काठमाडौं । गायिकाको पहिचान बनाएकी बविता बानियाँ (जेरी) ले मधेसी भूमि सर्लाहीमा पनि कथा वाचन गर्ने भएकी छन् । भर्खरै काठमाडौंमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा कथा वाचन गरेकी बानीयाले लगत्तै सर्लाहीमा पनि यही कर्मलाई निरन्तरता दिएकी हुन् ।
उनले (भोलि) मंगलबारदेखि सर्लाहीको हरिवन नगरपालिका– ४ पटौनामा आयोजना हुने गणेश भगवानको परम अनुकम्पाले वैदिक सनातन धर्मको सम्वर्द्धन तथा श्री गणेश मन्दिर परिसरमा कथा वाचन गर्ने उनका सहयोगी कविराज ढकालले जानकारी दिए ।
गणेश मन्दिर संरक्षण समिति हरिवन नगरपालिका– ४ ले यस कार्यक्रमको आयोजना गरेको जेरीका सहयोगी ढकालले बताए ।
यही फागुन ७ गतेदेखि १५ गतेसम्म सुमधुर संगीतमय नवकथा वाचिका योगमाया सखी (जेरी) जी को मुखारविन्दबाट वाचन हुन गइरहेको अपुर्व रसमय श्री कृष्णलीलामृत श्रीमद्भागवत महापुराण सप्ताह सतसंग ज्ञान महायज्ञमा सहभागी हुन सम्पूर्ण भक्तजनहरुलाई निमन्त्रणा गरिएको जेरीले बताइन् । उनी गायिकाबाट कथा वाचन सुरु गरेपछि योगमाया सखीको नामबाट चिनिएकी छन् ।
‘मैले संगीत क्षेत्रमा संघर्ष गरेर पहिचान पनि पाएको हुनाले पनि अहिले गर्न लागेको नयाँ काममा धेरैले चासो र चिन्ता गर्नुभएको रुपमा बुझेको छु’, उनले भनिन्, ‘यो खास कर्कमाण्ड भन्दा पनि श्रीमतभागवको अध्ययन गरेर मैले एउटा वाचिकाका रुपमा संगीतसहितको प्रवचन गर्न लागेको हो ।’