको योगदानको उच्च कदर गर्दै नयाँ संस्कारको शुरुवात भएको बताए भने डा वसन्तचन्द्र मरहठ्ठाले चेलाहरुसँग गुरुहरु डराउनुपर्ने समयमा ज्येष्ठ नागरिक भएका विद्यार्थीबाट अग्रज गुरुहरुको सम्मान हुनु आफैँमा पवित्र कार्य भएको बताए ।

कार्यक्रममा सम्मानित व्यक्तित्वले यो उमेरमा पूर्व विद्यार्थीहरुले सम्मान गरेकामा आफूहरुले सही संस्कार दिएको अनुभूति भएको बताउँदै भन्नुभयो, “जीवन एउटा सिकाइ हो, निरन्तर चलिरहन्छ, जो जहाँ जुन हैसियतमा पुगे पनि धरातल भने बिर्सनु हुँदैन ।”

मानिस भएर जन्मिसकेपछि जीवन सफल बनाउन देव ॠण, पितृ ॠण, माटोको ॠण र गुरु ॠण चुक्ता गरिनुपर्छ र यस्तो कार्यक्रम गुरु ॠण चुक्ता गर्ने र संस्कार गुम्दै गएको बर्तमान अवस्थामा अहिलेको पुस्तालाई संस्कार सिकाउने एउटा महत्वपूर्ण माध्यम हुन सक्ने बताउँछन कार्यक्रमको सम्बन्धमा बताउने क्रममा वुद्ध जन्मस्थल बिषयमा सिर्जित विस्वब्यापी दिग्भ्रम निस्तेज गर्न जनस्तरबाट स्थापित गरिएर थुप्रै राष्ट्रिय अन्तरास्ट्रिय महत्वका उपलब्धी हासिल गर्न सफल विस्वब्यापी अभियान लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार एबं सोही विद्यालयकै पूर्व विद्यार्थी अस्ट्रेलिया निवासी इन्जिनियर रामकुमार श्रेष्ठ ।